0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका नौ तालमध्ये लेखनाथ नगरपालिकामा मात्र ७ ताल पर्दछन् । लेखनाथ र पोखरा उप–महानगरपालिका गाभिएर महानगरपालिका बन्ने तरखरमा रहेको बेला लेखनाथको मैदी तालको बीचमा तालकै जग्गामा खेत रोप्नाले तालको अस्तित्व संकटमा परेको छ । मैदी तालमा स्थानीयले धान लगाएको अहिलेको बर्षमा मात्र होईन बर्षौदेख लगाएका हुन् । एक स्थानीय हिरा त्रिपाठीका अनुसार पहिले तालको बीचमा नर्कट झाडी थियो । स्थानीयलाई आवत–जावत गर्न डरलाग्ने अवस्था थियो, पछि धेरै जसो स्थानीय मिलेर झाडी फालेर खेत बनाएका हुन् । त्रिपाठीले नै घान रोपेको दशर्कौ बर्ष भइसकेछ । उनले बर्षेनी तालको खेतबाट ५ मुरी धान भित्र्याउँछिन् । अरुको बारीलाई अधियाँ गरेर खानु भन्दा झाडीले कब्जा गरेको तालको जग्गामा खेत बनाएर खान ठीक लागेर खेत रोपेको उनको धारणा थियो । त्रिपाठी जस्तै अर्का किसान भीमप्रसाद लामिछानेको पनि ३ मुरी हुने जग्गा छ तालको बीचमा । उनले पहिले रोपेका थिएनन्, २ बर्ष यता हिउँद र बर्षातमा गरी २ पटक बाली लगाई सकेका छन् । तालको खेतमा धान कम फले पनि पराल सप्रने र परालको लागि खेती गरेको उनको भनाई थियो । उनी भन्छन्–‘सबैले गरे, कसैले पनि केही भन्न आएनन् अनि मैलै पनि रोपिदिएँ । अहिलेसम्म कोही पनि नरोप भन्न आएका छैनन् ।’ नगरपालिका आएर खेती नगर्न भन्यो भने खेत छोड्न तयार हुने तर खेत छोडेपछि पनि तालको संरक्षण हुन सकेन भने फेरी अतिक्रमण गर्ने उनको भनाई थियो । अतिक्रमण र भूक्षयीकरणले तालको पानी निकै घटेको छ । भएको पानीपनि जलकुम्भी र कमलले ढाकेको छ । तालको बीचमा खेतबारी छ, जहा घान रोपिएको छ । तालको बीचमा पर्ने कि.नं. १२६ को जग्गा सार्वजनिक जग्गा भएको स्थानीयले स्वीकारिसकेका छन् । तरपनि सार्वजनिक जग्गामा किन धान रोपियो ? भन्ने प्रश्न लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीलाई राख्दा तालको धानखेत भएको जग्गा व्यक्तिको नाममा भएको जानकारी दिए । भण्डारीले भने–‘म आएको धेरै भएको छैन, तालमा धान भएको जग्गा व्यक्तिको नाममा छ भन्ने सुनेको छु । त्यसलाई हटाउन सकिदैन ।’ नयाँ कार्यकारी आएको भएर कार्यकारीले तालको सन्दर्भमा अज्ञान्ता भएको मैदी ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष भरतराज न्यौपानेको भनाई थियो । तालको विकास हुन्छ भने यहाँका हरेक किसान बाधक नबन्ने तर नगरपालिकाले कानमा तेल हालेर बस्न नहुने न्यौपानेले बताए । तालको विकास हुन्छ, परियोजना बन्छ भनेर बि.स. २०६७ सालमा सबैले खेत छोडेको स्मरण गर्दै न्यौपाने भन्छन्–‘यो बर्षमात्रै तालको बारेमा आएको रकमको ७ लाख फ्रिज भयो, स्थानीय निकायले पहल कदमी नगर्दा तालको बिकास गर्न सकिएन, अब तालको विकास गर्ने हो भने संरक्षणको सम्पूर्ण जिम्मा स्थानीयलाई दिनपर्छ । जतिपनि तालको बारेमा चिन्ता प्रकट गर्दै हिंड्छन् उनीहरुलाई वास्तवमै तालको बारेमा केही थाहा नभएको न्यौपानेको जिकिर थियो ।








Post a Comment

 
Top