0
अनलाइन सञ्चार माध्यमलाई अङ्कुश लगाउन नमिल्ने सरोकारवालाले बताएका छन् । ‘लावण्य सन्देश’ साप्ताहिकको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले जनताको सूचना पाउने अधिकारबाट कसैले रोक्न नसक्ने बताए ।   उनले सरकारले अनलाइन सञ्चार माध्यमलाई अङ्कुश लगाउन लागेको भन्ने कुरालाई बचाउ गर्दै अनलाइन सञ्चार माध्यमलाई कानुनको दायरामा ल्याउनका लागि यस्तो गरिएको स्पष्ट पारे । उनले भने–“आफ्नो अधिकार स्थापित गर्न अर्काको अधिकार हनन् गर्न हुँदैन, अर्काको अधिकार हनन् गर्ने सञ्चारमाध्यम समाजप्रति विश्वासिलो बन्न सक्दैन ।” नेपाली काँग्रेसका काठमाडौँ क्षेत्र नं २ का सांसद दीपकप्रसाद कुँइकेलले जनताको सूचना पाउने अधिकारमाथि कसैले खेलबाड गर्न नहुने बताए । उनले भने–“सञ्चार क्षेत्र खुला भइसकेको छ, त्यसैले यसलाई अङ्कुश लगाउन खोज्नु अनुचित कार्य हो ।” उनँले ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने नारालाई सार्थक बनाउनका लागि साँखुक्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा विकास गर्नुपर्ने धारणा राखे ।नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले अनलाइनलाई अङ्कुश लगाउनु भनेको जनताको सूचना पाउने अधिकारमाथिको अङ्कुश हुने बताए । उनले साँखु क्षेत्र पौराणिक र धार्मिक महत्वको धनी क्षेत्र भएको भन्दै साँखु र शालीनदीको सभ्यतालाई जोगाउन लावण्य सन्देशले ठूलो भूमिका खेलेको विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सरकारले ल्याएको अनलाइन निर्देशिका संविधान विपरीत भएको बताए। उनले संविधानको धारा १९ (२) मा कुनै श्रव्य, श्रव्यदृश्य तथा समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न नपाइने व्यवस्था भए पनि सरकारले त्यसको विरुद्धमा काम गर्न खोजेको उल्लेख गरे । नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष एवम् ‘गोरखापत्र’ दैनिकका समाचार प्रमुख गोकर्ण अर्यालले अनलाइनलाई अंकुश लगाउने कार्य लोकतान्त्रिक मुलुकमा हुन नसक्ने बताए। सो साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ, नेपाली काँग्रेसका नेता उपेन्द्र कार्की, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता सकीमान वद, नेकपा (एमाले)का नेता एलपी श्रेष्ठलगायतले साँखु क्षेत्रमा लाग्ने स्वस्थानी मेलामा लाखौँ आन्तरिक पर्यटक जाने भएकाले यस ऐतिहासिक क्षेत्रको पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए । कार्यक्रममा साप्ताहिकलाई लेख, रचना र विज्ञापन सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । रासस

Post a Comment

 
Top