0
संसारमा सुख–दुःख दुबै हुँदैन, यो त एक भावमात्र हो ।” पोखरामा मंगलबारदेखि सुरु विलक्षण दार्शनिक प्रवचनमा मुख्यवाचक श्रीश्वरी देवीजीको यस्तै मननीय उद्गार सुन्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । श्यामा श्याम सत्संग, पोखराको आयोजनामा सिर्जनाचोकस्थित ह्वाइट हाउस पाटी प्यालेसमा दैनिक साढे ४ बजे सुरु हुने उक्त प्रवचनमा सर्वसाधारण श्रीश्वरीलाई सुन्न पहिल्यैदेखि आसन जमाइसकेका हुन्छन् । आगामी असार २१ गतेसम्म चल्ने प्रवचन दैनिक २ घण्टा लामो हुन्छ । आयोजक श्यामा सत्संगका पूर्वअध्यक्ष एवं सल्लाहकार दीवाकर बास्तोला भन्छन्, “पोखरामा पहिलो पटक हामीले उहाँलाई पाएका छौं, त्यसकारण पनि अनुयायीहरुको ठूलो भीड लागेको हो । तपाई यदि छुट्नु भएको छ भने आउनुहोला, प्रवेश निःशुल्क छ ।” जगत्गुरु कृपालुजी महाराजका कृपाप्राप्त प्रचारिका वृन्दावन निवासी श्रीश्वरी देवीजीको मानिसलाई सुख प्राप्तिको लागि अचुक अस्त्र सिकाउने र दुःखबाट कसरी छुट्कारा लिन सकिन्छ भन्नेबारे प्रवचन केन्द्रीत रहने गर्दछ । साथै गीता, भागवत, रामायण लगायतमा उल्लेखित प्रसंग जोड्दै उनले विलक्षण दार्शनिक प्रवचन दिने गरेको सहभागी सुनाउँछन् । आइतबार छैटौ दिनको प्रवचनमा उनले सुख र दुःख मानिसको भावमात्र हो, न त सुख हुन्छ न त दुःख नै । यसलाई ग्रहण गर्ने कुरामात्र हो, भनिन् । उनले मानिसमा आशक्तिको कारण कामना पैदा हुने हुँदा यसलाई छोड्नुपर्ने जोड दिइन् । उनले आत्मा ‘दीव्य’ हो भनिन् ।

Post a Comment

 
Top