0
गोल्डेन न्यूज संवाददाता
जिल्ला अदालतका न्यायाधीश अनन्तराज डुम्रेले बढ्दै गएको दण्डहीनतालाई न्यूनिकरणका लागि दलिय प्रतिवद्धता आवश्यक रहेको बताएका छन् । इन्सेक क्षेत्रीय कार्यालयद्वारा असार १५ गते पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार अवस्था सार्वजनिक कार्यक्रममा बोल्दै न्यायाधीश डुम्रेले पीडितलाई न्यायको प्रत्याभूतिका लागि हरेक तह र तप्काबाट निष्पक्ष अनुसन्धानमा जोड दिए । उनले मानवअधिकारको संरक्षणका लागि कानुनी शासनले मुर्त रुप लिनु पर्ने बताउँदै निष्पक्ष अनुसन्धानबाट नै न्यायिक निरुपणमा सहयोग पुग्ने धारण व्यक्त गरे । कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले सन् २०१६ को जनवरीदेखि जुनसम्म पश्चिमाञ्चल क्षेत्रमा २ सय २० जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीबाट पीडित भएको प्रतिवेदन प्रस्तुत गरे । उनले मानवअधिकार उल्लङ्घन र ज्यादतिबाट महिला र बालबालिका धेरै पीडित भएको र पछिल्लो छ महिनामा मात्रै १ सय १२ जना महिला र ७० जना बालबालिका हिंसामा परेको बताए । पश्चिमाञ्चलमा ७ जना महिला घरपरिवारबाट र १३ जना पुरुष अन्यबाट गरी २० जना नागरिकको हत्या भएको इन्सेक क्षेत्रीय कार्यालयले अभिलेख गरेको उल्लेख गर्दै संयोजक खकुरेलले ७ जना नागरिक जातीय भेदभावबाट पीडित भएको बताए । गैरराज्य पक्षबाट २ सय १४ जना र राज्यपक्षबाट ६ जना मानवअधिकार उल्लंघनबाट पीडित भएको उनले बताए ।  कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उप क्षेत्रीय प्रशासक कृष्णप्रसाद रेग्मी, राष्ट्रिय मानवअधिकार आयोगका खिमलाल सुवेदी, नेपाली काङ्गे्रसका जिल्ला सदस्य देवेन्द्र रानाभाट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामजी बराल, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, शान्तिका लागि नागरिक समाजको सञ्जालकी संयोजक सरला कुमारी पाण्डे, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, सशस्त्र प्रहरी बल  मुक्तिनाथ बाहिनीका गणपति कृष्णभक्त बम्हचार्य डीएसपी गजुसिद्दी बज्राचार्य, महिला तथा बालबालिका कार्यालयकी अधिकृत विन्दु भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदी, गैसस महासंघका अध्यक्ष गोपाल खड्का, पिपुल्स फोरम नेपालकी कार्यक्रम अधिकृत भुवन पराजुली, अपाङग महासंघका महासचिव हेम गुरुङ, पुनरावेदन बारका अध्यक्ष खगेन्द्रराज आचार्य, जिल्ला वारका अध्यक्ष सोम श्रेष्ठ, गोनेसाका रवीन्द्र खनाल लगायतले मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि सरोकारवाला निकाय समन्वय र सहकार्य गर्र्दै ऐक्यबद्ध भई अगाडि बढ्नु पर्ने बताए । कार्यक्रमका स्वागत मन्तव्य इन्सेक पोखराकी कार्यक्रम फोकल पर्सन सवनम शर्माले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले गरेका थिए । इन्सेकले विगतमा तीन तीन महिनामा मानव अधिकार अवस्था सार्वजनिक गर्दै आएकोमा योवर्ष अर्धवार्षिक रुपमा प्रतिवेदन सार्वजनिक गरेको हो ।





Post a Comment

 
Top