0
राकेशप्रसाद चौधरी
नेपालमा सुनिने शब्द प्रायः ‘दिल्ली दूर नही’ लाई एक भारतीय अधिकारीले ‘भारतमे लोग दिल्ली बहुत दूर हैं’ भन्ने गरेको सुनाएपछि नेपाल (काठमाडौ) र दिल्लीबीचको सम्बन्ध खोतल्ने प्रयास गरिरहेको छु । नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई लिएर अहिले ठिकठाक गर्ने र अझै बिगाड गर्ने समूह सक्रिय रहेको हेरिरहेको छु । यी सम्बन्ध सुमधुर हुनका लागि जनकपुर (मधेश) र काठमाण्डौलाई केन्द्रबिन्दुमा राख्नैपर्ने भएको छ । भारतीय प्रधानमन्त्रीलाई जनकपुर पुग्न नदिइनु र नेपालका राष्ट्रपतिको भारत भ्रमण रातारात रद्द गरिनु सम्बन्धमा खटास आउनुमध्येका धेरै मध्येको एक कारण हो । दिल्लीमा रहेका भारतीय अधिकारीहरूले यसलाई धेरै बिग्रिनसकेको सम्बन्ध भनेर नै विश्लेषण गरिरहेका छन् । मधेशमा चलिरहेको आन्दोलनले भारतलाई भविष्यमा सुरक्षा खतरा उत्पन्न गराउन सक्ने धारणा वा भनौं आशंकाकै आधारमा नेपाललाई वर्तमान राजनीतिक समस्या समाधान गर्न सुझाव दिइरहेको भारतीय अधिकारीहरूको तर्क छ । तर काठमाडौंले यसलाई गलत व्याख्या गरिरहेकोमा त्यहाँ एकमत रहेको पाइएको छ । मधेशको समस्या समाधान नभएसम्म भारतसँगको अस्थायी भारत भ्रमणमा रहेका १५ जना नेपाली संचारकर्मीसँग भारतका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूले नेपालमा दिगोशान्ति चाहेको पटक–पटक भनिरहेका थिए । लामो अन्तरालपछि कुनै भारतीय प्रधानमन्त्री नेपाल भ्रमण गरेकाले पनि संवेदनशीलतालाई ध्यानमा राखिएको कुरा नेपाली पक्षले ख्याल गर्नुपर्ने तर्क निकै सुनिएको थियो । नेपालको राजनीतिक बृतमा सुनिने गरिएको नेपाल–भारत सीमानाका सील गनुपर्ने नारा र भाषण अब बिस्तारै दिल्लीमा समेत चर्चा हुन थालेको छ । यो चर्चा धेरै पुरानो रहेपनि भारतमै यसबारे बहस हुन थालेकोले नाकाहरूको व्यवस्थापन र आधुनिकीकरण गर्न सकिने कुरामा गृहकार्य भइरहेको खुलासा एक भारतीय अधिकारीबाट भयो । भारत अझै पनि नेपालसँग सम्बन्ध राम्रो भएकै हेर्न चाहेको देखिन्छ । त्यहीं नेपाल–भारत सीमामा बस्नेहरूसँगको सम्बन्ध अझै प्राथमिकतामा परेको देखिएको छैन । किनभने पहिलो खतरा काठमाडौंबाट रहेको विश्लेषण एकथरिको छ । काण्डमाडौंबाट रहेको खतरा समाधन भए मधेशबाट स्वतः कुनै खतरा नरह्ने निष्कर्षमा भारतीय अधिकारीहरू छन् । राज्यस्तरबाट तराई–मधेशमा गरिने विद्युत आपूर्तिमा देखिने गडबडी अथवा अन्य समस्याका बारेमा नेपाल सरकारको आधिकारिक पत्र, जानकारी वा सूचना कहिल्यै भारतीय समकक्षी वा अधिकारीहरूसँग नपुगेको ठोकुवा दिल्लीमा रहेको भारतीय अधिकारीहरूले गरेका छन् । तराई–मधेशमा भारतको राज्यस्तरबाट हुने विद्युत आपूर्तिमा कुनै गडबडी आए समझौता विपरीत नेपाली प्राविधिक भारतीय क्षेत्रमा गई मर्मत कार्य गर्नुपर्ने बाध्यता छ । नेपाली संचारकर्मीको सम्मानमा भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रात्रीभोज पनि निकै रोचक र घोचक रह्यो । रात्रीभोजमा भारतका उच्च अधिकारी तथा वरिष्ठ संचारकर्मीहरूको सहभागिता थियो । त्यहाँ सहभागी एक वरिष्ठ पत्रकार महिलाले नेपालबाट यहाँ आउने पत्रकारहरूले मधेशको सबै माग पूरा भइसकेकोले त्यति धेरै पोलिटिकल र मिडिया ‘स्पेस’ दिन नहुने तर्क दिने गरेको सुनाए । ती पत्रकारहरूको चाहना थियो नेपालसँगको सम्बन्ध पनि भारत–पाकिस्तानको जस्तो नै होस् । दिल्लीको समाचारमूलक टेलिभिजनहरूमा काम गर्नेमा अधिकांश नेपालसँग सिमाना जोडिएका भारतीय छन् तर कहिल्यै नेपाल–भारत सीमाका विविध आयामबारेको समाचार प्राथमिकतामा पर्न सकेको छैन । निकटताको सिद्धान्त यहाँ अलिक कमजोर भएको आभास हुने गरेको छ । सधैं रिमोटबाट ‘च्यानल’ परिवर्तन हुने बानी परेकाहरूलाई लामो अन्तरालपछि कुनै भारतीय प्रधानमन्त्री नेपाल आउनु र लोकप्रियता प्रदर्शन हुनुलाई पचाउन नसक्नु नै सम्बन्धमा खटास आउनुको मुख्य कारण हो । भारतमा नेपालसँग चाँसो राख्ने राजनीतिकर्मी तथा प्रशासनिक अधिकारीले राजनीतिलाई एक किनारमा राखेर अर्को किनारमा मिलेर काम गर्दा दुबै देशलाई लाभ हुने कुराले धेरै चर्चा पाएको खण्डमा सम्बन्ध विस्तारै राम्रो हुँदै जाने तर्क गरिरहे । चीनले कहिल्यै कुनै देशलाई कुनै कुरा सित्तैमा नदिएको प्रचारबाजी भारतमा निकै बढी छ । त्यही सम्पूर्ण विश्व विभेदविरूद्ध एकमत भइरहेको बेला भारत यसबाट अछुतो रह्न सक्दैन । भारतीय अधिकारीहरूले नेपाललाई शान्त र समृद्ध बनाउन सत्ता पक्षले दौड प्रतियोगितामा भाग लिए जस्तै गरि दौड्नुपर्ने सुझाव नेपाली संचारकर्मीको टोली समक्ष राखेका थिए । काठमाडौंमा देखिएको भारत विरोधी वाक अस्थायी भएको तर्क गर्दै भारतीय अधिकारीहरूले मधेशमा यस किसिमको स्थायी भावनाको बिकास हुन नदिन दिल्ली प्रयत्नशील रहेको आश्वासन दिइरहेका थिए ।  अर्कोतर्फ मधेशमा मधेशीबाटै दलाई लामा कार्डको प्रयोग गरेर अगामी दिनमा काठमाडौंलाई संकटमा घेर्ने वातावरण बन्न नदिन सत्तापक्ष तत्काल गम्भीर हुनुपर्ने देखिएको छ । ‘हातो तरके गेल पैरो तर के गेल’ मैथिली भाषाको निकै प्रचलित कहावतलाई मनन गर्नुपर्ने अहिलेको आवश्यता छ । भारतकै कैयौं राज्यबाट दिल्ली पुग्न काठमाडौंबाट अधिक समय खर्चिनुपर्दछ । त्यसैले भारतीयहरूले दिल्ली बहुत दूर हैं भन्नु र नेपालीहरूले दिल्ली दूर नही भन्नुले सम्बन्धका धेरै पत्रहरू छरप्रष्ट पारेको सहजै बुझ्न सकिन्छ ।





Post a Comment

 
Top