0
गोल्डेन न्यूज संवाददाता
कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले स्थानीय निकाय अझै पारदर्शी र उत्तरदायी बन्नुपर्ने बताएका छन्। नौलो घुम्ती नेपालद्वारा संचालित स्थानीय शासन उत्तरदायी संयन्त्र कार्यक्रमको वार्षिक जिल्ला स्तरीय समीक्षा कार्यक्रममा वोल्दै, स्थानीय विकास अधिकारी भण्डारीले जनउत्तरदायी भएर स्थानीय नागरिकको सेवा गर्न गाविस सचिवहरुलाई निर्देशन समेत दिए । विगतको समयमा भन्दा अहिले गाँउ विकास समितिहरुमा पारदर्शीता र जवाफदेहिता वढेको भएपनि यो अझै पर्याप्त नभएको उहाँको भनाई छ । योजना छनौट गर्दा ऐन, नियमावली र कार्यविधि अनुसार अझै वस्तीस्तरमा पुगेर योजना छान्नुपर्नेमा उनले जोड दिए । स्थानीय विकास अधिकारी भण्डारीले उपभोक्ता समितिका कार्यहरु प्रति नागरिकको गुनासो बढेकोतर्फ संकेत गर्दै उनले उपभोक्ता समितिहरुलाई थप जिम्मेवार र जवाफदेही भएर काम गर्न अनुरोध गरे । स्थानीय विकास अधिकारी भण्डारीले अहिले देखिएका राम्रा पक्षलाई जोगाई राख्न पनि सचिवहरुले स्थानीय निकायमा थप सक्रियता वढाउनुपर्नेमा जोड दिए । उनले नीतिगत रुपमा गर्नुपर्ने विषयहरुलाई कडाईका साथ पालना र कार्यान्वयन गर्न पनि निर्देशन दिए । स्थानीय शासन उत्तरदायी संयन्त्र कार्यक्रम नौलो घुम्तीका कार्यक्रम अधिकृत भानु पराजुलीले कास्कीका २२ वटा गाँउ विकास समितिमा भएका कार्यक्रमहरुको स्थलगत अनुगमनको प्रतिवेदन प्रस्तुत गरेका थिए । विगतमा भन्दा पछिल्लो समय ऐन, नियमावली, कार्यविधि, निर्देशिका अनुसार योजना छनौट, बजेट विनियोजन, उपभोक्ता समिति गठन, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण गर्न थालिएको भएपनि अझै नीतिगत पर्याप्तता नभएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । गाविसमा संचालित २ लाख भन्दा ठूला योजनाको होर्डिङ्ग वोर्ड अनिवार्य राख्नुपर्ने तथा ५० हजार भन्दा ठूला योजनाको वैकिंङ्ग खाता अनिवार्य खोल्नपर्ने विषय नीतिगत रुपमा हुनुपर्ने भएपनि अधिकांश गाँउ विकास समितिहरुमा नभएको कार्यक्रम अधिकृत पराजुलीले जानकारी दिए । यसैगरी, गुणस्तर मापन नगरिने तथा समयमा योजना सम्झौता नहुने कारण पनि गाँउ विकास समितिहरुमा समस्या बढेको देखिएको पराजुलीले जानकारी दिए। तोकिएको समयमा वजेट अख्तियारी प्राप्त भएपनि समयमा निकासा नहुँदा पनि विकास निर्माणका कार्यक्रमहरुमा ढिलाई भएको स्थानीय वासिन्दाहरु को गुनासो छ, त्यसैले पनि गाँउ विकास समितिका सचिवहरुले सामाजिक उपलव्धीका रुपमा हेरिएको लक्षित वर्ग कार्यक्रमको प्रभावकारीताको अनुगमन बढाउनुपर्ने पराजुलीको सुझाव छ । ऐन र कार्यविधि अनुसार उपभोक्ता समिति गठन भएको छ, जनश्रमदान तथा अन्य स्रोत जुटाउने कार्य पनि गाँउ विकास समितिहरुमा विगत भन्दा राम्रो भएको छ, तर उपभोक्ता समितिहरुलाई अझै पारदर्शी र उत्तरदायी वनाउनुपर्ने खाँचो रहेको छ । जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्थानीय विकास अधिकारी भण्डारी, प्रमुख जिल्ला ईन्जिनियर नारायण श्रेष्ठ, सामाजिक विकास शाखा अधिकृत अर्जुन न्यौपाने, नौलो घुम्तीका कार्यकारी निर्देशक शिवराज शर्मा, स्थानीय शासन उत्तरदायी संयन्त्र कार्यक्रम संयोजक देवीमाया थापा तथा कास्कीका ३२ गाँउ विकास समितिका सचिवहरुको सहभागिता थियो ।

Post a Comment

 
Top