0
नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् । नेकपा एमाले तनहुँको ९औँ व्यासनगरपालिकाको शुक्रबार दमौलीमा आयोजित उद्घाटन कार्यक्रममा नेता नेपालले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेकोले अब आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अगुवाइ गर्ने बताए । एमालेको नेतृत्वमा नै देश अघि बढ्न सक्ने चर्चा गर्दै नेता नेपालले नेपाली जनताले समेत एमालेकै नेतृत्वमाथि आशा गरेको बताए । संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले स्थानीय निकायको चुनाव, प्रदेशको चुनाव र केन्द्रीय संसद्को चुनावको प्रक्रिया डेढ वर्षभित्र सम्पन्न हुने उनले दाबी गरे । यता नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले संविधान जारी गर्दाको बखतमा भएको सहमति अनुसार नेपाली काँग्रेस पनि सरकारमा आएर निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेता आचार्यले सरकारमा सहभागी गठबन्धन दलकै सहमतिमामन्त्रिपरिषद्ले निर्वाचनको कार्यतालिका ल्याएको बताउँदै सहमति अनुसार काँग्रेस सरकारमा नआए प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै चुनाव गराउने बताए ।

Post a Comment

 
Top