0
गोल्डेन न्यूज संवाददाता
देशव्यापी रूपमा राष्ट्रिय धान दिवसको चासो र चर्चा बढ्दै गर्दा उब्जाउयोग्य धान खेत प्लटिङ हुँदै जानु गम्भीर चुनौतीका रूपमा देखिएको छ । पछिल्ला केही वर्षमा नै उब्जाउयोग्य धानखेत प्लटिङका माध्यमबाट घडेरीमा परिणत भएपछि खेतको क्षेत्रफल घटेर उत्पादनमा कमी आएको छ । विसं २०६८ यता बढिरहेको प्लटिङका कारण बर्सेनि धानखेतको क्षेत्रफल घटिरहेको क्षेत्रीय कृषि निर्देशनालय पोखराका वरिष्ठ बागबानी विकास अधिकृत मदनकुमार श्रेष्ठ बताउछन् । “प्लटिङले उब्जाउ योग्य खेत घडेरीमा परिणत भएका छन्,” उनले भने–“सबै धानखेत घडेरीमा परिणत हुने स्थिति छ ।” उब्जाउ योग्य खेत प्लटिङ गर्न नपाउने गरी सरकारले नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए। सरकारले १२ वर्षयता बर्सेनि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । दिवसलाई लक्षित गरी देशव्यापी रूपमा विभिन्न कार्यक्रम गर्ने गरिएको भए पनि उब्जाउयोग्य खेत प्लटिङ भइरहेको प्रति खासै चासो नदेखिएको क्षेत्रीय कृषि निर्देशनालयका कृषिप्रसार अधिकृत नीलकण्ठ कोइराला बताउछन् । पश्चिमाञ्चल विकास क्षेत्रमा आव २०७०÷७१ मा तीन लाख १६ हजार ६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा आव २०७१÷७२ मा उक्त क्षेत्रफल घटेर तीन लाख ११ हजार १४७ हेक्टर पुगेको छ । यस्तै आव २०७२÷७२ मा सो क्षेत्रफल घटेर दुई लाख ९८ हजार १९५ हेक्टर पुगेको छ । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका १६ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धानखेतमा बढ्दो प्लटिङको प्रभाव परेको कोइरालाको भनाइ छ । नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा बढ्दो प्लटिङले बढी प्रभावित गरेको छ । खेतीयोग्य जमिन मासिँदै जाँदा खाद्यान्न समस्या हुने नेपाल किसान सङ्घ कास्कीका अध्यक्ष भेषराज पराजुली बताउछन्। उनले भने–“खेत मासिनबाट जोगाउनु पर्छ, स्थानीय तहबाट यसको नियन्त्रण सम्भव छैन, सरकारले नै नीति तय गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।” व्यावसायिक धानखेतीको आधारः सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले भोलि देशभर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ ।
यसैक्रममा पोखरा–१७ महतगौंडा र काहुंँखोलास्थित बुडुवा फाँटमा आज रोपाइँ महोत्सव हुँदैछ । महतगौंडामा पोखरा पर्यटन परिषद् र काहुँखोलामा नागेश्वर कृषि सहकारी संस्थाले रोपाइँ महोत्सवको आयोजना गरेको हो । पोखरा पर्यटन परिषद्ले ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ १३आंै असारे रोपाई महोत्सव आयोजना गरेको हो । दुवै स्थानको महोत्सवको सबै तयारी पुरा भएको आयोजक संस्थाहरुले जनाएको छ । मानो खाएर मुरी उब्जाउने आषाढ १५ लाई पोखराका पर्यटन व्यवसायीले महोत्सवका रुपमा मनाउँदै आएका छन् । पोखरा–१७ महतगौंडाका कृषक राम भण्डारी र विक्रम भण्डारीको ६ रोपनी क्षेत्रफल खेतमा महोत्सवका लागि व्यवस्था गरेको संयोजक डम्वर केसीले जानकारी दिए। महोत्सवमा साउने प्रतियोगिता हलगोरुको दौड,आमा समूह बीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने हिलोमा दौड, रस्साकस्सी लगायतका प्रतियोगिता आयोजना गरिने परिषदका अध्यक्ष सोम थापाले बताए । यसैगरी पोखराको काहुंँखोला बुडुवा फाँटमा पजि आज तेस्रो रोपाई महोत्सव हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक नागेश्वर कृषि सहकारी सस्थाले जनाएको छ । महोत्सवमा रोपाइँ प्रतियोगिता हिलोमा माछा समाउने प्रतियोगिता, डोरी तान्नेखेल, मोही लगाउने प्रतियोगिता हुने सहकारीका अध्यक्ष इन्द्रिरा आचार्यले जानकारी दिइन। प्रतियोगितामा १५ हजार बढि दर्शकको उपस्थिति रहने सहकारीका सदस्य लक्ष्मी केसीले बताइन । केसीले महोत्सव गर्न २ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आफूहरुले गरेको बताइन । उनले सम्पूर्णलाई १३औं राष्ट्रिय धान दिवकासको अबसरमा आयोजना भएको तेस्रो रोपाई महोत्सवमा सहभागी हुन आग्रह समेत गरेकी छन् ।



Post a Comment

 
Top