0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कास्कीको छैटौं अधिवेशन असार ५ गते आइतबार हुने भएको छ । प्रतिष्ठान कास्कीले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जानकारी गराएको हो । प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुङ्गानाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख संरक्षक प्रजापति पराजुली, निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, केन्द्रीय सदस्य चोलेन्द्र पौडेल, प्रतिष्ठान कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी र सचिव रामजी पौडेलले अधिवेशनको तयारीको बारेमा बोलेका थिए । छैटांै अधिवेशनको अवसर पारेर तीन वर्षसम्म आफ्नै आवाज, शब्द र लयमा लोक गीत सिर्जना गर्ने मध्येबाट एकजना, प्रतिष्ठानमा आवद्धमध्ये क्रियाशिल एवं शैक्षिक योग्यता बढि भएको मध्येबाट एक जना र लामो समयसम्म संगीत सिर्जना गर्ने मध्येबाट एक जना गरी तीन जनालाई सम्मान गरिने बताइएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । प्रतिष्ठान कास्कीमा झण्डै ३ सय ५० सदस्य आवद्ध रहेको सचिव रामजी पौडेलले जानकारी दिएका छन्।  अधिवेशनको दिन पोखराको चिप्लेढुङ्गाबाट न्यूरोड, सभागृह चोक, सिर्जनाचोक हुदै साइमन पाटी प्यालेससम्म झाँकी सहितको ¥याली आयोजना हुने आयोजकले बताए । प्रतिष्ठान कास्कीको स्थापना वि.स. २०५८ सालमा भएको हो । वि.स. २०७० साल बैशाख ७ गते भएको पाँचौ अधिवेशनले वर्तमान अध्यक्ष शिवहरि ढुङ्गानाको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । आफ्नो कार्यकालमा प्रतिष्ठान कास्कीले लोकदोहोरीको क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा समेत सक्रियता देखाउँदै विभिन्न महत्वपूर्ण कार्य सम्पन्न गरेको ढुङ्गाना बताउँछन् । यसअघि प्रतिष्ठान कास्कीको नेतृत्व तारापति सुवेदी, पदम बहादुर गुरुङ, जीवन दाहाल, केशव देवकोटाले कुशलतापूर्वक पुरा गरेका थिए ।





Post a Comment

 
Top