0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा सेती गण्डकी र लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीको संयुक्त आयोजनामा तनहुँ जिल्लाको भिमादमा स्वास्थ्य शिविर एवं शैक्षिक सामाग्री वितरणका साथै प्रिन्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । तनहुँको भिमाद गाविस वडा नं.३, भागरस्थित श्री बालज्योति प्राथमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा सोही स्थानमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १९० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ पोखरा सेती गण्डकीकी अध्यक्ष मिलन थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन। शिविरमा आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको उनले बताइन । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रूव थापाले बालज्योति प्राविका प्रधानाध्यापक दीप नारायण तिवारीलाई शैक्षिक सामाग्री र प्रिन्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै गभर्नर थापाले लायन्सको यो सहयोग विद्यालय तथा स्थानीयलाई  अत्यन्तै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै विद्यालयका प्रअ तिवारीले लायन्सको सहयोग विद्यालयका लागि अत्यन्तै महत्वपूर्ण भएको भन्दै खुशी व्यक्त गरे । सेती गण्डकी लायन्स क्लवकी अध्यक्ष मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका पूर्व गभर्नर योगेन्द्र प्रधान, गोल्डेन चौतारी लयन्सका अध्यक्ष राजेश्वर आचार्य, कार्यक्रम  संयोजक शान्ति उदास, क्लवकी सचिव कल्पना थापा, खैरेनीटार उच्च माविका निवर्तमान प्राचार्य प्रेमबहादुर थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उक्त अवसरमा वितरण गरिएको शैक्षिक सामाग्री ८ हजार, प्रिन्टर १८ हजार र औषधि १२ हजार रुपैयाँ बराबरको रहेको बताइन्छ । उक्त अवसरमा अपाङ्ग विद्यार्थी कृष्ण विकलाई आर्थिक सहयोग समेत गरिएको थियो । स्वास्थ्य शिविरमा कास्की मोडल अस्पतालका डा. भोकेन्द्र बहादुर केसी, डा. शैलेश गुरुङ र डा. मञ्जय पौडेल टीमका साथै प्राविधिक टोलीले सहयोग गरेको थियो । यसैगरी शिविरमा स्वास्थ्य परीक्षण गराएकाहरुले कास्की मोडल अस्पतालबाट २ महिनासम्म निःशुल्क स्वास्थ्य परीक्षण र औषधि खरिदमा ३० प्रतिशत छुट पाउने बताइन्छ । सेतीगण्डकी र गोल्डेन चौतारी लायन्स क्लव दिदीभाइ क्लवको रुपमा परिचित छ । स्मरण रहोस् यी दुवै क्लवको संयुक्त आयोजनामा गत वैशाख ४ गते डिष्ट्रिक्टको राष्ट्रिय महाधिवेशन पोखरामा सफलतापूर्वक सम्पन्न भएको थियो ।

Post a Comment

 
Top