0
राजाराम पौडेल÷गोल्डेन
नयाँ कलाकारले प्रतियोगिता मार्फत जोखिम मोल्न नचाहनु र पुराना कलाकारले प्रतियोगीता सचालन गर्ने वातावरण नबनाइदिँदा लोकदोहोरी प्रतियोगिता धराशयी बन्दै गएको छ । यदाकदा आयोजना हुने प्रतियोगितामा सहभागीको संख्या समेत राम्रो देखिंदैन । विगतमा आफ्नो प्रस्तुतिमा निखारता प्रदान गर्ने प्रमुख माध्यम बनेको यस्ता प्रतियोगिता नहुँदा नयाँ प्रतिभाको आगमनमा समेत असर परेको प्रष्टै देखिन्छ । विगतमा भने यस्तो अवस्था थिएन । प्रतियोगिता मार्फतनै नयाँ प्रतिभाको आगमन हुने गर्दथ्यो । यो क्षेत्रमा आउनका लागि निकै मेहनत गर्नुपर्ने अवस्था थियो । यसरी प्रतियोगिताबाटै यस क्षेत्रमा आउन सफल एक प्रतिभा हुन् अमर धिताल । झण्डै १५ वर्ष अगाडि प्रतियोगिता मार्फत उनको प्रवेश लोकदोहोरी क्षेत्रमा भएको हो । उनी लगातार ७ वर्षसम्म निरन्तर प्रतियोगितामा भाग लिएर खारिएका छन् । आफ्नो प्रस्तुतिमा निखारता प्रदान गर्नू भन्दा एक दुई गीत रेकर्ड गरी यो क्षेत्रमा हाली–मुहाली गरिरहेका कलाकारको नजरमा परि स्थापित हुने गलत सोचको विकास हुदाँ अहिलेको अवस्था आएको तर्क उनी गर्छन्। ‘विगतमा प्रतियोगिता छ भन्ने सुनेपछि भाग लिनेको भिड लाग्थ्यो तर अहिले फोन गरेर बोलाउँदा पनि आउँदैनन्’–उनले भने । नेपाली लोकदोहोरी क्षेत्रलाई मजाक सम्झँदा यो स्थिति सिर्जना भएको भनाइ उनको छ । एक–दुई गीत रेकर्ड गरी अतिथि कलाकार बन्न खोज्नेलाई अवसरबाट वञ्चित गराउने हो भने बाध्य भएर प्रतियोगिता भाग लिन थाल्छन्’–उनको तर्क छ । यसले धरापमा परेको दोहोरी प्रतियोगिता पुनःस्थापित हुने उनको विश्वास छ । पोखरा उप–महानगरपालिकाले वि.स.२०५८ सालमा पोखरा सभागृहमा आयोजना गरेको दोहोरी गीत प्रतियोगितामा भाग लिएर यो क्षेत्रमा धितालको आगमन भएको थियो । यो प्रतियोगितामा उत्कृष्ट दोहोरी गायकको पुरस्कार उनको पोल्टामा प¥यो। प्रतियोगितामा भाग लिनु अगाडि पुरस्कृत हुन्छु भन्ने सोचेका भने उनले थिएनन् । ‘भाग लिएर हेरौ के हुन्छ भनेर भाग लिएको थिए पुरस्कृत हुदाँ मलाई हौसला बढ्यो’–विगतलाई सम्झँदै उनले भने ।  कार्यक्रममा निर्णायक रहेका लोकदोहोरी क्षेत्रका हस्तीहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, शान्ती गुरुङ लगायतले निरन्तरता दिन सल्लाह दिए । यसले उनमा यो क्षेत्रमा केहि गर्न सक्ने आत्मबल बढेर गयो । फलस्वरुप दोहोरी प्रतियोगितामा भाग लिनेक्रम बढ्दै गयो भने थुप्रै पुरस्कार जिते । वि.स.२०५८ देखि २०६५ सम्म नेपालमा आयोजना हुने अधिकांश दोहोरी प्रतियोगितामा भाग लिए । बाग्लुङ महोत्सव, म्याग्दी महोत्सव, पश्चिमाञ्चल दोहोरी तारा, ढोरपाटन दोहोरी, टुवर्ग दोहोरी, लमजुङ महोत्सव, स्याङ्जा महोत्सव, पाल्पा महोत्सव, कैलाली महोत्सव, चितवन महोत्सव, लेखनाथ महोत्सव, सडक महोत्सव, औद्योगिक व्यापार मेला, फेवा नववर्ष महोत्सव लगायतमा आयोजित दोहोरी प्रतियोगितामा आफूलाई अब्बल प्रमाणित गर्न उनी सफल भए । यसले उनको प्रस्तुतिमा परिपक्कता झनै बढेर गयो ।  त्यसो त उनले वि.स.२०५९ मा ‘पातले छाँगो खसेको’ बोलको गीत रेर्कड गरे । शब्द,लय उनकै रहेको यो गीतमा आवाजमा पार्वती जिसी र बालुमाया पुनले साथ दिएका थिए । यो गीतबाट राम्रो प्रतिक्रिया उनले पाए । लगानी उठाउन सफल भए ।  मिडियाबाट  राम्रो सर्पोट उनलाई मिल्यो  ।
यता वि.स. २०५८ सालबाट दोहोरी साँझमा समेत उनले गीत गाउन थालेका थिए । पोखराको अम्मरसिँहमा रहेको सोल्टी दोहोरी साँझबाट उनको दोहोरी साँझतर्फ यात्रा आरम्भ भएको हो । उनले केहि समय काठमाडौंको मस्र्याङदी दोहोरी साँझमा समेत आफ्नो प्रस्तुति राखे । विगत ७ वर्षदेखि तत्कालिन देउराली दोहोरी साँझ हालको रुपाहिल दोहोरी साँझ चिप्लेढुङ्गामा आफ्नो प्रस्तुति राख्दै आएका छन् ।
‘भुरुरु मन उडी जाने मायाले रहिछ कलेजी छेउ खाने’ गीत बजारमा ल्याउने उनको तयारी यतिबेला छ । शब्द, लय र आवाज उनको रहेको यो गीतमा महिला आवाज दुर्गा क्षेत्रीले भरेकी छन् । गीत केहि समयमानै बजारमा आउने छ । अडियो रेर्कड भैसकेको यो गीत भिडियो निर्माण पश्चात बजारमा आउनेछ । यो झ्याउरे भाकालाई मेला महोत्सवमा प्रस्तुत गर्दा दर्शकको साथ पाएकोले सफलता मिल्नेमा उनी आशावादी छन् । बुबा देवी बहादुर र आमा तिलमाया धितालको कान्छो सन्तानको रुपमा पोखरा उप–महानगरपालिका–२२ साविक आर्वा गाउँ विकास समिति–१ नवदुर्गाटोलमा उनको जन्म भएको हो । बाल्यकालदेखि नै उनको रुची दोहोरी क्षेत्रमा थियो । रतन पाण्डे निमावी पढ्दा देखिनै गीत गाउन उनले सुरु गरे । गाउँमा तथा स्कुलमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो प्रतिभा सुनाए । धार्मिक कार्यक्रममा भजन चुड्का गाउन उनले साथ दिन्थे । त्यतिबेला समयमा शोख र रमाईलोका लागि गीत गाउने गरेको उनी बताउँछन् । यसै क्षेत्रमा लाग्ने भन्ने सोचाइ भने उनले बनाएका थिएनन् । तर यसरी आफ्नो प्रस्तुति राख्दा पाएको पुरस्कार र सर्पोटले उनी उत्साहित भने बने ।राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कास्कीका संस्थापक सदस्य, प्रतिष्ठान गण्डकीका संस्थापक सदस्य, गण्डकीका वर्तमान कार्यसमिति सदस्य रहेका उनी अब हुने गण्डकीको अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् । मेला र महोत्सवमा सहभागी हुने अवसर उनले पाएका छन् । यस्ता कार्यक्रममा प्रत्यक्ष दोहोरी उनले गाउने गर्दछन् । यसरी प्राप्त आम्दानीले घरपरिवारको दैनिक गुजारा चलाउन सफल भएको उनले बताए । अन्य क्षेत्रलाई हेर्दा साँगीतिक क्षेत्रमा लागेकोमा आत्मसन्तुष्टि मिल्ने गरेको उनले सुनाए । ‘साँगीतिक क्षेत्रमा लागेर दर्शक श्रोताको माया तथा विभिन्न ठाउँ घुम्ने अवसर पाएको छु’–खुशी हँुदै उनले भने । नेपालका अधिकांश जिल्ला पुगेर आफ्नो प्रस्तुति राखिसकेका उनले भारतको बम्बइमा पुगेर समेत आफ्नो प्रस्तुति राखिसकेका छन् ।  उनको योगदानको कदर गर्दै विभिन्न संस्थाद्धारा सम्मान गरिसकेका छन् । श्रीमती अञ्जु धिताल, छोरा अनुज,छोरी अञ्जिताको सहयोग र सर्पोटले यो क्षेत्रमा अगाडि बढ्ने उत्साह बढेको उनी बताउँछन् । प्रभुधाम हरियाली कृषि सहकारी, नवदुर्गा युवा क्लव, काहुँखोला विजयपुर मौजा सडकखण्ड उपभोक्ता समितिमा उनी आवद्ध छन् । हिम श्री फुड्समा ४ वर्ष काम गरेका उनी भर्ती हुन भन्दै कुनै समय भारतमा पनि पुगे । दर्शक श्रोताको माया र स्वरले साथ दिँदासम्म यो निरन्तर लाग्ने योजना उनको छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm






Post a Comment

 
Top