0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ४ मा रहेको सिद्धार्थ टोल विकास संस्थाले पोखराका दुई पत्रकार सहित संस्थालाई महत्वपूर्ण योगदान दिनेहरुलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाले आफ्नो १३औं वार्षिकोत्सव तथा अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारमा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल र स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव कमल पौडेल अथक रहेका छन् । पत्रकार बराल सामुदायिक रेडियो सुनौलो १०२.२ मेगाहर्जका निर्देशक समेत हुन् । उनी गोल्डेन न्यूज दैनिकसंग आवद्ध छन् । बराल नेपाल पत्रकार महासंघका पनि केन्द्रीय पार्षद हुन् । यस्तै पत्रकार पौडेल सराङकोट रेडियो र हिमदूत दैनिकमा आवद्ध छन् । उक्त संस्थाले यसअघि गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक गंगाधर पराजुली र सम्पादक रीता गुरुङलाई समेत सम्मान गरिसकेको छ । 
पत्रकार बराल र अथकलाई कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उप–महानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल र संस्थाका अध्यक्ष गोमा कोईराला सुवेदीले अविर, सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका १७ जना जेष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा वेलकुमारी लिगल, मंगलप्रसाद माकाजू, मीठू केसी, विलमाया लिगल, शम्भुप्रसाद कोईराला, उमादेवी गोठाजू, खड्ग कुमारी गोठाजू, भगवान प्रसाद लिगल, डोलप्रसाद गोठाजू, जौमाया पराजुली, पूर्णबहादुर श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुन्तली मुल्मी, शोभा मल्ल, मुसुरी खैंजु, र लक्ष्मी लिगल रहेका छन् ।
त्यसैगरी स्वर्गीय दण्डपाणि नर्वदा अक्षयकोषवाट गतवर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने संस्थाका सदस्यका छोरा विवेक गुरुङ र छोरी सिसम ढकाललाई छात्रवृति प्रदान गरिएको थियो । त्यसैगरी काशीनाथ कलावती अक्षयकोषबाट नविन उच्चमावि गैहपाटनमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना कुइँकेललाई स्टेशनरी वितरण गरिएको थियो । त्यसैगरी संस्थाले वुद्धिप्रसाद माकाजू अक्षयकोषमार्फत संस्थाका सल्लाहकार मदनकाजी श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा स्वर्गीय लालवहादुर मुल्मीका परिवारजनले  लालवहादुर स्मृति अक्षयकोषका लागि १ लाख ५ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यसैगरी गणेशलाल कान्छीमाया अक्षयकोष र थानप्रसाद श्रेष्ठ नामक दुई अक्षयकोषमा जनही ५० हजार ५ सय ५ रुपैयाँ जम्मा गरिएको छ । त्यसैगरी आफ्ना पुस्ताको नाउँमा निर्माण सामाग्री व्यवसायी बलबहादुर (विवि) थापाले २२ हजार २ सय २२ को अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष स्थापना गर्ने सबै नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
कार्यक्रममा बोल्दै पोखरा उप–महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले टोल विकास संस्थाहरु सक्रिय भएमा नगरपालिकाले हरेक सहयोग गर्न तयार रहेको बताए । उनले टोल विकास संस्थाहरु सामाजिक गतिविधिमा सक्रिय भएकै आधारमा नगर पालिकाले उनीहरुलाई सहयोग गर्दै आएको स्पष्ट पारे ।  सम्मानित व्यक्तित्व शिरोमणि बरालले सिद्धार्थ टोल विकास संस्था पोखराकै उत्कृष्ट संस्थाहरुमध्ये एक भएको भन्दै यसको गतिविधिलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए ।  
संस्थाका अध्यक्ष गोमा कोईराला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–४ का वडा सचिव दुर्गाप्रसाद कोईराला, संस्थाका सल्लाहकार मदनकाजी श्रेष्ठ, मंगलप्रसाद माकाजू, उपाध्यक्ष सम्झना माकाजू, कोषाध्यक्ष भवानी माकाजू र सचिव सीमा कोईराला लगायतले आ–आफ्ना भनाई राखेका थिए ।ु

अध्यक्षमा पुनःसुवेदी

सिद्धार्थ टोल विकास संस्था पोखरा–४ को अध्यक्ष मा पुनः गोमा कोइराला सुवेदी चयन भएकी छन् । संस्थाको शनिबार पोखरामा सम्पन्न १३औं वार्षिकोृत्सव एवं अधिवेशनले उनलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । उनी टोल विकास संस्था वडा समन्वय समिति पोखरा उपमहानगरपालिका वडा नं. ४ को कार्यबाहक अध्यक्ष समेत हुन् । सामुदायिक रेडियो सुनौलो एफएमको निर्देशक तथा सामुदायिक जागरणका निम्ति हाम्रो अभियानकी सदस्य समेत रहेकी सुवेदी अन्य संघ–संस्थामा पनि आवद्ध छन् । उनी विभिन्न सामाजिक एवं राजनीतिक गतिविधिमा लामो समयदेखि क्रियाशिल छन्। संस्थाको उपाध्यक्षमा सम्झना माकाजू, सचिवमा सीमा कोइराला, सह–सचिवमा मिथिला मल्ल र कोषाध्यक्षमा भवानी माकाजू भयन भएका छन् । यस्तै सदस्यहरुमा ज्योती कोइराला, लक्ष्मी पराजुली, लिला श्रेष्ठ, विष्णु परियार, विमला बाँस्तोला र कल्पना गौतम चयन भएका छन् । संस्थाका सल्लाहकार मंगल माकाजू संयोजक तथा ढाकामोहन पराजुली, शम्भुप्रसाद कोइराला, रामबहादुर केसी र भीम श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा सह–सचिव मिथिला र सदस्य विमला बाहेक अरु सबै पुरानै कार्यसमितिमा थिए । अध्यक्षमा निर्वाचित भएपछि बोल्दै सुवेदीले आफ्नो टोलमा सडक, ढल, सौर्यवत्ति र वृक्षारोपणलाई व्यवस्थित गर्नुका साथै किरियापुत्री भवनलाई अझै सुविधायुक्त बनाउन आफूले पहल गर्ने बताइन ।




Post a Comment

 
Top