0
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारबाट अलग हुने भनी पार्टीबाट निर्णय गराएको भोलिपल्टै उक्त निर्णयविरूद्ध प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सत्ताको रक्षाकवच बन्ने घोषणा गरेका छन् । आफू र आफ्नो पार्टीको निकै महत्वपूर्ण मानिएको उक्त राजनीतिक प्रस्तावमाथि कुल्चिएर प्रचण्डले ओलीलाई नौ बुँदे सहमतिमा हस्ताक्षर गराएपछि ढल्नै लागेको वर्तमान सरकारले सञ्जीवनी प्राप्त गरेको हो । नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्न आएको अफरलाई समेत लत्याएर अध्यक्ष प्रचण्डले लिएको यो निर्णय देश र जनताको पक्षमा कति लाभदायक हुन सक्छ ? भन्ने कुरा थाहा पाउन भने केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ । राजनीतिमा जे कुरा पनि सम्भव हुन्छ भन्ने भनाइलाई यो घटनाले राम्रोसँग पुष्टि गरेको छ । ओली नेतृत्वको सरकार क्रमशः गतिहीन र लाचार बन्दै गएको कारण नेपाली कांग्रेसले त्यसको विकल्प खोजेको थियो । विकल्पको खोजी गर्नेक्रममा बरू प्रचण्डलाई नै एक मौका दिएर हेरौँ भन्ने सोच बनाएर कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो । नहुनु मामाभन्दा कानु मामा निको भन्ने नेपाली उखानलाई सम्झँदै नेपाली कांग्रेस यस्तो निर्णय लिन बाध्य भएको थियो । तर, पहिलो स्वीकार गरेको प्रस्तावलाई २४ घन्टाभित्रै लत्याएर प्रचण्डले आफ्नो राजनीतिक सहयात्री दल नेपाली कांग्रेसको मन अवश्य पनि दुखाएको छ । ओलीको विकल्पमा ओलीलाई नै प्रचण्डले रोजेका कारण एमाओवादी पार्टीभित्र निकै असन्तुष्टिका स्वरहरु गुन्जिएका छन् । परिवर्तन चाहनेहरुको मुखमा अहिले बुजो लगाइएको छ र प्रचण्डको प्रतिष्ठा बाहिर र आफ्नै पार्टीभित्र पनि खस्किएको अनुभव गरिएको छ । यौटा असफल र भिजन नभएको व्यक्तिलाई यसरी पुनर्जीवन दिएर प्रचण्डले नेपाली जनताको मन पनि दुखाएका छन् । खासगरी, भूकम्पपीडित बस्तीहरुमा प्रशस्त पैसा संकलन हुँदाहुँदै पनि एक वर्ष नाघ्दासम्म देखिने खालको कुनै काम गर्न सकेनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यो ठूलो असफलता मान्नुपर्छ । जनताको प्रतिनिधि बनेको सरकारले पीडामा परेका आफ्ना नागरिकको आँशु पुछ्न नसक्नु आफैँमा ठूलो कमजोरी र गैरजिम्मेवारीपन मान्नुपर्ने हुन्छ । त्यसबाहेक अभाव, कालोबजारी, भ्रष्टाचार र बेरोजगारीका अग्ला–अग्ला पहाडहरुले प्रधानमन्त्री ओलीको छविलाई ढाकिसकेको थियो । यस्तो अवस्थामा उनको विकल्पको खोजी गर्नु आफैँमा एक सहज प्रक्रिया थियो । तर, एमाओवादी अध्यक्ष प्रचण्डले आफूले पाएको प्रधानमन्त्री पदको अफरसमेत लत्याएर यौटा लाचार छाया बनिसकेको व्यक्तिलाई काँध थापेर अवश्य पनि राम्रो काम गरेका छैनन् । यो घटनालाई भविष्यमा विकसित हुँदै जाने प्रत्युत्पादक राजनीतिक घटनाक्रमहरुले समेत पुष्टि गर्ने अपेक्षा गरिएको छ ।






Post a Comment

 
Top