0
गोल्डेन न्यूज संवाददाता
एमाओवादी पार्टीसँग एकता गर्ने मुद्दाका कारण मोहन वैद्य नेतृत्वको माओवादी पार्टी टुक्रने लगभग निश्चित भएको छ। अबको ५ दिन भित्रमा कुनै अनपेक्षित घटना नघटे आगामी साता पार्टी औपचारिक रूपमा टुक्रने छ। पार्टी नेता राम बहादुर थापा ‘बादल’ ले आगामी २८ गते छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् भने पार्टी अध्यक्ष बैद्यले उक्त बैठक अवैधानिक भएको भन्दै केन्द्रीय सदस्यलाई त्यसमा भाग नलिन अनुरोध गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गरि वैद्यले उक्त ‘अबैधानिक’ बैठकमा उपस्थित नहुन केन्द्रीय सदस्यलाई आवहान गरेका हुन्। के पार्टी टुक्रन लागेको हो भन्ने प्रश्नको जवाफमा पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने,‘कुरा अप्रिय हो, हामी अझै पार्टी टुक्रियोस् भन्ने चाहँदैनौं। तर तपाईँलाईभन्दा म बस्तुनिष्ठ पनि हुनुपर्छ। हो, तपाईँले भनेकै दिशामा पार्टी गएको हो।’ निरन्तर टुक्रने र कमजोर हुँदै गएका माओवादी पार्टीबीच एकता हुनुपर्छ भन्नेमा विभिन्न पार्टीमा रहेका माओवादीहरू सहमत छन्। वैद्य नेतृत्वको माओवादी पार्टीमा बादल नेतृत्वको समूहले एमाओवादीसँग एकता गर्न केहि महिनादेखि पार्टी भित्र चर्को दवाव दिँदै आएको थियो। तर सिद्धान्त निष्ठ मानिएका वैद्यले ‘के का लागि एकता?’ भन्ने प्रश्न उठाउँदै आएका थिए। ‘शक्तिको फोहोरी संसदीय’ अभ्यास गर्नका निम्ति एकता गर्ने र राजनीति गर्ने भए त्यबाट ‘जनयुद्व’को अपमान हुने उनको तर्क छ। तर आफ्नो पार्टीले राजनीतिमा अस्तित्व नै बेहोर्नु परेको स्थितिमा एकताको विकल्प नभएको धेरै नेताहरुको तर्क छ। पार्टी नेता देव गुरुङ, बादल र कुल प्रसाद केसीका समूहहरु एकताको पक्षमा छन्। उनको पार्टी भित्र पनि एकता हुनुपर्छ भन्नेहरुको भारी बहुमत छ। तर अध्यक्ष  बैद्य बिना नै एकता गर्न भने धेरै केन्द्रीय सदस्यहरु तयार छैनन्। एकता पक्षधर न्यौपानेले भने, ‘अध्यक्ष बाहेक नयाँ पार्टी गठन गरेर एकता प्रकिया सुरू गर्दा हामी बहुमतमा हुन्छौं वा हुन्नौं भन्ने टुंगो छैन। अब २८ गते नै थाहा हुन्छ।’
१९९ सदस्यको केन्द्रीय समितिमा आफ्नो बहुमत पुगे पार्टीको नाम बादल नेतृत्वको बिद्रोही समूहले लिनेछ र त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग एकता प्रक्रिया बढाउने छ। बहुमत नपुगे छुट्टै नाम राखेर एकता प्रक्रिया सुरू हुनेछ। त्यसपछि एकता प्रक्रियामा मणि थापा र मात्रिका यादव समूहहरु पनि सामेल हुनेछन्।






Post a Comment

 
Top