0
गोल्डेन न्यूज संवाददाता
युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम रिलोडेड 
(एमआरआर) ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्नेक्रममा विहीबार पोखराका सडक बालकलाई कपडा वितरण गरेको छ । पोखराकै सडक बालकसँग ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान सम्पन्न गरिसकेको एमआरआर पोखराले उनीहरुलाई नुहाई धुवाई गरिदिएर नयाँ कपडा वितरण गरेको हो । चाईल्ड वेलफेयर स्किम नेपाल (सीडब्लुएसएन), न्युरोडको ज्योति स्ट्रीट प्रोजेक्ट, हिमालयन लाईफ केयर, पृथ्वीचोकको सहयोगमा पोखरा नगरक्षेत्रमा रहेका ५० बढि बालकहरु जम्मा गरी टिसर्ट सहित एक जोरका दरले कपडा वितरण र खाजा खुवाएको एमआरआर पोखरा प्रतिनिधि सूर्य तिमिल्सिनाले जानकारी दिए ।वितरित टिसर्टमा ‘मलाई आत्मसन्नाका साथ बाँच्न देउ’ र ‘आवाज विहीनको आवाज एमआरआर’ लेखिएको छ । उनीहरुसँग आत्मीय सम्बन्ध कायम गर्दै समाजमा पुनःस्थापित गराउने योजनाका साथ एकपछि अर्को सडक बालक लक्षित कार्यक्रमहरु सञ्चालन गरेको एमआरआर पोखराले बताएको छ । कार्यक्रम संयोजक समेत रहेका तिमिल्सिनाले सबैको सहयोगबाट पोखरामा फेरि सामाजिक कार्य गर्न सम्भव भएको बताए । उनले सहयोगी सबैलाई आभार व्यक्त गर्दै यो कार्यमा खटिने पोखरा स्थित एमआरआर मेम्बरहरु पनि धन्यवादको पात्र भएको बताए । एमआरआर कतारबाट १० हजार रुपैयाँ, एआरआर कोरियाबाट छ हजार पाँच सय, हिमचन्द्र ट्रष्टबाट पाँच हजार, जर्मनीमा रहेका नलिना र प्रकाश पौडेलबाट पाँच हजार, डब्लुआरआर मार्फत पारु गुरुङले ८ हजार दुई सय ५० लगायतबाट करिब ३५ हजार रुपैयाँ संकलन भएको तिमिल्सिनाले बताए । एमआरआर पोखरामा ४० बढी सक्रिय युवाहरु रहेका छन् । पोखराका विभिन्न सार्वजनिक स्थलमा सरसफाई कार्यक्रममा जुट्ने अर्का मेम्बर सविन न्यौपानेले जानकारी दिए । एमआरआर पोखराले यसअघि ‘तान भाई तान आत्मनिर्भरताको शान’ भन्ने मूल नाराका साथ नेपाली पहिचान झल्कने ढाका टोपी र गोल्डस्टार जुत्तामा सहभागि हुँदै नाकाबन्दीको विरोधमा डोरीले गाडी तान्ने, बन्द विरुद्ध अब युवाहरु जाग्नुपर्छ भन्दै बन्द विरुद्धको ¥याली, पोखराका विभिन्न स्थानमा सरसफाई, शान्ति सद्भाव ¥याली आयोजना गरिसकेको छ । समूहमा रहेका विभिन्न ठाउँका युवाहरु एकीकृत भई सामाजिक कार्यहरु गर्दै आएका छन् ।







Post a Comment

 
Top