0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका पोलिटब्युरो सदस्य रघुजी पन्तले एमाले नेतृत्वको सरकार पुनःगठन गर्नुपर्ने बताएका छन् । ‘सरकार बनेको ६ महिना भइसकेको छ, यसको पर्नुगठन गर्न आवश्यक देखिएको छ,’ उनले भने,–‘क्षमता, दक्षता देखाउन नसक्ने र परिणाममुखी काम नगर्ने मन्त्रीलाई हटाएर सरकारलाई पुर्नगठन गरेर प्रभावकारी बनाउनु पर्छ ।’ प्रेस चौतारी कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रीहरुको कार्य मुल्यांकन गरेर जनताको चाहना अनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर सरकारको पुर्नगठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । एमालेकै मन्त्रीहरुले पनि राम्रो काम गर्न नसकेको भए हटाउनु पर्छ,’ उनले भने,–‘संयुक्त सरकारले भएकाले अन्य दलहरुसँग छलफल गरेर सरकारलाई पुर्नगठन गर्नुपर्छ र कांग्रेसलाई पनि सरकार सहभागी गराउनेतर्फ पहल थालिनु पर्छ ।’ उनले एकीकृत नेकपा माओवादीका नेताले सम्हालेका मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ । ‘गृह, आपूर्ति, शिक्षा र कृषि मन्त्रालयले प्रभावकारी काम गर्न सकेको छैन,’ पन्तले भने,–‘जसले गर्दा सरकारले नै काम नगरेको जस्तो भएको छ, यस बारेमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि गम्भीर रुपमा लिनुपर्दछ ।’ अर्कालाई दोष लगाएर प्रधानमन्त्री ओली पन्छिन नमिल्ने भएकोले सरकारका सहभागी दलसँग छलफल गरेर सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनेतर्फ प्रधानमन्त्रीले ठोस कदम चाल्नु पर्ने भनाइ उनको छ । पूर्व मन्त्री समेत रहेका पन्तले संविधान नाममा विदेश हस्तक्षेप बढाउने षड्यन्त्र भइरहेको बताएँदै उनले सरकारलाई अझ बलियो बनाउनका लागि कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताए । राष्ट्रियताको सवालमा सरकार अडिक रहेकोले पनि यसलाई असफल पार्ने प्रयास भइरहेको उनले बताए । ‘भारतीय प्रभावमा नेपाललाई पारेर जातीय द्वन्द्ध फैलाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने,–‘भारतीयको इसारमा मधेसीवादी दल र युरोपियन युनियनको उक्साहटमा जनजातिलाई उचाल्ने काम भइरहेको छ, यसप्रति सबै नेपाली सचेत हुन जरुरी छ । ‘भद्र सहमति अनुसार कांग्रेस सरकारमा सहभागी हुनुपर्छ,’ उनले भने,–‘एमालेको नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएमा, चुनावको बेला कांग्रेस नेतृत्वको सरकारलाई स्वीकार गर्न सकिन्छ, नत्र सरकार गठनको बेलामा कांग्रेस र एमाले एकै ठाउँमा उभिने सम्भावना रहँदैन ।’ संविधान निर्माणपछि नेपाललाई शक्ति केन्द्रको प्रभाव विस्तार गर्ने अखडा बनाउन खोजिएको उनले दाबी गरे । संविधानको नाममा कसैले गरेको हस्तक्षेप स्वीकार गर्न नसकिने बताए । अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन भएकोले संविधान जारी गर्दा एकै ठाउँमा उभिएका मुख्य तीनको सहकार्य अझै ५ वर्ष आवश्यक भएको भनाइ उनको छ । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष राजाराम पौडेल र सञ्चालन अर्जुन गिरीले गरेका थिए । कांग्रेस यही सरकार आउनुपर्छ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रघुजी पन्तले बाह्य शक्ति केन्द्रको उक्साहटमा मधेसी दलले आन्दोलन गरेर फेरि नेपाली जनतालाई दुःख दिन खोजेको बताएका छन् । नेकपा एमाले पोखरा २४ कृस्तिनाच्ने चौरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गलत कुराको पछाडि लागेर राष्ट्र र जनतालाई अप्ठ्यारोमा नपार्न सबैसँग आग्रह गरे । देशलाई राजनीतिक स्थायित्व दिन र संविधान कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउन नेपाली काँग्रेस पनि अहिलेकै सरकारमा आउनुपर्नेमा जोड दिँदै उनले अर्को आमनिर्वाचन पछि बन्ने सरकारमा एमालेले काँग्रेस नेतृत्वको सरकारमा गएर सहयोग गर्नसक्ने धारणा राखे । दीपकप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो समारोहमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र श्रीनाथ बरालले पनि बोलेका थिए ।


Post a Comment

 
Top