0
सरकार परिवर्तन गर्नेजस्तो बिषयमा पार्टी्भित्र छलफलनै नगरी एकतर्फी अघि बढेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले सभापति शेरवहादुर देउवाको आलोचना गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सभापतिको प्रस्तावलाई अपरिपक्क निर्णय भन्दै उनीहरुले यसबाट पार्टीलाई क्षति पुगेको बताएका हुन । नेता प्रकाशमान सिंहे नेतृत्वमा गएको पौडेलपक्षधर टोलीले शुक्रबार सभापति देउवालाई निवासमै भेटेर पार्टीलाई संस्थागत रुपमा अघि बढाउन ध्यानआकर्षण गराए । पौडेल भने अमेरिकामा छन् । सरकार परिवर्तन गर्ने खेलका कारण पार्टीको छवि विग्रिएको धारणा आफूहरुले राखेको टोलीमा सहभागि केन्द्रीय सदस्य बलवहादुर केसीले बताए । ‘यो घट्नाले कांग्रेसको छवि पनि विग्रेको छ, तपाईको झनै विग्रेको छ । यस्तो अपरिपक्क निर्णयले कांग्रेसको साँख गयो भनेर हामीले भन्यौ’ केसीले भने,–‘तत्कालिन सभापति सुशील कोइरालाले निर्णय गर्दा जस्तो गरे पनि अहिलेको सभापति देउवासँग परामर्श नगरी गर्न हुन्नथ्यो । तर, अहिले एक्लै अघि बढ्ने काम भईरहेको छ ।’
सभापति देउवासँग भेट्नु अघि बिहीबार पौडेल पक्षधर सदस्यहरुको भेला नेता सिंहको निवासमा भएको थियो । भेलाले सभापति देउवाको सरकार परिवर्तन गर्ने कदमलाई अपरिपक्क निर्णय ठहर गरेका थिए । जवाफमा देउवाले एमाओवादीभित्र पनि केपी ओलीको विकल्प खोज्न थालिएपछि सरकार परिवर्तनका लागि पहल भएको बताएका थिए । उनले कांग्रेस नेतृत्वमा सरकारको विकल्प खोज्ने पहल भएपनि एमाओवादीले नै पहिलो चरणमा आफूहरु र दोस्रो चरणमा कांग्रेसलाई दिन तयार भएपछि त्यही ढंगले अघि बढेको बताए । स्रोतका अनुसार देउवाले सूरुमा सरकार परिवर्तनका लागि तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौला र पछिल्लो चरणमा नेता विमलेन्द्र निधि मार्फत एमाओवादी सँग छलफल भएको बताएका थिए । ‘पहिला एमाले नेतृत्वलाई अघि बढ्न दिन हुन्न भनेर एमाओवादीले सरकार परिवर्तनको प्रस्ताव ल्यायो’ देउवाको भनाई उत्दृत गर्दै नेता केसीले भने, ‘त्यसपछि एउटा समझदारी गरेर अघि बढै भन्ने भएको हो । तर, के कारणले हो एमाओवादी पछि हट्यो ।’ त्यसक्रममा देउवाले पार्टी्भित्र छलफल गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेता सिंहको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सस्यहरु केसी, महेश आचार्य, दिलेन्द्र बडु, आनन्द ढुंगाना, मिनेन्द्र रिजाल देउवा निवास पुगेका थिए । उनीहरु सवैले सरकारप्रति आशक्ति हुनुभन्दा एजेण्डामा प्रतिपक्षको भूमिका सशक्त बनाउन र संगठनलाई चुस्ता बनाउन सुझाव दिएका थिए । देउवा निकट नेता विमलेन्द्र निधिले भने कांग्रेसले कुनै अपरिपक्क निर्णय नगरेको बताउँदै सत्तारुढ घटक नै सरकारबाट अलग्गिएर विकल्प खोज्न लागेका बेला कांग्रेसले सहयोग गरेको मात्रै बताए । ‘यो सरकारको विकल्प लिएर एमाओवादी अध्यक्ष प्रचण्ड आफैले कांग्रेससँग प्रस्ताव राखेका हुन । सत्तारुढ घटक नै सरकारको विकल्प खोज्न लागेको बेला कांग्रेसले समर्थन गर्नु प्रतिपक्षको भूमिकानै हो’ निधिले भने,‘सरकार परिवर्तन गर्नुपर्छ भन्ने बिषयमा परामर्श भएको छ ।’ उनले अमेरिका जानुअघि मधेसी मोर्चासँगको वार्तामा पौडेल र अर्का नेता आचार्यको उपस्थिती रहेको र त्यसैमा सरकार परिवर्तनको बिषय उठाइएको प्रशङ्ग उल्लेख गर्दै भने, ‘पछि संसदीय दलको बैठकमा पनि सवैजसोले सरकारको विकल्प खोज्न आग्रह गरेकै हो । सवैलाई थाह भएको बिषयमा छलफलनै नभई अघि बढ्यो भन्ने गलत हो ।’

Post a Comment

 
Top