0
बुद्ध जयन्तीको अवसरमा सिद्धार्थ स्मृति क्लव रुपाकोटले आयोजना गरेको मोहरिया मेला–२०७३ एवं भलिबल प्रतियोगिता को तयारी तीव्र पारिएको छ । जेठ ८ गतेदेखि रुपाकोट–९ स्थित मोहरियामा हुने सो मेलामा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम छ । वृृद्धवृद्धा, पत्रकार, उच्च शिक्षा हासिल गरेका व्यक्ति, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको क्लवले जनाएको छ । मेलामा तीन लाख रुपैयाँ आम्दानी र २ लाख २० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । मेलाबाट बचेको रकम स्थानीय बालबालिका को शिक्षाका लागि खर्च गरिने बताइएको छ । वि.सं. २०५६ सालमा स्थापित क्लवले रक्तदान, सरसफाई, पर्यटन र खेल पर्यटन प्रवद्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । मेलामा लोपोन्मुख घाटु नाच, सोरठी लगायतका साँस्कृतिका कार्यक्रमहरु प्रस्तुत गरिने क्लवका अध्यक्ष जीत बहादुर थापाले जानकारी दिए । ‘खेलकुदद्धारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्धारा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित मेला तीन दिन सम्म चल्ने छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला संयोजक जितबहादुर थापाले जानकारी दिए । साथै उत्कृष्ट सटर, लिफ्टर, खेलाडी र अनुशाशित समुहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । मेलामा सहभागी हुने पाहुनाहरुको लागि होमस्टेको व्यवस्था समेत गरिएको क्लव सदस्य गुमान गुरुङले बताए ।  २५६० औं बुद्ध जयन्तीको अवसरमा कास्कीको रुपाकोट गाविस स्थित मोहरियामा मेला तथा प्रतियोगिता भएको हो । मेलाले खेलकुदको विकास, लोपोन्मुख नृत्यको प्रवद्धन, पर्यटकीय स्थलका साथै  रोयल ट्रेकिङ रुटको प्रचारप्रसार गर्ने कार्यक्रम संयोजक झलक कुमार गुरुङले बताए । एचसीथ्रीको साझेदारीमा रुपाकोट गाविस, कौशिला आमा समूह, मोहरिया सामुदायिक वन उपभोक्ता समुह, सिद्धार्थ तमु समाजको सहयोग र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा सो मेला हुन लागेको हो ।








Post a Comment

 
Top