0
कमल खत्री
म्याग्दीको उत्तरी दाना गाविस हिमाल पारिको जिल्ला मुस्ताङसँग सिमाना जोडिएको छ । विभिन्न प्राकृतिक सम्पदाले भरिपूर्ण दाना पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्य स्थल मानिन्छ । अग्लो छाँगोबाट खसिरहने रुपैला ‘रुप्से झरना’, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलाबाट मापन गरिएको संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ ले विश्वभर प्रख्यात छ, दाना । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्डले समेटिएको दाना रुप्से झरना र अन्धगल्छीको नामसँगै अहिले पूर्ण सरसफाइयुक्त गाविसको पहिचानले चर्चा बटुलेको छ । विसं २०६७ साउन ३० गते जिल्लाको दोस्रो खुला दिसामुक्त गाविस घोषणा भएको दाना तीन वर्ष अगाडि नेपालकै पहिलो पूर्ण सरसफाइयुक्त तथा आनीबानी परिवर्तन भएको गाविस घोषित भएको थियो । 
गाउँस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, गाउँ विकास समिति, जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको सहयोगमा सञ्चालन गरिएको अभियानबाट सरसफाइका सबै सूचक पूरा गरेपछि दाना जिल्लाको मात्रै नभई नेपालकै पहिलो पूर्णसरसफाइयुक्त गाविस बनेर आफ्नो पहिचान उँचो बनाएको छ । पहिले पर्यटकीय गन्तव्यको भम्रणका निम्ति पर्यटक दाना पुग्ने गर्थे । अहिले भम्रणसँगै नेपालकै पहिलो पूर्ण सरसफाइयुक्त गाविसको सरसफाइको अवस्थाको अवलोकन र अध्ययनका लागि मुलुकका विभिन्न स्थानबाट आगन्तुक आउने क्रम बढेको छ । “दानाको सरसफाइको अवस्थाबारे मुलुकका विभिन्न जिल्ला, गाविस र नगरपालिकाबाट सामूहिक रुपमा अवलोकनका लागि आउन थालेका छन्,”–गाविस सचिव दयाराम पौडेलले भने । 
पूर्ण सरसफाइले दानामा पर्यटनको विकासमा समेत टेवा पु¥याएको छ । यस गाविसभित्र रहेका सबै घरमा पक्की शौचालय निर्माण र प्रयोग तथा शुद्ध खानेपानीको पहुँच पुगेको छ । यसका साथै व्यक्तिगत र घरायसी सरसफाइजस्ता पूर्ण सरसफाइका सबै सूचक व्यावहारिक रुपमै कार्यान्वयनमा ल्याइएको छ । सरसफाइका सबै मापदण्ड पूरा गरेकै कारण अहिले दानाको सरसफाइको अवस्थाबारे अवलोकनका लागि आउने दङ्ग परेर फर्कने गरेका छन् । ग्रामीण बस्तीमा फोहर व्यवस्थापन गरेपछि दानाको वातावरण स्वच्छ र सफा देख्न सकिन्छ । चिटिक्क परेको यहाँको बस्तीले जो कसैलाई प्रभावित तुल्याउने गरेको छ । 
गाविसभित्र रहेका ४६० घर सबैमा पक्की शौचालय बनेका छन् भने विभिन्न स्थानमा पाँच वटा सार्वजनिक शौचालयसमेत निर्माण भएको छ । “पहिले घरघरमा शौचालय चाहिन्छ भन्ने थाहा थिएन, खुला दिसामुक्त अभियान सञ्चालन भएपछि घरघरमा पक्की शौचालय बनायौँ, अहिले नियमितरुपमा गाउँलाई सफा राख्न सरसफाइ गर्छांै”,–दाना–४ बजारकी कृष्णकुमारी नेपालीले भने । खुला दिसामुक्त हुँदै पूर्ण सरसफाइयुक्त गाविस बनेपछि अहिले गाउँमा व्यक्तिगत, घरायसी र सार्वजनिक स्थलको सरसफाइसँगै फोहर व्यवस्थापन हुन थालेको छ । “कुहिने फोहरबाट मल बनाउँछौँ र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गर्छौं,” नेपालीले थपे । सरसफाइसँगै फोहरको व्यवस्थित विर्सजन गर्न थालिएपछि मानव स्वास्थ्य र वातावरणीय सरसफाइमा समेत ठूलो टेवा पुगेको छ । दाना उपस्वास्थ्य चौकीका अनुसार, पहिलेको तुलनामा अहिले बालबालिकामा फोहरजन्य रोगको सङ्क्रमण धेरै घटेको छ । गाउँलाई सफा सुग्घर राख्न अहिले सिङ्गो दानावासी नै लागिपरेका छन् । सबै टोल र बस्तीलाई सफा राख्न हरेक हप्ताको शनिबार गाउँमा झारा लगाउने गरिएको स्थानीय कुलबहादुर पुर्जाले बताए ।
“सबै वडा र टोलमा सरसफाइ अनुगमन उपसमितिको टोली छन्, सरसफाइमा सहभागी नहुनेलाई जरिवानासमेत तोकिएको छ, यसले सरसफाइलाई नियमित गराउन नैतिक दबाबसमेत दिएको छ,” पुर्जाले थपे । अहिले यहाँका बालबालिका देखि वृद्धवृद्धासमेत सरसफाइमा सचेत छन् । पहिले त न घरघरमा शौचालय थियो, नत गाउँ नै सफा । साबुन पानीले हात धुनुपर्छ भन्ने ज्ञानसमेत थिएन । “अहिले आफ्नो मात्रै होइन सिङ्गो गाउँको सरसफाइले गाउँको मुहार नै फेरिएको छ,” दाना–६ डाँडागाउँकी ७० वर्षीया वृद्धा पुष्टिमायाँ विकले आफ्नो अनुभव सुनाए । 
दलित समुदायको बाहुल्यता रहेको डाँडागाउँमा सरसफाइले ठूलो परिवर्तन ल्याएको छ । सरसफाइसँगै आफ्नो स्वास्थ्यप्रति समेत अहिले स्थानीय सचेत बनेका छन् । अहिले स्थानीय जनतामा आएको जागरणले गर्दा नै दाना र जिल्लाको पहिचान उँचो भएको छ । बाटोमा कागज, प्लास्टिक लगायतका फोहर देखिँदैन । गाउँको सरसफाइको लागि हरेक टोल र बाटोमा फोहर राख्ने टोकरीको व्यवस्था गरिएको छ । यसले सार्वजनिक स्थलमा हुने फोहर नियन्त्रण भएको देख्न सकिन्छ । सरसफाइमा दानाले गरेका पहल र प्रयास प्रशंसनीय छ । यसलाई अन्य गाविसमा समेत कार्यान्वयन गराउन सकिए म्याग्दीलाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियानले सार्थकता पाउनेछ । रासस

Post a Comment

 
Top