0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको सभापतिमा निर्वा्चित भएको दुई महिना बितिसक्दा पनि शेरबहादुर देउवाले पार्टी विधान अनुसार गर्नुपर्ने महत्वपूर्ण नियुक्ति गर्न सकिरहेका छैनन्। जसका कारण विधान बमोजिम पार्टीभित्र गर्नुपर्ने मनोनयन र विभाग गठन गर्न नसकेको भन्दै तत्कालीन सभापति सुशील कोइरालालाई लगाउँदै आएको आरोपबाट अहिले देउवा स्वयं मुक्त हुन सकेनन्। पार्टी विधानको दफा ४९ को उपदफा १९ अनुसार सबै तहमा गठन गर्ने भनिएका विभाग÷समिति÷विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिसक्नुपर्ने प्रावधान रहेको छ। अर्थात् चैत ३ गते पार्टीको नेतृत्व विधिवत रुपमा नेतृत्व सम्हालेका सभापति देउवाले पार्टी उपसभापति, महामन्त्री, सह–महामन्त्रीसहित १४ जना केन्द्रीय सदस्य तथा २९ विभिन्न विभागहरू गठन जेठ ३ गतेअगावै गरिसक्नुपर्ने थियो। त्यसका साथै पदाधिकारीमा मनोनित नेताहरूको नाम सोही समय सीमाभित्र कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन गरिसक्नुपर्ने थियो। सभापतिमा निर्वाचित भएलगत्तै कांग्रेस कार्यकर्तामा एउटा कौतहलता थियो–कि सभापतिले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा कसलाई मनोनित गर्छन् ? तर देउवाको ध्यान पार्टी पदाधिकारी भन्दा पनि तत्काल संसदीय दलको नेता पदमा केन्द्रित थियो। त्यही भएर पार्टी अधिवेशन सकिएको एक महिनाभित्र संसदीय दलको नेता पनि निर्र्वािचत भए। संसदीय दलको नेता र कार्यसमितिको निर्वाचनलगत्तै वैशाखको पहिलो साता उनी पारिवारिक स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गए। दिल्लीबाट फर्किएपछि पनि उनी संसदको अधिवेशनमा व्यस्त रहनुका साथै पार्टी नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला देशबाहिर रहेको कारण पनि उनीहरुसँगको परामर्शका लागि मनोनयन प्रक्रियामा केही ढिलाई भएको कांग्रेस नेताहरू बताउँछन्।
 तर वास्तवमा पदाधिकारी मनोनयनदेखि विभाग गठनमा देउवाको बिलम्ब आफ्नै समूहभित्र देखिएका आकांक्षीहरूको सुरक्षित व्यवस्थापन कसरी गर्ने र पार्टी्भित्र आफ्नो पक्षको एकता कसरी कायम गर्ने भन्ने ठूलो चुनौतीका कारण हो। विधान अनुसार मनोनित गर्नुपर्ने पदाधिकारीको पद तीन भए पनि त्यसको अपेक्षा गर्ने नेताहरू धेरै भएकाले उनीहरूको चित्त कसरी बुझाउने भन्ने समस्याले देउवालाई पिरोलेको छ। पार्टी उपसभापति पदका लागि कांग्रेसमा विमलेन्द्र निधि र खुमबहादुर खड्का प्रमुख आकांक्षी देखिएका छन्।
 सभापति देउवा नेता निधिलाई नै उपसभापतिको जिम्मेवारी दिन चाहन्छन्। ताकि भोलिका दिनमा पार्टी्भित्र आफ्नो पक्ष सांगठनिक रुपमा स्थापित हुन सकोस्। तर उनको यो चाहनामा भ्रष्टाचार अभियोगमा जेल सजाय पाएर पनि कार्यकर्तामाझ बलियो पकड राखेका खड्का बाधक देखिएका छन्।  पार्टीको १३ औं महाधिवेशनमा देउवालाई समर्थन गरेर उनको विजय सहज बनाइदिएको खड्का पक्षको दाबी छ। १२ औं महाधिवेशनमा लिखित रुपमा सम्झौता गरेर सभापतिमा सघाए पनि परिणाम हात नलागेपछि सह–महामन्त्रीमा देउवाले खड्काको सिफारिसमा पूर्णबहादुर खड्कालाई मनोनित गराएका थिए।
तर अहिले कुनै लिखित सझौताबिना देउवालाई समर्थन गरेका खुमबहादुरलाई उपसभापति नबनाए पार्टी्भित्र असहयोग गर्न सक्ने भनाइ आफूनिकट नेतामार्फत खड्काले देउवालाई दिँदै आएका छन्।  खड्कालाई उपसभापति बनाउँदा निधिदेखि आफ्नो पक्षमा विगतदेखि उभिँदै आएका नेता र कार्यकर्ता रुष्ट हुने, अर्को संविधानको धारा ८७ को विपरीत जेलसजाय पाएको व्यक्तिलाई पदाधिकारी बनाएको आरोपमा देउवा र सिंगो पार्टी नै विवादमा पर्ने खतरा रहेको छ।  यी सबै कुरालाई ध्यानमा राख्दै देउवा निधिलाई नै उपसभापतिमा मनोनित गर्ने आन्तरिक तयारीमा रहेको स्रोतको दाबी छ।
 यसबाट उत्पन्न हुनसक्ने असन्तुष्टिलाई साम्य पार्न खड्कालाई देउवाले संसदीय बोर्ड सदस्यमा मनोनित गर्ने तयार रहेको सन्देश पठाइरहेका छन्। यदि यसबाट पनि खड्काको चित्त नबुझ्ने अवस्था देखिएमा देउवाले खड्का निकट केन्द्रीय सदस्य पुष्पा भूसाललाई सह–महामन्त्रीमा मनोनित गर्नसक्ने सम्भावना बढ्दै गएको देउवा निकट नेताहरू बताउँछन्। पार्टीभित्र अर्को महत्वपूर्ण मनोनित पद भनेको महामन्त्री हो। जुन पदका लागि देउवा पक्षभित्रैका नेताहरू गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र बालकृष्ण खाँणले आन्तरिक कसरत गरिरहेका छन्।
अर्कोतर्फ पार्टी अधिवेशनमा पौडेलको पक्षमा रहेपनि पछिल्लो समय सत्ता परिवर्तनको खेलमा देउवालाई सघाएका शेखर कोइराला पनि महामन्त्रीको आकांक्षीका रुपमा देखिएका छन्। तर निर्वा्चित र मनोनित दुबै महामन्त्री कोइराला परिवारबाटै गर्ने कुरामा देउवालाई सहज छैन।  देउवाको चाहना आफ्नै पक्षका नेताहरूमध्येबाट कुनै एकलाई महामन्त्री बनाउने रहेको छ। तर आकांक्षीहरूकै व्यक्तिगत कमी कमजोरीका कारण देउवाले उपसभापतिमा निधिलाई छाने जसरी सहजै कुनै नेताको नाम लिन सकिरहेका छैनन्।
 उता पूर्णबहादुर खड्का पनि महामन्त्री बन्न खुमबहादुर खड्कादेखि कृष्णप्रसाद सिटौला सम्मको सहयोग र समर्थन खोजिरहेका छन्। संविधान निर्माणपश्चात प्रधानमन्त्रीको निर्वाचनमा सुशील कोइरालाको उम्मेदवारीप्रति असहमति जनाउदै सह–महामन्त्री पदबाट खड्काले राजीनामा दिएका थिए।  महाधिवेशनमा आफ्नै समूहमा क्रियाशिल भएर लागे पनि महाविधेशनको मुखमा कुनै सल्लाहबिना सह–महामन्त्रीबाट राजीनामा दिएर धोका दिएको भन्दै पूर्णबहादुरसँग देउवा सन्तुष्ट नरहेको देउवा निकट स्रोतको दाबी छ।
उता अघिल्लो कार्यकालमा सभापति कोइरालाले देउवा पक्षको सिफारिसमा पूर्णबहादुरलाई सह–महामन्त्री बनाएकै नजिरका आधारमा नेता पौडेल पक्षले तीन पदाधिकारीमध्ये एक अर्थात् कम्तीमा सह–महामन्त्रीमा आफ्नो हिस्सा खोजिरहेको छ। तर देउवा पक्षले भने पदाधिकारीमा बहुमत कायम राख्न पनि उपसभापति, महामन्त्री र सह–महामन्त्रीमा अर्को पक्षलाई दिनु नहुने धारणा बनाउँदै बरु महामन्त्रीकै आकांक्षीबाट महत वा खाँणमध्ये एकलाई सह–महामन्त्री बनाउन दबाब बढ्दै गएको छ।   निधिलाई उपसभापति मनोनित गर्दा खुमबहादुर खड्का उक्त प्रस्तावको विपक्षमा केन्द्रीय समितिमा उभिन सक्ने चिन्ता देउवालाई रहेको छ।
 त्यस अवस्थामा खडकालाई संसदीय बोर्ड सदस्यका रुपमा देउवाले मनोनित गरी मिलाउन चाहन्छन्। यदि यसका लागि खड्का तयार भएनन् र पौडेल पक्षका सदस्यहरूले पनि विपक्षमा उभिए भने देउवालाई आफ्नो प्रस्ताव पारित गर्न कठिनाइ हुने एक नेताले बताए।  तर खड्कालाई पदाधिकारी नबनाउने विषयमा कतिपय पौडेल पक्षकै सदस्यहरूको पनि साथ देउवाले पाउने सक्ने देउवा पक्षका नेताहरुको दाबी रहेको छ।
 केन्द्रीय समितिमा देउवाको स्थिति के छ ?
तीन पदाधिकारीसहित निर्वाचित ६४ सदस्यमा देउवाको पक्षमा उनीबाहेक ३५ जना सदस्य रहेका छन्। जसमा खड्काको पक्षधर भनि चिनिएका शंकर भण्डारी, पुष्पा भूसाल र देवेन्द्रराज कँडेलका अतिरिक्त फरक पहिचान भएका कूलबहादुर गुरुङ पनि रहेका छन्। पौडेल पक्षसँगै खड्काको पक्षमा रहेका भण्डारी र भूसाल पनि विपक्षमा उभिए भने देउवाका लागि आफ्नो प्रस्ताव अनुमोदन गराउन कठिनाइ हुने केही नेताहरूको दाबी रहेको छ।  त्यस अवस्थामा देउवाले अर्को पक्षलाई मनाउन पदाधिकारीमध्ये सह–महामन्त्रीमा महेश आचार्यलाई मनोनित गर्न देउवा पक्ष सकारात्मक छ। तर आचार्य भने यसका लागि तयार नभएको मात्रै होइन, पौडेल पक्षभित्रैका आनन्दप्रासद ढुंगाना, दिलेन्द्रप्रसाद बडु सह–महामन्त्री पदको आकांक्षी रुपमा देखिएका छन्। देउवाको प्राथमिकता पदाधिकारीमा भन्दा संसदीय दलको मनोनयनमा यी सबै चुनौतीको व्यवस्थापन गर्न पछिल्लो समय सभापति देउवाले पार्टी पदाधिकारी र विभाग गठनभन्दा संसदीय दलमा उपनेता, मुख्य सचेतक, सचेतक, सचिव र कार्यसमिति सदस्यको नियुक्तिलाई प्राथमिकता दिएका छन्। देउवा निशट स्रोतका अनुसार, नेता पौडलको स्वदेश फिर्तीलगत्तै पौडेल र महामन्त्री कोइरालासँग परामर्श गरी संसदीय कार्यसमिति लाई पूर्णता दिने तयारी रहेको छ। जसअनुसार दलको उपनेतामा पार्टी नेता गोपालमान श्रेष्ठ मनोनित हुने सम्भावना बढिरहेको छ।
 त्यसैगरी, वर्तमान मुख्य सचेतक चीनकाजी श्रेष्ठको कार्यशैलीका कारण उनले सहज रुपमा मार्ग खोलीदिए रमेश लेखकलाई नियुक्त गर्नुपर्ने दबाब सांसदहरुले नै दिँदै आएका छन्। सचिवका लागि भने मनोनित नौ जना सदस्यमध्येबाट गर्न सक्ने एक नेताले बताए।







Post a Comment

 
Top