0
ट्राफिक नियम उल्लंघन गर्नेलाई निरूत्साहित र सवारी साधन दुर्घटना न्युनिकरण गर्न ल्याइएको नयाँ ट्राफिक नियम कास्कीमा कडाइका साथ लागू भएको छ । गल्ती गर्दा २५ देखि १ हजार रुपैयाँसम्म जरिवाना तिरे छुट्कारा पाउने चालकले शनिबारयता भने ५ सयदेखि १५ सय रूपैयाँ तिनुपर्ने नियम आएको छ । नयाँ नियम लागु भएयता पोखरामा २ सय ७ जना चालक कार्बाहीमा परेकाछन् । पहिलो दिननै ४० चालक कार्बाहीमा परे भने दोस्रो दिन १ सय ६९ चालक प्रहरी फन्दामा परे । ‘शनिबारदेखि नै नयाँ ट्राफिक नियमअनुसार कार्बाही थालेका हौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सहायक प्रहरी निरीक्षक शिव थापाले भने,–‘धेरैलाई नयाँ नियमका विषयमा जानकारी नै छैन । झगडा गर्न खोज्नेलाई सम्झाएर पठाएका छौं ।’
कार्बाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन्। आइतबारमात्र ७५ मोटरसाइकल, ३२ जिप तथा कार, ३४ बस, १८ ट्रक र ८ ट्याक्टर कार्बाहीमा परेका हुन् । गाडी चलाउँदा गल्ती गरेर १ हजार ५ सय बुझाउने ४, ५ जना छन् भने सबैभन्दा बढी ५ सय रूपैयाँ बुझाउने छन् । नयाँ ट्राफिक नियमअनुसार गरिएको कार्बाहीबाट २ लाख २५ हजार रूपैयाँभन्दा बढी राजस्व उठेको छ । पहिलो दिन २८ हजार र दोस्रो दिन ९५ हजार रूपैयाँ राजस्व उठेको हो । यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै जरिवानामा २० प्रतिशतसम्म बढाइएको थियो । दिनहुँ बढ्दै गएको सवारी नियम उल्लंघनका घटना न्युनिकरण गर्ननयाँ नियम ल्याइएको ट्राफिक प्रहरीले बताएको छ । सामान्यतया पहिलोपटक ट्राफिक नियम उल्लंघन गर्नेलाई ५००, दोस्रो पटक समाते १ हजार र तेस्रोपटक समातेमा रु १ हजार ५०० सम्म शुल्क लिने गरिएको थापाले बताए । गल्तीको प्रकृति हेरेर पहिलो पटक नै ५ सय देखि १५ सय रूपैयाँसम्म पनि कारबाही हुनसक्ने थापाले बताए ।
कस्तो गल्तिमा कति जरिवाना ?
नयाँ ट्राफिक नियम अनुसार गल्तीको प्रकृति र अवस्था हेरेर जरिवाना गरिन्छ । ट्राफिक संकेत उल्लंघन, सवारी निषेध गरेको ठाउँमा पार्किङ, ध्वनि निषेध ठाउँमा बजाउनु, गलत ठाउँमा सवारी रोक्नु, अवस्था ठिक नभएको सवारी साधन चलाउनु, तीव्रगतिमा चलाउनु, राति बत्ती नबाली सवारी चलाउनु, नम्बर प्लेट नराखी चलाउनु तथा पेटी नबाँधी चलाउनेलाई बढी शुल्क लिने बताएको छ । तोकिएकोभन्दा बढी सामान बोक्ने, सवारी साधनको अन्य ठाउँमा मानिस तथा मालसामान राख्ने, प्रयोजन विपरीत गाडी चालाउने, हेल्मेट नलगाउने, सवारी आवागमनमा बाधा पु¥याउने, छतमा यात्रु तथा बढी सामान राख्नेलाई ५ सय जरिवाना तोकिएको छ । 
लाइसेन्स नै नभएको व्यक्तिले सवारी साधन चलाउने, सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखे, दुर्घटनामा परेका सवारी तथा यात्रीको हानि नोक्सानी पु¥याएको वा सम्पर्कमा नआएको, मादक पदार्थ सेवन चलाएको र सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चालकले १ हजार रुपैयाँ तिर्नुपर्ने नयाँ ट्राफिक नियममा उल्लेख छ । ट्राफिक संकेत वा इसारा नमान्ने, नो पार्किङमा गाडी अड्याउने, हर्न बजाउन निषेध क्षेत्रमा हर्न बजाउने, गलत साइडमा गाडी चलाउने, तीव्र गतिमा चलाउने, राति बिना लाइट चलाउने, नम्बर प्लेट नराख्ने, यात्रु बस्ने ठाउँमा सामान राख्ने, हेल्मेट तथा बेल्ट नबाँधी चलाउने, बढी भाडा लिने, बिना कागजात गाडी चलाउने लगायतलाई १५ सय रुपैयाँ जरिवाना तोकिएको छ । (एजेन्सी)













Post a Comment

 
Top