0
गोल्डेन न्यूज संवाददाता
आफ्नै नेतृत्वमा सरकार गठन गर्न अपिल गरेको चौबीस घण्टा नबित्दै एमाओवादी अध्यक्ष प्रचण्ड यूटर्न भएका छन् । नयाँ सरकारबारे छलफल गर्न लाजिम्पाट पुगेको कांग्रेस नेताको टोलि बिहीबार बिहान ‘प्रचण्डले धोका दिए’ भन्दै फिर्ता भएको छ । प्रचण्डसँग छलफल गर्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीका सदस्य विमलेन्द्र निधिले बाहिर निस्किएर फोन गर्दै भने, ‘हामीलाई प्रचण्डले धोका दिए ।’
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच गोप्य समझदारी भएपछि प्रचण्डले कांग्रेस नेताहरुलाई जिल्ल पारेका हुन् । स्रोतका अनुसार सरकारलाई नीति तथा कार्यक्रम ल्याउन दिने र स्थानीय चुनावसम्म एमाले–एमाओवादी सहकार्य गरेर अघि बढ्ने प्रचण्डले एमाले नेतालाई बचन दिएका छन् । आफ्नो पूर्वअडानबाट प्रचण्ड पछि हटेपछि ओली सरकारमाथि आइलागेको संकट तत्कालका लागि टरेको छ । तर, यो प्रकरणपछि एमाओवादी सार्बजनिकरुपमा आलोचित बनेको छ भने पार्टी भित्र पनि अन्तरविरोध चर्किएको छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव नभएको जानकारी कांग्रेसलाई दिएका थिए । लाजिम्पाटस्थित निवासमा नयाँ सरकार गठनबारे छलफल गर्न पुगेका कांग्रेस सभापति देउवासहितका नेतालाई नेतालाई दाहालले ‘साथीहरूलाई मनाउन नसकिएको’ र नयाँ सरकार गठनको ‘नियमावलीमा समस्या देखिएको’ भन्दै आफ्नो नेतृत्वमा तत्काल नयाँ सरकार गठन गर्न नसकिने बताएको बैठकमा उपस्थित कांग्रेसका एक नेताले बताए। एमाओवादी अध्यक्ष दाहाललाई उद्धृत गर्दै उनले भने, –‘मैले साथीहरूलाई मनाउन सकिनँ, प्रस्तावका लागि तपाईंहरूलाई धन्यवाद, मेरो नेतृत्वमा अहिले सरकार बनाउन सकिएन।’ संसदको नियमावलीमा गम्भीर त्रुटि रहेकोले अविश्वास प्रस्ताव लिएर जान जटिलता देखिएको जिकीर दाहालले गरेको ती नेताले बताए। ‘नियमावलीको अन्योलबीच अविश्वासको प्रस्ताव अघि बढाउँदा सत्तारुढ दलले रोष्ट्रम घेरेर झडप हुनसक्ने अवस्था देखियो,’ दाहाललाई उद्धृत गर्दै उनले भने, ‘त्यसैले बजेटअघि सरकार गठन गर्न अगाडि नबढौं।’ कांग्रेसका ती नेताले एमाओवादीले आफूलाई धोका दिएको पनि आरोप लगाए। बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, नेता विमलेन्द्र निधि र रमेश लेखक थिए। एमाओवादीका उच्च नेताले  कुरा गर्दै आफ्नो पार्टीले कांग्रेसलाई धोका नदिएको र अझै पनि पार्टीले अन्तिम निर्णय गरिनसकेको दाबी गरे।  ‘नियमावलीमा रहेको त्रुटिका कारण अविश्वासको प्रस्ताव अगाडि बढाउन गम्भीर समस्या देखियो, त्यसलाई कसरी हल गर्ने भन्ने प्रमुख विषय हो,’ उनले भने,–‘कांग्रेस भने सभामुखलाई निर्देशन दिएर पेलेर अगाडि जाने भन्छ, त्यसरी संसदमा ठूलो झडप निम्तिन्छ।’ 
उनले नियमावलीमा देखिएको यही त्रुटिलाई समातेर एमाले सरकार नछोड्ने बरु सदनमा रोष्ट्रम घेरेर अविश्वासको प्रस्ताव कार्यान्वयन हुन नदिने निर्णयमा पुगेकोले समस्या आएको बताए।   एमाओवादीका नेताले कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न भने कुनै मतभेद नरहेको बताएका छन्।
यसैबीच बिहीबार बिहान सत्तासाझेदार दल एमाले र एमाओवादीबीच भएको छलफलमा एमाओवादीले कम्तीमा बजेटसम्म सँगै जाने सहमति भएको एमाले नेताले दाबी गरेका छन्। प्रचण्ड निवास लाजिम्पाटमा एमाले नेताद्वय झलनाथ खनाल र वामदेव गौतम सँगको छलफलमा एमाओवादी नेताहरूले यो सरकारले नै बजेट प्रस्तुत गर्ने कुरामा सहमति जनाएको ती नेताले दाबी गरेका छन्। ‘यो सरकारलाई अहिले हटाउन संवैधानिक र कानूनी अड्चन रहेको निश्कर्षमा दुबै पार्टी पुगेपछि कम्तिमा बजेटसम्म सँगै मिलेर जाने समझदारी भएको छ,’ उनले भने। एमाले नेताहरूसँगको छलफल पछि एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरूलाई आफ्नै निवासमा भेटेका थिए। सो बैठकमा उनले संवैधानिक कानुनी जटिलताका कारण तत्काल केपी ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न कठिन रहेको जनाउ दिए। एमाओवादी नेताहरूले भने आफ्नो पार्टी कुनै निर्णयमा पुगिनसकेको र संवैधानिक कानुनी अड्चनलाई कसरी हल गर्न सकिन्छ भन्ने छलफलमा मात्र रहेको दाबी गरेका छन्।

एकै रातमा प्रचण्ड फेरिनुका पाँच कारण !

बुधबार बिहान बसेको एमाओवादी पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गर्रुयो । प्रचण्डले अन्य दललाई पनि आफूलाई समर्थन गर्न अपील गरे । तर, २४ घण्टा नबित्दै प्रचण्ड केपी ओलीकै सरकारलाई निरन्तरता दिने पक्षमा उभिए । आखिर एकै रातमा प्रचण्ड किन यसरी फेरिए ? हेर्नुहोस् यसका भित्री रहस्य यस्ता छन् । ओलीसँग सम्बन्ध तोड्ने प्रचण्डको इच्छा थिएन ः बुधबार बसेको पदाधिकारी बैठकपछि प्रचण्डले नयाँ सरकार गठनको सार्वजनिक अपील गरेता पनि उो उनको भित्री ईच्छाबाट गरिएको अपिल थिएन । एमाओवादीको पदाधिकारीमा रहेका मध्ये उपाध्यक्ष नारायणकाजी श्रेष्ठ केपी ओलीसँग वैचारिक संघर्ष गर्नुपर्छ र सरकारमा पार्टीको प्रभावकारी उपस्थिति देखाउनुपर्छ भन्ने पक्षमा त थिए, तर उनी ओली सरकारलाई ढालेर कांग्रेससँग सहकार्य गर्ने लाइनको विपक्षमा थिए । केपी ओलीसँग प्रचण्ड नरम रुपमा प्रस्तुत भएको मन नपराए पनि उपाध्यक्ष श्रेष्ठले ओलीलाई दबाव दिने रणनीतिको मात्रै वकालत गरेका थिए । प्रचण्ड र नारायणकाजीसँग कार्यनीतिक भिन्नता थियो तर सरकारै ढाल्ने तहमा थिएन । तर, बुधबारको पदाधिकारी बैठकमा सरकार ढाल्नुपर्छ भन्ने नेताहरुको दबावमा प्रचण्ड र नारायणकाजी दुबैजना परे । पदाधिकारीमा रहेका मध्ये सचिव गिरीराजमणि पोखरेल शिक्षा मन्त्रीसमेत रहेकाले उनले सरकार ढाल्ने वकालत गर्ने कुरै भएन । तर, भर्खरै भारत भ्रमणबाट आएका महासचिव कृष्णबहादुर महरा भने एमाले(एमाओवादी गठबन्धन टुटाएर कांग्रेससँग मिल्नुपर्ने पक्षमा उभिए । व्यवस्थापिका संसदको सदस्य नरहेका अर्का सचिव वर्षमान पुन पनि ओली सरकार ढाल्नुपर्छ भन्ने लाइनमा कडारुपमा प्रस्तुत भए । अर्का नेता टोपबहादुर रायमाझी आफैं उपप्रधानमन्त्री भएकाले सरकार फेर्ने लाइनमा उभिने कुरै भएन । यसरी एकातिर ओलीलाई दबाव दिनुपर्छ भन्ने नारायणकाजीको लाइन र अर्कोतर्फ ओलीलाई ढाल्नैपर्छ भन्ने महराको लाइनवीच घालमेल भयो र बुधबार प्रचण्डले नयाँ सरकारबका लागि अपील गर्दै वक्तव्य निकाले । तर, प्रचण्डको भित्री इच्छाविनै आन्तरिक ‘प्रेसर’मा गरिएको ‘अपील’ हुनाले यसको कार्यान्वयन भएन ।
देउवाले प्रचण्डलाई आश्वस्त पार्न सकेनन् ः कांग्रेस नेता शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने आश्वासन दिए पनि बहुमतीय भए आफैं प्रधानमन्त्री हुने र सहमतीय भएमात्रै प्रचण्डलाई प्रधानमन्त्री बनाउने खालको भनाइ बाहिर आयो । साथै प्रचण्डलाई केही महिनामै सरकारबाट ढालेर देउवा आफैं प्रधानमन्त्री बन्ने चर्चा पनि चल्यो । र, देउवाले यसलाई चिर्न र प्रचण्डलाई विश्वासमा लिन सकेनन् । कांग्रेसभित्रका पदलोलूपहरुले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा नरुचाइरहेको परिस्थितिमा उनले ओली गठबन्धन तोड्दाका जोखिमहरु देखे । देउवाले आफूलाई खेलाउन मात्रै खोजेको जस्तो लागेपछि प्रचण्ड पछि हटे । ओलीसँग मन नलागी नलागी फायर खोलेका प्रचण्डलाई आफ्नो पक्षमा ल्याउन देउवाले जति मेहनत गर्नुपथ्र्यो, त्यो गरेनन् ।
ओलीको भावनात्मक पक्षले प्रचण्डलाई प्रभावित बनायो ः प्रधानमन्त्री केपी ओली र प्रचण्डको सम्बन्ध शान्ति प्रक्रियाको प्रारम्भिक कालमा राम्रो थिएन । तर, पछि उनीहरु अति निकट भएर संविधान निर्माणमा भूमिका खेलेका थिए । यसैक्रममा केपी ओलीले बुधबार साँझ बुद्धिमत्तापूर्वक प्रचण्डलाई फकाए । ओलीले देखाएको लचकता र भावनात्मक कुराबाट प्रचण्ड प्रभावित भए । अहिले नीति तथा कार्यक्रम एवं बजेट ल्याएपछि प्रचण्डको प्रधानमन्त्रीत्वमा यही गठबन्धनलाई टिकाउने र स्थानीय चुनावमा पनि मिलेर जाने ओलीको प्रस्ताव प्रचण्डलाई कम जोखिमयुक्त लाग्यो, देउवासँग मिल्नुभन्दा ।
सार्वजनिक आलोचना र सामाजिक सञ्जालको प्रभाव ः एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको अपील गर्नासाथ सामाजिक सञ्जालमा उनको निकै ठूलो आलोचना भयो । प्रचण्डविरुद्ध धमाधम लेख र खुल्लापत्रहरु आउन थाले । सरकार ढाल्ने खेलमा लागेर एमाओवादी पार्टी बदनाम हुने स्थितिमा पुग्यो । राप्रपा नेपाल लगायतका सत्तारुढ दले पनि प्रचण्डलाई साथ दिएनन् । यो सबै देखिसकेपछि सहमतिको सरकार नबन्ने र शेरबहादुर देउवाका हातमा सत्ताको साँचो जानसक्ने देखेपछि प्रचण्ड २४ घण्टा नपुग्दै ‘लिक’मा फर्किए ।
र, भारतको चलखेल बुझेपछि ः विगतमा सांसद खरीदका लागि चीनियाँसँग पैसा मागेको आरोप लागेका एमाओवादी नेता कृष्णबहादुर महरा केही समय पहिले दिल्ली गएका थिए । अख्तियारले घाँटीमा त्रासको घण्टी बाँधिदिएपछि महरा यतिबेला भारतीय एजेण्डामा लागेको आरोप लागिरहेको थियो । महरा र देउवाकै कुरो सुनेर ओली सरकार ढाल्ने भारतीय एजेण्डामा प्रचण्डले सामान्य सहमति जनाए पनि एक रात सोचेपछि उनले महरा र देउवाको लाइनबाट आफूलाई मुक्त गरे । कुनै पनि निर्णय लिनका लागि प्रचण्ड ‘डाइनामिक’ नेता मानिन्छन् । त्यसैले उनले एउटा गल्तीलाई ढाकछोप गर्न अरु गल्तीहरु गर्दै जानुभन्दा २४ घण्टामा फनक्कै घुमेर पहिलेकै ठाउँमा फर्किए । प्रचण्डको पछिल्लो निर्णयलाई सामाजिक सञ्जालमा धेरैले सही निर्णय भन्दै प्रशंसा गरेका छन् ।






Post a Comment

 
Top