0
कालिका खड्का
यस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो । सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेको थियो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछ । आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती लुम्बिनीमा मनाउने तयारी गरेको छ । सो अवसरमा बौद्ध सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअुनसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्धजयन्ती मनाउने तय भएको छ । सम्मेलनका लागि “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ । मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । सम्मेलन मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्द प्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ । सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ । सम्मेलन मूल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धप्रतिको न्याय, बुद्धसम्बन्धी भ्रम चिर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको उद्घोष गरिसएका छन्। बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपूर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तकबाट सच्याउन पहल भइरहेको बताए । सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पूर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ भने अन्य देशले पनि आफूहरूले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन् ।
मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउँमा गएर गरेका क्रियाकलाप वा लीला मात्रै हुन् भन्ने सम्मेलनले प्रमाणित गर्ने बताउछन्।
चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ । 
त्यस्तै, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमेसिङ्घे भारतको विहारका मुख्यमन्त्री नितीश कुमार, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपुराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई निमन्त्रणा गरिएको छ । साथै १३ देशका संस्कृति, तथा धार्मिक मामिला मन्त्रीलाई निमन्त्रण गरिएको छ । श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ । 
त्यस्तै, बौद्ध धर्मसम्बन्धी २३ देशका सङ्घसंस्था नेपाल आउँदै छन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बङ्गलादेश, रुस, जर्मनी, फ्रान्स, अस्ट्रिया, क्यानडा रहेका छन् । सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागिता हुने तय भइसकेको सम्मेलन मूल आयोजक समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिए । रासस






Post a Comment

 
Top