0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले देशमा विद्यमान समस्याको निकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस कास्कीले शुक्रवार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिटौलाले देशमा अहिले भएको संघीयता सीमाङ्कन, प्रादेशिक संरचना, प्रदेश सभा गठन र  विभाजनका कुरामा कांँग्रेसले नै नेतृत्व गरे मात्र समस्या समाधान हुने बताए । देशमा अहिले बनेको संधिवान कार्यान्वयन भएर छाड्ने बताउँदै उनले केही अंश संविधान कार्यान्वयन समेत भइसकेको बताए । उनले देशमा देखा परेका ससाना समस्यालाई वाईपास गर्न खोजिएमा पछि तिनले विकराल रुप लिन सक्ने भएकोले बेलैमा ती समस्या समाधान गर्नतर्फ पहल गर्नु पर्ने बताए । देशका दुई ठूला शक्तिको सरकार कहिल्यै पनि एकै पटक नहुने बताउँदै सिटौलाले कांग्रेसले प्रतिपक्षमा नै बसेर तत्कालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । यो सरकार आफ्नै बोझले ढल्ने भएकाले यता तिर हतारिन र निराश हुनुपर्ने खाँचो नभएको उनको भनाइ छ । नेपालको संविधान–२०७२ कांँग्रेसको नेतृत्वमा नै बनेको र कार्यान्वयनको चरणमा अन्य दलको हातमा गएकोले समस्या भएको बताउँदै उनले संविधान बनाउनेले नै कार्यान्वयन गर्न सुरु गरेपछि अधिक बाधाहरु स्वतः पाखा लाग्ने बताए । अब देशमा गाउँदेखि केन्द्रसम्मको निर्वाचन हुने बताउँदै नेता सिटौलाले निर्वाचनका लागि तयारी हुन कास्कीका कार्यकर्तालाई निर्देशन दिएका छन् । तलदेखि माथिसम्मको निर्वाचन तत्काल हुन्छ भरसक महिलाहरुलाई समावेश गर्न लाग्नुस् उनले कार्यकर्ताहरुलाई भने । अबको संघीय संरचनामा महिला बिना चुनावी प्रतिस्पर्धा सफल नहुने बताउँदै सिटौलाले महिलालाई प्रशिक्षण गर्न नेतृत्व तप्का लाग्नु पर्ने धारणा व्यक्त गरे । नेपालको संघीय संरचना भारतको भन्दा बृहत् खालको रहेको जिकिर गर्दै सिटौलाले संघात्मक ढाँचामा जाँदाको अवस्थामा संघात्मक प्रदेशका कार्यकर्ताको मिसमासलाई पनि पार्टीले बेलैमा ख्याल गर्नुपर्ने अवस्था रहेको बताए । काँग्रेसले सरकार लडाउने कुरा गरेर पछाडि हटेको भन्ने कार्यकर्ताको जिज्ञासामा सिटौलाले भने सत्तासिन दलको एक घटक एकीकृत नेकपा माओवादीले नै सरकार गिराउने भनेपछि पार्टी सभापतिले सो कुरा स्वीकार गरेको मात्र बताए । सरकार लडाउन नसक्दैमा केही अत्तिनु पर्ने अवस्था नभएको उनले स्पष्ट पारे । कास्की कांँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुदीपमोहन भट्टराईले पनि बोलेका थिए ।






Post a Comment

 
Top