0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि दलहरूबीच समझदारी आवश्यक हुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले सधैँ दलहरू बीचको समझदारीका पक्षमा रहेको बताए । संविधान बन्नु अघिदेखि नेपालको राजनीतिक यात्रामा विभिन्न समयमा विभिन्न पासा थाप्ने गरिएको उल्लेख गर्दै उनले ती सबै पासालाई चिर्दै नेपालको राजनीति अघि बढिरहेको बताए । संविधान कार्यान्वयनलगायतका विषयका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने कुरामा नेकपा एमाले रहेको चर्चा गर्दै उनले जसमाथि राष्ट्रिय सहमति हुन सक्छ त्यसैले सरकारको नेतृत्व गर्नसक्ने बताए । उनले भने–‘संसदमा बजेट पेश भएपछि सरकार परिवर्तन हुने र एमाओवादी अध्यक्ष प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाउने हल्ला निराधार मात्र हो ।’ एमाले नेतृत्वको वर्तमान सरकार देशका विभिन्न समस्या उत्कर्षमा रहेका अवस्थामा निर्माण भएको उल्लेख गर्दै नेता पोखरेलले विद्यमान समस्यालाई एक एक गरी समाधान गर्दै सरकार अघि बढेको स्पष्ट पारे । उनले भने–‘सरकार परिवर्तन गर्न एमाआवादी सँग नौ बुँदे सहमति भएको छैन, सरकार फरिने विषय झोलाबाट सामान झिकेर दिए जस्तो होइन, बजेट ल्याएपछि सरकार फेरिने कुरा हामीले गरेकै छैनौं ।’ संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन हुने बताएका पोखरेलले बजेटपछि पनि यही सरकार कायम रहने बताए । उनले भने–‘यो संसदको म्याद २०७४ माघ सम्म हो, यो अवधिमा संसद, प्रदेश र स्थानीय निकायको निर्वाचन गरिसक्नुपर्दछ, यसका लागि दलहरुहरु सहकार्य आवश्यक छ । उनले नेपाली कांग्रेसलाई सँगैं लिएर हिंड्न एमाले तयार रहेको भन्दै सहमति अनुसार कांग्रेस पनि सरकारमा आउनुपर्नेमा जोड दिए । सरकारको नेतृत्व कोहीले दिन र कोहीले लिन ठिक्क पर्दैमा नहुने बताउँदै महासचिव पोखरेलले संसद्भित्रको प्रक्रियाबाट जसमा सहमति हुन सक्छ उसैले नेतृत्व लिने स्पष्ट पारे । सरकार बदल्न खोज्दा नेपाली कांग्रेस भुईंमा पछारिएको भन्दै उनले फेरि सरकारको विकल्प खोज्नु भनेको मुर्खतामात्र हुने बताए । उनले भने,–‘भुईमा पछारिँदा लागेको धुलो टकट्क्याएर कांग्रेसले एमालेसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।’ शैक्षिक योग्यताका आधारमा ऋण सहयोग दिने सरकारको नीति तथा कार्यक्रममा समेटिएको र त्यसको कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको उनको भनाइ छ । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष रामजी लम्सालले स्वागत गरेका थिए ।










Post a Comment

 
Top