0
गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरे तमागी स्थित ठूलाखेत र माझथुम जोड्ने खहरे खोलामाथिको नवनिर्मित पुल स्थानीयलाई हस्तान्ततरण गरिएको छ । बालगृह सञ्जाल कास्कीको सहयोगमा निर्माण गरिएको उक्त पुल आईतबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । गतवर्ष श्रावण १३ गते आएको बाढीले पुल बगाएपछि आवत–जावतमा कठिनाई खेप्दै आएका स्थानीयहरु लाई सहज बनाउनका लागि पुल निर्माण गरिएको बालगृह सञ्जाल कास्कीले जनाएको छ । कास्की जिल्लामा सञ्चालित २७ वटा बालगृहहरु, पाहार ट्रष्ट नेपाल र नेपाल हाउस कास्कीको आर्थिक सहयोगमा करिब ५ लाख ६३ हजार, ३ सय ६३ रुपैँयाको लागतमा निर्मित उक्त पुल फलामबाट निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीय समाजसेवी विष्णु दाहाल, कृष्ण दाहालले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको आईतबार आयोजित कार्यक्रममा जानकारी गराईयो । सो अवसरमा प्रमुख अतिथि एवं स्थानीय विकास अधिकारी दामोदर भण्डारीले स्थानीयलाई पुल हस्तान्तरण गर्दै पुल निर्माण गरेर बालगृगह सञ्जालले सामाजिक उत्तरदायित्वको नमूना प्रस्तुत गरेको बताए । साथै उक्त ठाउँमा छिटै पक्की पुल बन्ने बताउँदै त्यसका लागि बजेट छुट्याईएको जानकारी दिए । कार्यक्रममा बोल्दै जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बालगृह सञ्जालको कदम अत्यन्तै सह्रानीय भएको बताए । कार्यक्रममा विशेष अतिथि केन्द्रिय बालगृह सञ्जालका अध्यक्ष लोकेन्द्र खत्रीले पनि बोलेका थिए । सञ्जालका अध्यक्ष गोमा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्चिमाञ्चल बालगृह सञ्जालका उपाध्यक्ष एवं थ्री एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतमले स्वागत मन्तव्य राखेका थिए । सञ्जाल कास्कीका सचिव विजयकुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा कास्की जिल्ला बालगृहका सञ्चालकहरु, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । यसअघि सो स्थानमा रहेको १८६ मिटर लामो ढलान गरिएको पुल खहरे खोलामा आएको बाढीले बगाएपछि स साना बालबालिकाहरु विद्यालय जान समेत कठिनाई परेको थियो । पुल निर्माण र हस्तान्तरणसंगै स्थानीय बासिन्दा खुसी भएका छन् । उक्त पुल निर्माणपछि ठूलाखेत, चैनपुर, घाँटीछिना, बरांङ्ग लगायतका करिब १७५ घरधुरीका स्थानीय लाभान्वित हुनेछन् ।

Post a Comment

 
Top