0
जग्गा अधिग्रहण गरेको ४० वर्ष नाघ्यो । विंसं. २०३२ सालमा पोखरामा व्यवस्थित बसपार्क निर्माणको लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले खुम्चिएर ८१ रोपनीमा झरेको छ । बसपार्ककै लागि प्रयोग भैरहेको जग्गा अझ कम छ । कहिले वास्तविक जग्गाधनीलाई सट्टा जग्गाको नाममा त कहिले अन्यत्रबाट उठाइएका परिवारलाई स्थापित गर्ने नाममा अनि कहिले नगर विकासका प्रमुखको चलखेलले बाँकी जग्गा सुकुम्वासीको टहरा, पक्की घर र पसलले भरिए । २०५० साल यता उपत्यका नगर विकासमा २० जना प्रमुख फेरिए तर बसपार्कले काँचुली फेर्न सकेन । बसपार्क निर्माणका लागि त्यहाका सुकुम्वासीलाई हटाउने, घर टहरा भत्काउने हल्ला बेला बेला चलाइन्छ । तर कुनै काम हुँदैन । अबस्था जस्ताको तस्तै हुन्छ । पछिल्लो समय राजनीतिक दलहरु विचमा वाँकी ८१ रोपनीनै बनाउने, वा बढाएर १२५ रोपनीमा बनाउने र पहिले अधिग्रहण गरिएको २०५ रोपनीमैै बनाउने भन्ने विवाद देखिएको छ । दलहरु विचमा बसपार्क निर्माणको लागि अधिग्रहण गरिएको जग्गा के कति उपयोग गर्ने भन्ने जुहारी चलिरहेका बेला सोही स्थानमा ठूलो क्षेत्रफल ओगट्ने गरी मिनी मार्केट निर्माण गरिएको छ । बसपार्कको लागि अधिग्रहण गरिएको २०५ रोपनी मध्य पृथ्बी राजमार्गसँग जोडिएको २० रोपनी वास्तविक जग्गाधनीलाई छुट्याइएको थियो । सो स्थानमा अहिले सटरसहितका पसलहरु संचालनमा छन्। कतिपय राजनीतिक दलले अगाडिको जग्गा छोडेर पछाडि वसपार्क बन्न नसक्ने र सो जग्गा पनि बसपार्ककै प्रयोजनमा आउनुपर्ने अड्को थापिरहँदा मार्केट निर्माण गरिएको हो ।
‘सुकुम्वासीलाई उचित बैकल्पिक ब्यवस्था सहित बसपार्क बनाउनुपर्छ भनेर हामीले भनिरहँदा यहाँ भित्रकै जग्गामा मिनी मार्केट बन्दैछ,’ अखिल नेपाल सुकुम्वासी संघ कास्कीका अध्यक्ष दिलिप सुनारले भने–‘सुकुम्वासीलाई हटाउने अनि मिनी मार्केट बनाउने यो कस्तो नियम हो?’ विप्लव नेतृत्वको नेकपा माओवादीकी नेतृ सावित्री दुराले जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरेको हो सोही प्रयोजनमा लगाउनुपर्ने बताइन् । उनले राजमार्ग छेउको जग्गा छोडेर भित्री जग्गा मात्रै प्रयोग गर्ने सर्त मान्न नसकिने बताईन्। ‘सुरुमा बनाएको २०५ रोपनीको मापदण्ड अनुसारनै हुनुपर्छ,’ उनले भनिन्–‘अगाडि ब्यक्तिका नाममा भएका सटरलाई मुआब्जा दिनुपरे राज्यले दिएर हटाउनुपर्छ ।’
पृथ्वी राजमार्गसँग जोडिएको बास्तविक जग्गाधनीको नाममा छुट्याएको जग्गा मध्य ६ रोपनी ४ आना जग्गामा अहिले मिनी मार्केट निर्माण गरिएको हो । जग्गाधनी टिकाराम बाँस्तोलाको नाममा रहेको उक्त जग्गामा चार जनाको संयुक्त झण्डै डेढ करोड लगानीमा मिनी मार्केट बन्दैछ ।
माधब बाँस्तोला, उमाराज बाँस्तोला, बलराम बाँस्तोला र बाबुराम आचार्यले ३२० पसल रहने गरी सो मिनी मार्केट निर्माण गरेका हुन् । उनीहरुले सो जग्गा १० वर्षको लागि वार्षिक एक करोड २० लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएका हुन् । यो महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य भैरहेको छ । असार पहिलो साता उद्घाटन गर्ने भनिएको सो मिनी मार्केटमा अहिलेसम्म पाँच सय भन्दा बढीले पसल राख्नको लागि नाम दर्ता गराइसकेको दावी गरिएको छ । मिनी मार्केटमा तरकारी, खाद्य सामाग्रीसहित लत्ता कपडा लगायतका सम्पूर्ण समान रहने बताइएको छ ।
उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले वास्तविक जग्गाधनीको नाममा रहेको जग्गामै मार्केट बनेको बताए । उनका अनुसार २०६० सालमा जग्गा विकास कार्यक्रम अन्तर्गत जग्गाधनीलाई चार रोपनी क्षेत्रफल बराबर दुई वटा घडेरी दिने निर्णय भएअनुसार राजमार्ग छेउको २० रोपनी जग्गा दिइएको थियो । ‘मार्केट निर्माण हुदैछ भन्ने जानकारी आएपछि हामीले अनुगमनको लागि टोली पठाएका थियांै,’ उनले भने–‘६० सालमै वास्तविक जग्गाधनीलाई छुट्एको जग्गामा बन्न लागेको हो ।’ उनले सो जग्गा अहिले बसपार्क मापदण्ड भित्र नपर्ने र ब्यक्तिको नाममा रहेको बताएपनि केही राजनीतिक दल र सुकुम्वासीहरुले मार्केट बनाउन दिन नहुने जिकिर गरेका छन् । एजेन्सी






Post a Comment

 
Top