0
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै सरकारले ट्राफिक नियम उल्लंघन गर्नेसंग लिने जरिवाना बढाएको छ । पहिलेको भन्दा झण्डै २० गुणा बढी जरिवाना बढाइएको छ । अब जरिवाना एक हजार पाँच सयसम्म पु¥याइएको छ । नयाँ नियमअनुसार अब नियम मिच्ने जो कोही सवारी चालकले पहिलो पटकलाई पाँच सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटकमा एक हजार पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । न्यून जरिवानाकै कारण दुर्घटना बढेको र चालकले लापर्वाही गरेको भन्दै सरकारले जरिवाना यति ठूलो परिमाणमा बढाएको हो । जरिवाना बढाउँदै सवारी दुर्घटना कति कम हुन्छ, त्यो परिणाम आएपछि मात्र थाहा होला, तर एउटा यथार्थ के हो भने ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन कठोर कदम चाल्नैपर्ने अवस्था आएको थियो । नागरिकले कानून उल्लंघन गर्दा राज्यले लिने जरिवाना भनेको राजस्व बढाउन होइन, दण्डहीनताको अन्त्य गर्न केन्द्रित हुनुपर्छ । त्यसैले अहिले बढाइएको ट्राफिक जरिवानालाई पनि राज्यले यहीरुपमा लिने र नागरिकलाई पनि यहीरुपमा बुझाउन सक्नुपर्छ । जनघनत्व बढिरहेको छ । बजार क्षेत्रमा सवारी साधनको चाप यति बढेको छ कि कहिलेकाहीं त मान्छेभन्दा बढी गाडी छन् जस्तो पनि महसुस हुन्छ । तर सडक भने पुरानै अवस्थामा छन् । यो बेलामा मानवीय सतर्कतामा ध्यान नदिने हो भने दुर्घटनाको अवस्था भयावहरुपमा बढ्न सक्छ । मानवीय सतर्कता बढाउने माध्यम सचेतना र कार्वाही दुबै हो । यसमा मुख्य कुरा त सचेतना नै हो । तर दण्डहीनता मौलाएको देशमा सचेतनासंगै दण्ड सजाय पनि उत्तिकै जरुरी छ । अन्यत्र एउटाले राम्रो ग¥यो भने अर्कोले त्यसबाट सिक्छ । तर हाम्रोमा एउटाले कमजोरी ग¥यो भने त्यसलाई देखाएर अरुले पनि कमजोरी गर्ने समस्या छ । यो समस्या समाधानका लागि दण्ड सजाय बढाउनु स्वाभाविक छ । बरु यसलाई विकृत हुन दिनुहुँदैन । ट्राफिक प्रहरीलाई जरिवाना अशुलमा प्रतिष्पर्धा गर्ने स्थिति आउन दिनुहुँदैन । कुन ट्राफिक कार्यालयले कति जरिवाना अशुल ग¥यो भन्ने भन्दा पनि कुन कार्यालयको सेवा क्षेत्रभित्र कति दुर्घटना कम भए भन्ने प्रतिष्पर्धा हुनुपर्छ । सवारी दुर्घटना बढ्नुमा विभिन्न क्षेत्रलाई कारकको रुपमा लिइन्छ । सबैभन्दा मुख्य कारण त मानवीय लापर्वाही नै हो । यसमा पनि चालक र गाडी सञ्चालकहरुको लापर्वाहीलाई मुख्यरुपमा लिइन्छ । त्यसका साथै सडकको अवस्था, गाडीको अवस्था र यात्रुहरुको चेतना पनि सडक दुर्घटनाको महत्वपूर्ण कारण मानिन्छ । त्यसका साथै पछिल्लो समयमा नेपाली समाजमा बढ्दै गएको अराजक प्रवृत्ति पनि दुर्घटनाको कारण बन्न थालेको छ । गाडी सही अवस्थामा राख्ने काम गाडीधनी र चालकको हो भने कस्तो गाडीमा चढ्ने, पैदल यात्रा कसरी गर्ने आदिमा यात्रु सचेत रहनुपर्छ । त्यसका लागि जतिसक्यो ट्राफिक सचेतना जरुरी छ । समुदाय र विद्यालयस्तरमा ट्राफिक सचेतना अभियानलाई तीब्र बनाउनुपर्छ । खासगरी किशोर र नवयुवाहरुमा यो समस्या देखिन थालेको छ । आफ्नो उमेर र शारीरिक क्षमताभन्दा बढीका मोटरसाइकल अनियन्त्रितरुपमा चलाउँदा धेरैको ज्यान गइरहेको छ । यसलाई नियन्त्रण गर्न ट्राफिक जरिवाना बृद्धिले केही सहयोग त गर्ला तर त्योभन्दा महत्वपूर्ण ट्राफिक सचेतना बढाउनुपर्छ । अभिभावक र किशोर किशोरीलाई लक्षित गरेर मात्र ट्राफिक सचेतना अभियान सञ्चालन गर्ने हो भने दुर्घटनाका घटनामा धेरै कमी आउनेछ । देशब्यापी ट्राफिक सचेतना अभियान सञ्चालन गर्न बजेटको अभाव हुनसक्छ । त्यसैले बढाइएको जरिवानाबाट आएको राजस्वलाई त्यो अभियानमा लगाउने नीति बनाउनु उपयुक्त हुनेछ । त्यसो गर्दा यो रकम दुरुपयोग हुने खतरा पनि रहन्न साथै ट्राफिक अवस्था धेरै सुध्रेर जानेछ ।




Post a Comment

 
Top