0
पोखरा रंगशाला ४१५ रोपनी क्षेत्रफलमा छ । राष्ट्रिय खेलकुद परिषदले पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार पारेको छ । गुरुयोजना अन्तर्गत भौतिक पुर्वाधार थपिदैं छ । अहिले भलिबल प्रशिक्षण केन्द्र र बहुउद्देश्यीय कभर्ड हल निर्माणको संघारमा छन् । ती सँगै पोखरा रंगशालाभित्र अब व्याडमिन्टनको कभर्ड हल निर्माण गरिदैं छ । कास्की जिल्ला व्याडमिन्टन संघले आफनै पहलमा चारवटा कोर्टसहितको कभर्ड (इन्डोर)हल बनाउन आवश्यक नक्सांकन गरिरहेको छ । ‘राष्ट्रिय खेलकुद परिषदले कभर्ड हल बनाउन जग्गा उपलब्ध गराईसकेको छ’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले भने–‘साढे दुई रोपनी क्षेत्रफल दिएका छन् । त्यसैमा हल बनाउने छौं।’ हल बनाउन आवश्यक नक्सांकन भईरहेको उनले जानकारी दिए । उनले सम्भव भएसम्म बैशाख महिनाभित्र अथवा यो आर्थिक वर्षभित्रमा शिलान्यास गर्ने गृहकार्य गरिरहेको बताए । पोखरा रंगशाला भित्र २०४० सालमा निर्मित व्याडमिन्टन कभर्ड हल छ । जुन कभर्ड हलमा प्रशिक्षणदेखि प्रतियोगितासम्मका गतिविधि हुदैं आएको छ । यद्यपी प्रशिक्षण गर्न कठिनाई हुदैं गएपछि संघले नयाँ हल निर्माण गर्ने गृहकार्यमा जुटेको हो । ‘भईरहेको हलमा संघका पदाधिकारीले खेल्ने हुदाँ प्रशिक्षण गर्न कठिनाई भएको छ । त्यसैले अबको हल विशेष गरी खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण केन्द्र बनाउने छौं’ अध्यक्ष गुरुङले भने–‘प्रशिक्षणसँगै राष्ट्रियस्तरका प्रतियोगिता समेत गर्न सहज हुने विश्वास छ ।’इन्डोर हल निर्माणको लागि राखेपले बर्तमान जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय परिसर भन्दा पश्चिमतर्फको साढे दुई रोपनी क्षेत्रफल छुट्टाइदिएको छ । खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार २० मिटर चौडाई र ४० मिटर लम्बाई बराबर जग्गाको क्षेत्रफल व्याडमिन्टन संघलाई हल बनाउन स्वीकृति आएको छ । ‘विद्यालयस्तरीय प्रशिक्षणको मुख्य उद्देश्य राखेका छौं’ उनले भने—‘ अहिलेको हलमा बुढापाका खेल्दा विद्यार्थी हेरेर बस्नुपर्ने र विद्यार्थी खेल्दा अरुले हेरेर बस्नुपर्ने बाध्यता छ ।’ त्यसको निराकरण गर्नकै लागि पनि हल अत्यावश्यक ठानिएको संघको ठम्याई छ । संघका अनुसार राखेपले बनाएको गुरुयोजना अन्तर्गत व्याडमिन्टन हल बनाउन जग्गा नै छुट्टाइएको छैन् । खाली जग्गालाई नै राखेपले हलको लागि स्वीकृति दिएको संघका अध्यक्ष गुरुङको भनाई छ । छुट्टाइएको जग्गामा चार वटा कोर्ट, चेन्जिङ रुम, संघको कार्यालय, शौचालयसहितको पुर्वाधार बनाउने उनले जानकारी दिए । ‘हलमा पार्केटिङ गरिने छ ।’ उनले भने । हल निर्माणको लागि संघले आफनै पहल कदमी गरिरहेको छ । ‘राष्ट्रिय खेलकुद परिषदमा समेत आर्थिक सहयोगको लागि आग्रह गर्दै छौं’ उनले भने–‘तर पहिला आफैंबाट आर्थिक सहयोग जुटाएर काम शुरु गर्ने छौं ।’ हल बनाउन संघले तीन करोड लागतको प्रारम्भिक अनुमान गरेको छ । यद्यपी नक्सांकन पछि मात्रै लागत प्रष्टिने संघले जनाएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार २० फिट चौडाई र ४४ फिट लम्बाईको व्याडमिन्टन कोर्ट तयार हुने छ । निर्माणाधिन हलभित्र चार वटा कोर्ट अटाउने छ । (एजेन्सी)












Post a Comment

 
Top