गोल्डेन न्यूज संवाददाता
धादिङ–पोखरा सम्पर्क समितिका पदाधिकारी, सदस्यका साथै सल्लाहकार तथा विभिन्न गाविस इकाइका पदाधिकारीबीच एकाइ गठन र भूमिका बारे बहस भएको छ । धादिङ–पोखरा नलाङ इकाइ समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन सत्रमा पनि यो बहसले प्राथमिकता पायो । कार्यक्रममा बोल्ने विभिन्न गाविस इकाइका अध्यक्षहरुले धादिङ–पोखरा सम्पर्क समितिका लागि इकाइ समितिहरु अति आवश्यक भएको, समितिको विधानमा समेत स्पष्ट व्यवस्था गरिएको भएपनि इकाइ गठनमा समितिले वेवास्ता गरेको गुनासो गरेका थिए । उनीहरुले सबै धादिङवासीलाई एकै ठाउँमा ल्याउनका लागि पनि इकाइहरु आवश्यक रहेकाले मूल समितिले इकाइ गठनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको उद्घाटन एवं नलाङ इकाइद्वारा प्रकाशित क्यालेण्डर विमोचन गर्दै धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगरले यसअघि जे जस्तो भएपनि अबका दिनमा इकाइ गठनमा सहयोगी भूमिका निर्वाह गर्ने र सबै इकाइहरुलाई एकैसूत्रमा आवद्ध गराइ अघि बढ्न तयार रहेको बताए । कानूनी ढङ्गले समितिमा संस्थागत सदस्यता लिन आउने सबै गाविस इकाइहरुलाई समितिले सक्दो सहयोग गर्नै भन्दै उनले एकाइ समितिहरुलाई एकीकृत गरि समितिको गतिविधिमा सक्रिय बनाउन आफू र समिति तयार रहेको स्पष्ट पारे ।
धादिङ–पोखरा सम्पर्क समितिका निवर्तमान अध्यक्ष बलराम खतिवडाले आफ्नो कार्यकाल देखिनै गाविस इकाइ समितिहरुलाई आधिकारिक संस्थागत सदस्यता प्रदान गर्न थालेकोले इकाइहरुको विपक्षमा आफू कहिल्यै नभएको स्पष्ट पारे । उनले भने–‘समितिको नीति र निर्देशन बमोजिम गठन एवं संचालन हुने इकाइहरुलाई समितिले सदैव सहयोग र सहकार्य गर्नुपर्छ।’ समितिका सल्लाहकार परिषद सदस्य वेनी पाठकले समितिको मातहतमा रहने गाविस इकाइहरु जति संगठित हुन्छन् त्यतिनै समिति बलियो हुने स्पष्ट पार्दैै इकाइ गठनमा समितिले विशेष अभियान संचालन गर्नुपर्नेमा जोड दिए । नलाङ इकाइ समितिका अध्यक्ष मेघबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समितिका पूर्व अध्यक्ष हरि अर्याल, वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, आगिन्चोक इकाइ समितिका अध्यक्ष हरि पन्त, ढोला इकाइ समितिका अध्यक्ष अर्जुन भट्ट, नलाङ इकाइ समितिका उपाध्यक्ष दीपक गिरि, निवर्तमान अध्यक्ष रामबहादुर अर्याल, सल्लाहकार गोकर्ण अधिकारी, सचिव शुम्भ अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
अध्यक्षमा अधिकारी निर्वाचित
धादिङ–पोखरा नलाङ इकाइ समितिको शनिबार सम्पन्न पाचौं साधारणसभा तथा तेस्रो अधिवेशनले शम्भु अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित अधिकारी धादिङ–पोखरा सम्पर्क समितिका सह–सचिव समेत हुन् । उनी नलाङ इकाइका निवर्तमान सचिव समेत हुन् । उनी पोखरामा फलफूल व्यवसायमा आवद्ध छन् । समितिको उपाध्यक्षमा रामप्रसाद दुवाडी, सचिवमा सरस्वती श्रेष्ठ, सह–सचिवमा टीकाराम अधिकारी एवं कोषाध्यक्षमा गंगा पौडेल निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा भेषराज अधिकारी, विक्रम पण्डित, जितप्रसाद भट्ट, लक्ष्मण रिमाल, कृष्ण श्रेष्ठ, कल्पना थपलिया, सूर्यमान वाणा, रीता अधिकारी, गणेश गिरि र कृष्ण श्रेष्ठ रहेका छन् । समितिको सल्लाहकारहरुमा रामबहादुर अर्याल, गोकर्ण अधिकारी, कृष्णमणि भट्ट, भागवत गिरी, दामोदर अधिकारी, देवीप्रसाद सिलवाल र राजेन्द्र लोहनी रहेका छन् । निर्वाचन सम्पन्न गर्न इकाइका सल्लाहकार गोकर्ण अधिकारी संयोजक रहेको निर्वाचन समिति गठन गरिएको थियो । अध्यक्षमा निर्वाचित अधिकारीले सबै नलाङवासीलाई एकीकृत गरि मूल समिति धादिङ–पोखरा सम्पर्क समितिसंग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको प्रतिवद्धता जनाए ।
Post a Comment