0
गोल्डेन न्यूज संवाददाता
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई आफूले सफल बनाउन चाहेको बताएका छन् । कांग्रेस २ नम्बर क्षेत्रीय समितिले शनिबार दमौलीमा गरेको विधान, नीति तथा कार्यक्रम सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै पौडेलले आफूले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस सफल भएको हेर्न चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाएर आफू बलियो हुने कहिल्यै नखोजेको उल्लेख गरे । 
म शेरबहादुर देउवाजीलाई सफल बनाउन चाहन्छु,’ उनले भने,–‘कांग्रेसलाई कमजोर बनाएर म बलियो हुन चाहन्न । अब मुलुकमै नमुना कांग्रेस बनाउन अभियान थाल्ने छु ।’ विचारको आधारमा समाज र मुलुकलाई बदल्नेतर्फ कांग्रेसले अभियान र जागरण थाल्न आवश्यक भएको उनले बताए ।
‘हतियार चलाउने अप्रेसन होईन । चाईनिजहरुको अक्युपंचर विधिबाट गरिने उपचार अहिलेको समाजमा आवश्यक छ,’ उनले भने, ‘हतियारको बलले समाज सुधार्ने होईन विचारको आधारमा समाजलाई बदल्नु पर्छ भनेर बैचारिक अभियान बढाउन चाहेको छु ।’ राजनितिलाई कसरी सम्मानित बनाउने भन्नेमा कांग्रेसको नेतृत्व केन्द्रित हुनु पर्नेमा उनले जोड दिए ।
मुलुकमा ठूलो सङ्कट आएका बेला युद्धस्तरमा काम गर्न नसक्दा वर्तमान सरकार असफल हुँदै गएको भनाइ काँग्रेसका वरिष्ठ नेता पौडेलको छ । 
भुकम्प गएको बर्ष दिन हुन लागी सक्दा समेत भुकम्प पीडितलाई राहतमा पाल बाहेक अन्य राहत दिन नसक्नु सरकारको कमजोरी भएको उनले बताए । आफूले पाल खरिदको सट्टा राज्यले राहतमा टहरो बनाउनु पर्छ भनेर सुझाव दिएपनि कसैले सुनुवाई नगरेको उनले बताए । ‘अहिले आएर प्रधानमन्त्रीले समयमा नै घर बनाउन सकिदैन भनेका छन्,’ उनले भने,–‘योजना बनाएर घर बनाउन खटिएको भए उहिल्यै घर बनि सक्ने थियो ।’ अहिले तालाचाँपी लिएर बसेकाले मधेसी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न नसकेको भन्दै पौडेलले काँग्रेसकोे नेतृत्वमा ती समस्या समाधान हुनुपर्ने बताए। उनले आफ्ना समकक्षी पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन चाहेको बताए ।  पार्टीलाई कम्जोर बनाएर म बलियो हुन चाहन्न पौडेलले भने । उनले काँग्रेसलाई अहिले सरकारमा पुग्ने कुनै हतार नभएको बताए । कार्यकर्तालाई एकजुट भएर सङ्गठन विस्तारमा अगाडि बढ्न काँग्रेस नेता पौडेलले आग्रह गरे । तनहुँलाई नेपालमै नमुना जिल्ला बनाइने पौडेलले दाबी गरे । उनले भने–“अबको चार÷पाँच वर्षमा कृषि, पर्यटन र जलस्रोतको विस्तार गरी विकासमा कायापलट गरिन्छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र गोविन्द भट्टराई, सांसद रामचन्द्र पोख्रेल, झुलबहादुर आले, पूर्व राज्यमन्त्री अमरराज कैनी, पार्टी सभापति वैकुण्ठ न्यौपाने, क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेन्द्र श्रेष्ठलगायतले मुलुकभित्र देखिएका जल्दाबल्दा समस्या समाधानका लागि काँग्रेसको नेतृत्वले काम गर्नुपर्ने बताए ।





Post a Comment

 
Top