राजाराम पौडेल÷गोल्डेन
नाटक ‘पुलिस र प्यास’ नाटक बैशाख १७ र १८ मा पोखरा उद्योग वाणिज्य संघको सभा हलमा दिउँसो ४ बजे मञ्चन हुँदैछ । पञ्चामृत नाट्य समूह पोखराको संयोजनमा यो नाटकको मञ्चन हुने लागेको हो । नाटकमा परिवर्तन, दिल प्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, मनिषा गौतम, विवश बाबु, मुना गुरुङ, सितल अधिकारी लगायतका नव कलाकारको अभिनय रहेको छ । नाटकमा चो, जँड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्र मार्फत समाजमा भइरहेको विकृति र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको नाटकका लेखक एवं निर्देशक कृष्ण उदासीले गोल्डेन न्यूज दैनिकलाई बताए । ‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ’–उदासीले भने । नाटकमा परिवर्तन इन्स्पेक्टर कालुरामको पात्रमा देखिने छन् । हवल्दार फूलमतीको भूमिका मुना गुरुङ, आस्था नामको पागलको भूमिका शितला अधिकारी, दुक्किलाल जुवाडेको भूमिका दिलप्रसाद गुरुङले निभाउँदै छन् ।
यसैगरी अनुमति मैया यौन व्यवसायीको भूमिका सवु पाठक, नत्थुराम जड्याको भूमिकामा आशिष अधिकारी र टोलप्रसाद चोरको भूमिका विवश बाबु देखिने छन् । मनिषा गौतमको अभिनय सँगै सह–निर्देशन समेत रहेको छ । उदासीको यो १०३ आंै नाटक हो । यस अगाडि उनले १०२ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरकपन यसमा पाइने नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरुमार्फत अभिनयमा नाटक पारखीहरुको नाटकको तृष्णा सहजै मेटाउन सफल आफूहरु रहने दावी उनको छ । केहि वर्ष निरन्तर नाटक गर्ने साेंच उनले बनाएका छन् । उनको उपन्यास ‘अन्तर चेतन’ प्रकाशनको तयारीमा छ । वर्कसप चलाएर पोखरामा नाट्य क्षेत्रमा युवाहरुलाई आर्कषण गर्ने र नाटकको माहोल पोखरामा निरन्तर बनाइराख्ने योजना उनको छ । ‘विद्यालयले नाटकलाइ प्राथमिकता दिने हो भने नाट्य क्षेत्रको आर्कषण बढ्छ’–उनले भने ।
‘पुलिस र प्यास’ नाटकका लेखक एवं निर्देशक कृष्ण उदासीको वास्तविक नाम कृष्णलाल बाँस्तोला हो । साहित्य क्षेत्रमा समेत परिचित र उत्तिकै सक्रिय उनी नाट्य क्षेत्रबाट राम्रो आम्दानी नभएपनि यो क्षेत्रबाट अलग भएर बस्न नसकेका कारण यो क्षेत्रमा यहाँसम्म आइपुग्न सफल भएका हुन् । नाटकमा स्थापित हुने लक्ष्यका साथ उनले आफूले सञ्चालन गरेको स्कुल समेत बेचेर राजधानी हानिए । झण्डै ३० वर्ष यस क्षेत्रको अनुभवबाट खारिएका उदासी पोखराको नाट्य क्षेत्रलाई पुनःस्थापित गर्न निरन्तर सक्रिय छन् । पोखरामा नाटकको सम्भावना राम्रो भएकोले नाट्य क्षेत्रमा अगाडि बढ्ने उर्जा मिलेको उनी बताउँछन् । ‘पोखरामा युवाहरुको आर्कषण नाटकमा छ, नाटक हेर्ने दर्शक पनि छन्’–उनले भने । सुस्ताएको पोखरेली नाट्य क्षेत्रलाई अन्तर्राष्ट्रिय रक्सी भट्टी मञ्चन प्रश्चात व्युताँइदिएको दावी उनी गर्छन् । पोखरामा नाटकघर हुने हो भने नाट्य क्षेत्रमा काम गर्न सहजता हुने उनले बताए । ‘नाट्य एकेडेमि भए रिर्यसल गर्न सहज मात्र होइन कलाकारलाई व्यवसायिक बनाउन सकिन्छ, पहिला निर्वाह गरियो यसमा ध्यान दिइएन अहिले मुख्य आवश्यकता यहि बनेको छ’–उनले भने ।
अग्रजहरुको इच्छाशक्ति नहुँदा संगीत नाट्य प्रतिष्ठान पोखरामा स्थापना हुन नसकेको उनको भनाइ छ । ‘पूर्वका कलाकारसंग पश्चिमका कलाकारले लड्न सक्दैनन् यतिमात्र होइन नयाँ कलाकारको जन्मले आफू पछाडि पर्ने डर स्थापित नाट्यकर्मीमा छ’–उनी दावी गर्छन् । विगतमा डाँफे कला मन्दिर, पोखरा उद्योग वाणीज्य संघको सभाहल, पोखरा सभागृहमा नाटक देखाउने गर्दा छुट्टै नाटकघर बनाउनतर्फ पुहँच भएका नाट्यकर्मीको ध्यान समेत पुग्न नसकेको उनी बताउँछन् । स्थायी ठेगाना पोखरा २९ हेम्जा भएपनि उनको जन्म भारतको गुवाटीमा वि.स.२०२५ कार्तीक ६ गते भएको हो । उनी बुबा तारापती र आमा गौरी बाँस्तोलाको पहिलो सन्तानको रुपमा जन्मिएका थिए । बाल्यकालमा पढाइमा तेज मात्र होइन नाटकमा रुचि समेत उतिकै राख्थे । त्यतिबेला रामलिला, कृष्णलिलामा अभिनय उनले गरे । कक्षा आठमा पढ्दाबाट कविता लेख्न शुरु गरेका उनमा छन्दमा कविता लेख्ने खुबी थियो । ‘शिक्षकले गौतमबुद्धको पाठलाई कवितामा ढालेर ल्याउनु भनेर गृहकार्य दिएपछि कविता लेख्न थाले’–उनी सम्झन्छन् । स्कुलमा कवितामा अन्ताक्षरी खेल्न गरेको उनले अझै बिर्सेका छैनन् । कक्षा ९ मा हाँस्यनाटक ‘मसिनेको शंका’ पढेपछि नाटकतर्फ उनको रुचि बढेको हो । वि.स.२०४० सालमा ‘बसन्तविन्दु’ नाटक उनले लेखे । उनले लेखेको पहिलो नाटक यहि हो । उनले ‘देशभक्क्ति’ खण्डकाव्य र ‘हृदय हिमाल’ कविता सग्रह त्यतिबेला तयार पारे तर यी कृति प्रकाशित भने भएनन् ।
उच्च शिक्षा अध्ययनका लागि पोखरा आएसँगै उनको नाटक र साहित्यको क्षेत्रको यात्राले गति लिएको हो । हुन त पोखरामा पढ्ने र मणीज्योती निमावि सराङ्गकोटमा पढाउने उनको दैनिकी भएपनि त्यसबाट पाएको समयका नाटक र कवितामा दिन्थे । उनले तीन दिनमा लेखेका नाटक ‘आँशुको बदला’ २०४४ मा प्रर्दशन भयो । यो नाटक मार्फत अभिनयमा समेत उनको डेब्यु भयो । विस्तारै नाटक लेखनमा मात्रै नभएर नाटकमा अभिनय गर्ने क्रम उनको बढ्दै गयो । अरुका नाटकमा समेत उनले काम गरे । वि.स. २०४६ ‘व्यथा भित्रको कथा’ नाटक मार्फत निर्देशनतर्फ उनी होमिए । ‘माइक स्ट्याण्डमा ठड्याउने, झुण्ड्याउने साउण्डको समस्या हुन्थ्यो, कलाकारले चर्को बोल्नुपर्ने त्यसैलेत आजसम्म पनि मेरो स्वर चर्को छ’ उनी विगतका दिन सम्झदै भन्छन् । असिम कल्पना, अध्यारो वस्ती मन त्यसै त्यसै दुख्छमार्फत एक सम्भावना बोकेको नाट्यकर्मीको रुपमा आफूलाई प्रमाणित गर्न सफल उनी बने । वि.स. २०५० सालमा राष्ट्रिय नाटक महोत्सवमा ‘अन्तिम संहार’ नाटक प्रज्ञा प्रतिष्ठानमा देखाउने अवसर पाए । त्यतिबेला नाटक हेर्ने नाट्यकर्मीले दक्षिण एशियामानै पहिलो प्रयोग भनेर उनको तारिफ गरे । उनले प्रज्ञा प्रतिष्ठानको हलमा अस्र्व ज्वाला, अभ्यन्तर, अंगना, अन्तर्राष्ट्रिय रक्सि भट्टी लगायतका नाटक मञ्चन गरिसकेका छन् ।
उनले हेम्जामा बोडिङ स्कुल सञ्चालन गरे भने आर्दश बोडिङ स्कूलमा प्रिन्सिपल, कुम्दिनी होम्समा प्राध्यापन पेशा । हाल उनी राष्ट्रिय उच्च माविका प्राचार्य हुन् । अनुसन्धान गरेर मात्र नाटक लेख्ने बानी उनको छ । त्यसैले त उनका नाटक सन्देसमूलक मात्र नभई दर्शकलाई आफ्नोपनको महशुस हुन्छ । हुन त नाटकमार्फत मनोरञ्जन दिन केहि काल्पनिक कुरा समेत समावेश गर्न उनी पछि भने पर्दैनन् । उनका नाटकको कथामा दर्शकले आफूलाई पाउँछन् । उनले लेखन निर्देशन गरेका विभिन्न रेडियो नाटक रेडियो नेपाल र विभिन्न एफ एमबाट प्रशारण भैसकेका छन् । उनको वि.स. २०५१ ‘आस्थाको वस्ती’ नाटकबाट रेडियो नेपालको राष्ट्रव्यापी रेडियो नाटक महोसवमा एवार्ड प्राप्त उनले गरे । यो नाटकमा लेखन निर्देशन र अभिनय उनले गरेका थिए । उनका अशुंमाली अक्षरजीवि, अन्तिम संहार, एक हुल क¥याङ कुरुङ, मैया माला गीति काव्य, नयन तालैमा गजल सग्रह परविन्दा उपन्यास, अन्तिम संहार र अग्निकुण्ड नाटक सग्रह प्रकाशित भएका छन् । कहि हार कहि जीत, आजको पोखरा सिरियल, घर परिवार, अध्यारोवस्ती लगायतका सानोपर्दाका फिल्म र टेलिफिल्ममा उनले काम गरे । फिल्म ‘गन्तव्य’ को लेखन निर्देशन गीत रचना गरेर ठूलो पर्दामा उनले डेब्यु गरेका छन् । यो फिल्म आगामी भदौमा नेपालभर प्रदर्शन गर्ने तयारीमा रहेको उनले बताए ।
वि.स. २०५१ मा हेम्जाको बोडिङ बेचेर काठमाडांै हानिए । काठमाडौंमा चण्डेश्वरी प्रकाशनमा जागिर उनले सुरु गरे भने प्रतियोगिता मञ्चको सह–सम्पादन गर्ने अवसर । तर उनी धेरै समय काठमाडांै बसेनन्, पोखरा फर्किएर संर्घष जारी राखे । उनी लोकतान्त्रिक वागमय समाज, पोखरेली नाट्य प्रतिष्ठान, युथ क्रियशन थियटर, पञ्चामृत नाट्य समूह, गजल सन्ध्या पोखरा, संगीत प्रतिष्ठान केन्द्र, हेम्जा साहित्यिक प्रतिष्ठान लगायतमा आवद्ध छन् । उनलाई हरफ साहित्यले अभिनन्दन, गजल प्रतिभा सम्मान, अक्षरयात्रा सम्मान गरेको छ । २०६२ मा युद्ध पिरामिड नाटक सग्रह प्रकाशित गरेका उनले काजी रोशन साहित्य पुरस्कार जितेका छन् । उनको नाटकमा कविता मञ्चन पोखरामा भैसकेको छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm
Post a Comment