0
खानी तथा भूगर्भ विभागले गत वैशाख १२ को गोरखा भूकम्प र त्यसअघिका ठूला भूकम्पको समीक्षा गरी आगामी रणनीति तय गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ । गोरखा भूकम्प गएको एक वर्ष पुगेको सन्दर्भ पारेर आगामी वैशाख १२ र १३ गते गोष्ठी आयोजना गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हालसम्म भूकम्प सम्बन्धी भौगर्भिक, सामाजिक, आर्थिक विषयमा आधारित प्रकाशित तथ्यलाई सबैकासामु ल्याउने र देश तथा विदेशका अनुसन्धानकर्ताबीच अन्तक्रिया गरिने खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजीत प्रसाद महतोले बताए । उक्त कार्यशालामा भारत, चीन, संयुक्तराज्य अमेरिका, आइरिस, स्पेन, जर्मनी फ्रान्स, जापान, भेनेजुयला, इटाली, सिङ्गापुर, बेलायतलगायतका राष्टूका भूवैज्ञानिकको सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रममा विभिन्न सात शीर्षकमा कुल ५८ वटा कार्यपत्र प्रस्तुत हुनेछन् जसमध्ये ३२ वटा प्रस्तुति विदेशी विशेषज्ञबाट हुनेछन् भने २६ वटा प्रस्तुति नेपाली विशेषज्ञबाट हुने आयोजकले जनाएको छ । कार्यशाला आयोजक समिति सदस्य राजेन्द्रप्रसाद खनालले कार्यशालामा हिमाली क्षेत्रमा काम गरेका ख्यातिप्राप्त भूगर्भविद्सहित २५० जनाको सहभागिता रहने बताए । विगतका भूकम्पबाट के पाठ सिकेर आगामी दिनमा गर्नुपर्ने रणनीतिक योजना कार्यक्रमबारे परामर्श हुने उनले उल्लेख गरे । प्राविधिक समितिका संयोजक भूगर्भविद् डा सोमनाथ सापकोटाका अनुसार हाल विभाग मातहतको २१ वटा साइस्मिक स्टेसन भूकम्प मापन गर्ने कार्यबाहेक अन्य अध्ययन अनुसन्धान गर्ने कार्यका लागि अपुग भएकाले गोरखादेखि रामेछापसम्म अस्थायी रुपमा करिब १०० वटा साइस्मिक स्टेसन स्थापना गरी परकम्पको रेकर्ड गर्ने कार्य सुरु गरिएको जानकारी दिए।भूकम्प जानेबित्तिकै फ्रान्स, अमेरिका, बेलायत, जर्मनी, जापान आदि मुलुकका संस्था तथा वैज्ञानिकसँग मिलेर ती स्टेसन स्थापना गरिएको हो । त्यस्तै विभागले गोरखा भूकम्पपश्चात् भूकम्प प्रभावित क्षेत्रमा द्रुत भौगर्भिक अध्ययन गरी भूकम्प पीडितको अस्थायी बसोबास गराउन सुरक्षित स्थानको पहिचान तथा हालै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग मिलेर भूकम्प प्रभावित क्षेत्रको विस्तृत भौगर्भिक अध्ययन गर्ने कार्यसमेत सुरु गरिएको विभागले जनाएको छ । यसैबीच ‘गोर्खा भूकम्प’ गएको वार्षिक स्मृतिमा राष्ट्रिय खुल्ला वेसबल प्रतियोगिता हुने भएको छ । नेपाल वेसबल तथा सफ्टबल सङ्घ र जापानको लालीगुराँस क्लबको संयुक्त आयोजनामा हुने ‘मेक फर स्माइल’ नाम दिइएको प्रतियोगितामा करिब छ टोलीले भाग लिनेछन् । प्रतियोगितामा जापानी क्लब लालीगुराँससँगै नेपालका पोखरा यतिज्का ‘सिनियर’ र ‘जुनियर’ दुई टोलीले भाग लिनेछन् । त्यस्तै अन्य टोलीमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, भक्तपुर राइजिङ स्टार, गोर्खा क्रिडललगायतले भाग लिनेछन् । लालीगुराँस क्लबका अध्यक्ष योहे कोवायसीले सन् १९९९ देखि आफ्नो क्लबले नेपालमा वेसबल खेलको विकास र विस्तारका लागि काम गर्दै आएको जानकारी दिए।  हाल जापानमा व्यावसायिक वेसबल खेलिरहेका नेपाली राष्ट्रिय टोलीका कप्तान ईश्वर थापाले यो धेरै महँगो खेल भएकाले नेपालमा गति लिन नसकेको बताए । राउन्डरोबिनका आधारमा शीर्ष स्थानमा पुगेका दुई टोलीबीच आगामी वैशाख १४ गते फाइनल खेल हुनेछ । विजेतालाई ट्रफी, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
३० हजार बढी भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हालसम्म गोरखा भूकम्पका ३० हजारभन्दा बढी परकम्प रेकर्ड गरिएका छन् तीमध्ये ४ रिक्टर स्केलभन्दामाथिका ४४८ वटा परकम्प गएका छन् ।   नेपालमा २०३५ सालमा ललितपुरको फूलचोकीमा एउटा भूकम्प मापन गर्ने स्टेसन राखी सुरु गरिएको थियो । भूकम्प मापन सञ्जाल समयसँगै वृद्धि भई हाल नेपालभर रहेका २१ वटा साइस्मिक स्टेसनबाट प्राप्त तथ्याङ्कका आधारमा नेपालमा जाने ४ रिक्टर स्केलभन्दा ठूला भूकम्पको केन्द्रबिन्दु, मान र उद्गम समयको जानकारी दिने गरिएको केन्द्रले जनाएको छ ।








Post a Comment

 
Top