गोल्डेन न्यूज संवाददाता
समयमा राज्य पक्ष र विद्रोही पक्षबाट मारिएका पत्रकारहरुका छोरोछोरीहरुको अध्ययनका लागि पत्रकारितासंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट प्राप्त सहयोगले निरन्तरता पाइरहेको छ । विशेषगरि द्वन्दकालमा तत्कालिन सरकार र विद्रोही पक्ष नेकपा माओवादीद्वारा देशको विभिन्न स्थानमा दर्जनौं पत्रकारहरुको हत्या भएको थियो । हत्या गरिएका पत्रकारका छोरा–छोरीहरुमध्ये ३२ जनालाई स्नातक तहसम्मसम्मको अध्ययनका लागि आवश्यक खर्च उपलव्ध गराउने काम नेपाल चिल्ड्रेन एजुकेशन फण्डले गर्दै आएको छ
अन्तर्राष्ट्रिय पत्रकार महासंघको परामर्शमा अष्ट्रेलियन युनियन अफ जर्नालिष्टको मिडिया सेफ्टी एण्ड सोलिडारिटी फण्डमार्फत नेपाल चिल्ड्रेन एजुकेशन फण्डले नेपालमा मारिएका पत्रकारका सन्तानका लागि खर्च उपलव्ध गराउँदै आएको हो । विगतमा ३२ जना बालबालिकाले अध्ययनका लागि आवश्यक खर्च प्राप्त गरिरहेकोमा ५ जनाले स्नातक तह पुरा गरेकोले हाल २७ जनाले मात्र उक्त सुविधा पाइरहेका छन् । नेपाल चिल्ड्रेन एजुकेशन फण्डको संचालन नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी संयोजक तथा पूर्व सभापतिद्वय धर्मेन्द्र झा र शिव गाउँलेका साथै पत्रकार रीता गुरुङ सदस्य रहेको समितिले गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघको समन्वयमा बालबालिकाहरुलाई शिक्षा उपलव्ध गराउन आफूहरुले रचनात्मक प्रयास गरिरहेको बताउँदै फण्डका संयोजक विष्णु निष्ठुरीले नेपालमा यो कार्यक्रम सफल भएपछि आइएफजेले पछिल्लो २ वर्षदेखि फिलिपिन्समा समेत यस्तै कार्यक्रम शुरु गरेको गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यस किसिमको सहयोग पाइरहेका बालबालिका र तिनका अभिभावकहरुलाई प्रत्येक वर्ष भेला गराएर उनीहरुलाई देश, समाज र संस्कृतिका बारेमा जानकारी गराइनुका साथै उनीहरुको अवस्था र समस्याका बारेमा बुझ्ने गरिएको छ । भ्याकेशन क्याम्प नाम दिइएको यस्तो भेला पाचौं पटक पोखरामा बिहीबार शुरु भएको छ । भेला ३ दिनसम्म जारी रहनेछ । यसअघि काठमाडौं, बनेपा, चितवन र ललितपुरमा यस्तो क्याम्प भएको थियो । क्याम्पमा सहभागी अभिभावकहलाई फण्डको तर्फबाट आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपाल, वरिष्ठ व्यङ्गचित्रकार दुर्गा बराल वात्स्यायन, फण्डका संयोजक विष्णु निष्ठुरी, महासंघका पूर्व उपसभापतिद्वय गंगाधर पराजुली र बद्रीविनोद प्रतिक लगायतले उक्त सहयोग अभिभावकहरुलाई हस्तान्तरण गरेका थिए ।
भेलामा नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले द्वन्दकालमा मारिएका पत्रकारहरुको मुद्धा कसरी सुल्झाउने भन्ने बारेमा सरकारसंग कुरा गर्ने बताए । उनले पत्रकार मार्ने अपराधी जोसुकै भएपनि कानूनी कार्वाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन सरकार लाग्नुपर्नैमा जोड दिंदै त्यसका लागि महासंघको पहल गर्ने बताए ।भेलामा महासंघका पूर्व सभापति किशोर नेपालले पीडित बालबालिकाहरुलाई विभिन्न चुनौतीका बाबजूद शिक्षाका लागि सहयोग भइरहेको भन्दै सन्तोष प्रकट गरे । राज्यको तर्फबाट हुनुपर्ने काम विदेशी पत्रकारको सहयोगमा नेपाली पत्रकारहरुले गरेको उनले बताए । वरिष्ठ कार्टुनिष्ट दुर्गा बरालले द्वन्दकालमा परिवार मारिएपनि एक्लो अनुभूति नगर्न र प्राप्त सुविधालाइ उपयोग गरेर प्रगतितर्फ उन्मुख हुन सुझाव दिए । कार्यक्रममा फण्डका सदस्य रीता गुरुङ, समीर घिमिरेले पनि आफ्नो भनाइ राखेकी थिइन ।
Post a Comment