गोल्डेन न्यूज संवाददाता
अहिले संचारमाध्यमहरुमा सिद्धबाबा सर्वत्र छाएका छन् । पोखरास्थित एक घरभित्र ८ दिनसम्म समाधिमा बसेका (बिना अक्सिजन) बसेका भन्दै सिद्धबाबाको चर्चा व्यापक बनेको छ । कतिपय चिकित्सकले ३ मिनेटभन्दा बढी अक्सिजनबिना मान्छे बाँच्नु विज्ञानका लागि नै चुनौति भएको बताइरहेका छन् । बहालवाला मन्त्री, पूर्वमन्त्री, प्रशासक, नेता, सामाजिक कार्यकर्ता, पत्रकार सबै सिद्ध बाबाको पछाडि लागेका छन् । ८ दिनसम्म बिनाअक्सिजन प्लाष्टिकले बेरिएको बन्द बाकसभित्र समाधिलिन व्यक्ति कसरी जिउँदै रह्यो भन्ने जिज्ञासा र कौतुहुलता व्यापक छ । ८ दिनसम्म समाधि बसेर वाही–वाही कमाएका सिद्धबाबाको जयजयकार गर्दै पोखरामा रथारोहण नै गरिएको छ । व्यापक चर्चा र भक्तहरुको अपार समर्थन तथा जयजयकार पाइरहेका सिद्धबाबा पूर्वमा गैरकानूनी काममा संलग्न भएपछि कारबाहीमा परिने डरले रातारात पोखरा पुगेका र त्यहाँ आफ्ना कर्तुत लुकाउन समाधिमा बसेर छोप्ने प्रयास गरेका रोचक रहस्य बिजशालाले पत्ता लगाएको छ । सुनसरीको चतरामा बस्दै आएका कृष्णदास महाराज अथवा सिद्धबाबा वा मनलागी आफ्नो नाम आफैँ राख्दै हिँड्ने सोलुको जुबुका कृष्णबहादुर गिरी दोहोरो नागरिकता र जडीबुटीको अबैध कारोबारमा संलग्न रहेको संगीन आरोप खेपिरहेका व्यक्ति हुन् ।पूर्वमा हुँदा ‘कृष्णदास महाराज’ र पोखरामा पुगेर ‘सिद्धबाबा’ नामले चर्चा कमाएका गिरीले दोहोरो नागरिकता लिएर अबैध काम गरिरहेको भन्दै चैत अन्तिम साता स–प्रमाण जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी नै परेको छ । उजुरी उनकै आफन्तले हालेका स्रोतले जनाएको छ । उनी केही समयअघिदेखि विवादमा तानिएका व्यक्ति हुन् । कृष्णदास भनिने कृष्णबहादुर गिरीले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरक–फरक लेखाई सोलू र सुनसरीबाट दुईवटा नागरिकता लिएर कारोबार गर्ने गरेको प्रमाणित भएपछि जेल सजायमा परिने डरले हतार–हतार पोखरा पुगेर उनले समाधिमा बसी अपार चर्चा कमाई त्यसको आडमा कानूनी कारबाहीबाट बच्ने प्रपञ्च रचेका स्रोतहरुले दाबी गरेका छन् । गिरीले सोलुबाट नाम कृष्णबहादुर गिरी ठेगाना जुबु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको २२२७।५९५ नम्बरको नागरिकता लिएका छन भने २०६५ साल पुष १७ गते सुनसरीबाट नाम श्री बैष्णब कृष्णदासका नाममा जन्म ठेगाना जुबू सोलू, स्थायी बसोबास बराहक्षेत्र–१ सुनसरी, जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४।१३२८०८ नम्बरको नागरिकता लिएका छन् । दुवै नागरिकतामा जन्मस्थान जुबु सोलू र बुबाको नाम भने छबिलाल गिरी नै लेखिएको छ । नाम र जन्ममिति फरक–फरक छ । सुनसरीबाट जारी नागरिकता मा प्रशासकीय अधिकृत वेदनिधि खनाल र सोलुबाट जारी नागरिकतामा भिमसेर रुम्दालीले हस्ताक्षर गरेका छन् । कृष्णदासले दुईवटा नागरिकता मात्र लिएका होइनन्, दुवैबाट बैंक खाता संचालन गरी आर्थिक कारोबार र जग्गा जमिन समेत खरिदबिक्री गरेको पाइएको छ । उनले सुनसरीमा कृष्णबहादुर गिरीका नाममा र देवघाटमा श्री बैष्णब कृष्णदासका नाममा जग्गा जमिन गरिद बिक्री गरेको पाइएको छ । यी लगायतका काम थाहा पाएका परिवारका सदस्यलाई उनले यस्तो कुरा बाहिर लगे मारिदिने सम्मको धम्की दिने गरेका छन् । आफूलाई साधु र सन्तको उपमा दिने सिद्धबाबाले गोप्य रुपमा जग्गाको कारोबार गर्ने गरेका, आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने भन्दै जडीबुटीको तस्करी गर्ने गरेको संगीन आरोप समेत लागेको छ । कृष्णदासले फरक–फरक विवरण राखी दोहोरो नागरिकता लिएर दुरुपयोग गर्ने मात्र होइन नाडी छामेर नै बिरामी पत्ता लगाउने भन्दै चतरामा बसेर अबैध किसिमले जडिबुटीको कारोबार समेत गरिरहेका स्थानीयको दाबी छ । अझ आश्चर्यको कुरा त गैरकानूनी ढंगले दोहोरो नागरिकता लिने उनै ढोंगी बाबालाई राज्यको तर्फबाट एकजना प्रहरी हवल्दार पनि उपलब्ध गराएको छ । सुरक्षाकर्मीलाई सँगै गाडीमा राखेपछि र गेरु बस्त्र लगाएको साधु अगाडि बसेपछि उनको गाडी कसैले चेकजाँच गर्दैन । उनी त्यही गाडीमार्फत अबैध कारोबार समेत गर्छन । देश र जनताको सेवा गर्छु भनेर सेवापीठ खोलेर बसेका साधुले सस्तो पर्ने भनेर भारतीय नागरिकले दान दियो भनेर भारतीय नं. ः ी द्धद्य ठटटज्ञ प्लेटको सुविधासम्पन्न महेन्द्रा कम्पनीको फूल अप्सन स्कर्पियो गाडी बिनाभन्सार पास विगत दुई बर्ष देखि नेपालमा निर्वाध रुपमा चलिरहेको पिस पोखरा अनलाइनले उल्लेख गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले कृष्णदासको बारेमा दुईवटा नागरिकता लिएको विषयमा उजुरी परेको बताए । उनका अनुसार उजुरीको विषयमा अनुसन्धान भइरहेको र प्रमाणहरु जुटाएर आवश्यक कारबाही गरिने बताए । दोहोरो नागरिकता लिएको विषय बाहेक भन्सार जाँचपास बिना भारतीय नम्बर प्लेटको गाडी चलाएको, जडीबुटी तस्करीमा संलग्न भएको विषयमा चाहि कुनै उजुरी नरहेको उनले प्रष्ट्याए । अधिवक्ता गोपी शर्मा सुवेदीका अनुसार नेपालको नागरिकता ऐन २०६३ को दफा १३ मा दोहोरो नागरिकता प्रमाणपत्र लिनुलाई गैरकानूनी काम भनि परिभाषित गरेको छ ।
Post a Comment