0
गोल्डेन न्यूज संवाददाता
सुशीलको नेतृत्वमा बनाऔँ संविधान, समृद्ध राष्टू निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३आँै महाधिवेशन काठमाडौँमा सुरु भएको छ । करिब एक वर्ष ६ महिना ढिलो गरी सबैभन्दा पुरानो पार्टी काँग्रेसको महाधिवेशन सुरु भएको हो । १२आँै महाधिवेशन पनि काठमाडौँमा नै २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा नै सम्पन्न भएको थियो ।खुल्लामञ्चमा आयोजित भव्य समारोहबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुद्घाटन गर्नुभयो । आफ्नो सभापतिले नै पार्टीको महाधिवेशनको उद्घाटन गर्ने परम्परा कबाभ्रेसमा रहिआएको छ । उद्घाटनअघि नेपाल सांस्कृतिक सङ्घका कलाकारले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि आजदेखि नै मनोनयन सुरु भएको छ । काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी जम्मा तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनमा शुभकामना मन्तव्य दिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता राजीव पराजुली, उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपप्रधानमन्त्री एवम् नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनाली सहभागी थिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत राजनीति दलका नेताहरूले महाधिवेशनको उद्घाटन सत्रमा भाग लिइएका थिए । 
समारोहमा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुक हजारौँको सङ्ख्यामा सहभागिता थियो । 
उद्घाटन समारोहमा भारतको विहारका मुख्यमन्त्री नीतिश कुमार, बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलालगायतका विशिष्ट पाहुनाले भाग लिएका थिए । महाधिवेशन सुरु हुनुअघि काँग्रेसले राजधानीका विभिन्न स्थानबाट आयोजना गरेको सांस्कृतिक, झाँकीसहितको ¥याली खुल्लामञ्च प्रवेश गरेको थियो । महाधिवेशनका लागि खुल्लामञ्च लाई विशेष रूपमा सिङ्गारिएको छ । राजधानीका प्रमुख सडक, गल्ली र चोकमा काँग्रेसको चारतारे झन्डाले राजधानी रङ्गिएको छ । महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमा प्रवेश गर्ने दुबैतर्फबाट विशेष स्वागतद्वार निर्माण गरिएको छ । खुल्लामञ्च परिसर र आसपासका सडकमा संस्थापक नेताहरू बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पूर्व सभापतिहरू गिरिजाप्रसाद कोइराला एवम् सुशील कोइरालाको चित्र अङ्कित फ्लेक्स ब्यानरले झकिझकाउ पारिएको छ ।
मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशीले राससलाई जानकारी दिए । 
महाधिवेशनको उद्घाटन सत्रलाईसम्बोधन गर्दै नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले मुलुक परिवर्तन गर्न काँग्रेस आफँैमा पनि परिवर्तन हुनुपर्ने बताएका छन्। उनले देशलाई परिवर्तन गर्न, बचाउन र समृद्ध बनाउन काँग्रेस आफैँ परिवर्तन हुनु आवश्यक रहेको स्पष्ट पारे । नेता पौडेलले काँग्रेसमा नेता कार्यकर्ताको उचित मूल्याङ्कनको हुन आवश्यक रहेकामा जोड दिँदै भागबन्डाका आधारमा होइन कामका आधारमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।  उनले भने–“हाम्रो राजनीति राष्ट्रको सेवाका लागि हो ।” 
काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै पार्टीको प्रमुख साङ्गठनिक आधार भएको भन्दै उनले नयाँ संविधानले लोकतान्त्रिक समाजवादलाई चरितार्थ गर्न खोजेको बताए । नयाँ संविधान समाजवाद र लोकतन्त्रको ‘फ्युजन’का रुपमा आएको बताउँदै उनले भने–“यसले सबै विचारलाई समेटेको छ ।”
महाधिवेशनले काँग्रेसको भावी कार्यदिशा, चिन्तन र मुलुकको समस्या समाधानका लागि मार्गनिर्देशन गर्ने स्पष्ट पार्दै कावा सभापति पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्न पनि प्रजातान्त्रिक समाजवाद नै आवश्यक पर्ने जिकिर गरे ।  
उनले भने–“बिपीले झन्डै सात दशकअघि संविधानसभाबाट संविधान जारी गर्ने देखेको सपना आज काँग्रेसकै नेतृत्वमा पूरा भएको छ, यसको कार्यान्वयनमा पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।” तराईका जायज विषयलाई सम्बोधन गर्न काँग्रेस गम्भीर हुनाका साथै नेतृत्वदायी पहल गरेको अवगत गराउँदै उनले संविधानमा भएका असन्तुष्टि सच्याउन पार्टी तयार रहेको उद्घोष गरे । सधैँ राजनीतिमा मात्र नरुमलिई आर्थिक क्रान्तिमा जानुपर्ने बताउँदै नेता पौडेलले भने–‘संविधानले व्यवस्था गरेका समावेशी अधिकारलाई व्यवहारमा लागू गर्न, शान्ति, विकास र राजनीतिक स्थिरतालाई कायम गर्ने बारेमा महाधिवेशनमा बृहत् छलफल हुनेछ ।” नेपालमा राजनीति र राजनीतिकर्मी आलोचित हुने गरेको बताउँदै उनले यसलाई शुद्धीकरण र सम्मानित बनाउनुपर्ने बेला आएको सुझाव दिए।

Post a Comment

 
Top