0
मौषमको खरावी नभएपनि एकैसाता नेपालको आकासमा २ वटा जहाज दुर्घटना भए । ती दुर्घटनामा २१ नेपाली यात्रीको ज्यान गयो भने ४ जना बरिष्ठ र अनुभवी पाइलटको ज्यान गयो । १८ बर्षदेखि पोखरा मुस्ताङ रुटमा हवाइ उडान गरिरहेका क्याप्टेनले पनि थाहा नपाएको भूगोल कसले चिन्छ ? त्यस्तो अनुभवले नजानेको मौषम सर्वसाधारण नेपाली जनताले कसरी बुझ्न सक्छन् ? ती घटनाको छानविन समिति गठन भैसकेको छ । तीन महिनाको अध्ययनबाट प्रतिवेदन पनि आउला । तर हवाइ उडानको कुरा चल्नासाथ एकपटक सोच्नै पर्ने भएको छ । सडक मार्गले अझै पनि हाम्रा धेरै जिल्लामा सहज छैन । कर्णालीका सबै जिल्ला, सुदूर पश्चिमका अधिकांस जिल्ला, धौलागिरी र गण्डकीका हिमालपारीका मनाङ र मुस्ताङ तथा हिमाली क्षेत्रका अधिकांस जिल्लाको वास्तविकता हवाइ यातायात विना संभवै नभएका स्थान हुन् । तर जस्तो सुकै मौषममा पनि अकल्पनीय दुर्घटना हुन सक्ने अवस्था देखियो । यस्तो घटना किन हुन्छ ? एकपटक राज्यले गम्भिर बनेर सोच्न जरुरी भएको छ । मुस्ताङ रुटमा दैनिक ५ देखि १० मिनेट सम्म जहाज हराउने अवस्था रहेछ । घोडेपानी सम्मको आकासमा पोखराको टावरले सम्पर्क दिने, मुस्ताङ नपुगेसम्म सूचना समेत थाहा नहुने परिस्थितिले गत साताको दुर्घटना भएको हो । अन्नपूर्ण क्षेत्रमा सुख्खा पहिरो गएकोले धुवा धुलो उडेको भन्ने एक दिन अघिनै समाचारमा आएको थियो । सम्पर्क समेत गर्न नसक्ने रुटमा अन्यौलताका विच किन जहाज उड्यो त ? हाम्रो बायुसेवा निगमले त्यति कुरा पहिचान समेत नगरीकन जहाज उडाउने अनुमति दिएको छ । म्याग्दी र मुस्ताङमा ८ हजार मीटर भन्दा अग्ला पहाडहरु प्रसस्त छन् । धौलागिरी हिमाल देखि अन्नपूर्ण ऋखला यसै मार्गमा पर्छ भन्ने जानेर पनि उडानलाइ कति सम्म उचाइमा लैजाने भन्ने हेक्का पनि नराखेको पाइयो । कुनैपनि बिमानस्थलमा वैकल्पिक रुटको व्यवस्था गरेको पाइएको छैन । राजधानीको त्रिभूवन विमानस्थलमा समेत कहिले काही घण्टौंसम्म जहाजहरु ट्राफिक जाममा पर्ने गरेका छन् । अन्तर्राष्ट्रिय तहका ठूला र जेट विमानहरु उड्न लागेको समयमा घरेलु उडानका जहाजले ल्याण्ड गर्ने अवसर नपाएर आकासमै घुम्नुपर्ने अवस्था हुन्छ । राज्यको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सूचनाको उचित व्यवस्था भएको छैन भने ग्रामीण विमानस्थलको कसरी सुधार होला । तसर्थ कम्तिमा देशभरका सबै विमानस्थललाइ व्यवस्थित गर्ने, उक्त बिमानस्थलमा जाने कम्तिमा दुइ–दुइवटा रुटको व्यवस्थापन गर्न अत्यन्त जरुरी छ । एउटा रुटमा केही खरावी आउदा निगमले अर्को रुटमा अनुमति दिने व्यवस्था हुनुपर्छ । साथै सबै रुटको सबै क्षेत्रमा अनिवार्य टावरले सम्पर्क दिने व्यवस्था गर्नु पर्नेछ । अन्याथा हवाइ उडान र नेपाली आकासको असुरक्षा देखेर विदेशी पर्यटक आउने सम्भावना छीण भएर जानेछ । पर्यटन व्यवसायले धानेको नेपालको अर्थतन्त्र खस्कदै गएमा देशको स्थिति कता पुग्छ एकपटक गम्भीर भएर सोच्नेकी ?


Post a Comment

 
Top