0
गोल्डेन न्यूज संवाददाता
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रमुख श्यामु अर्यालले ‘ओभरस्पिड’का कारण धेरै सडक दुर्घटना
हुने गरेको बताएका छन् । शनिबार गण्डकी मझौला मिनी ट्रक संचालक समितिले पोखरामा आयोजना गरेको व्यवसायिक चालक तथा सह–चालक प्रशिक्षणमा अर्यालले तीव्र गतिमा सवारी चलाउनु दुर्घटनाको मुख्य कारण भएको बताए । ‘ओभरस्पिड, क्षमता भन्दा धेरै यात्रु बोक्नु, मापसे गरेर सवारी चलाउनु र शाखा सडकबाट मुल सडकमा निस्किँदा ध्यान नदिनु दुर्घटनाका प्रमुख कारण हुन्’, उनले भने । विशेषगरी मोटरसाइकल ‘ओभरस्पिड’ मा चलाउँदा ज्यान गुमाउनेहरुमध्ये करिब ४५ प्रतिशत १९ देखि २६ वर्षका युवा रहने गरेको उनले बताए । ‘सडकमा हुनुपर्ने पूर्वाधार नहुँदा पनि दुर्घटनामा बढोत्तरी भएको छ’, अर्यालले भने, ‘कतिपय अवस्थामा चालकको लापर्वाही मात्र नभै सडक प्रयोगकर्ताको लापर्वाहीका कारण पनि सडक दुर्घटना हुने गरेको छ ।’ मिनी ट्रकले ‘ओभरस्पीड’ गर्ने गुनासो आउने गरेको बताउँदै अर्यालले सवारी चालकलाई हतार नगर्न आग्रह गरे । सवारी चालकहरुतर्फ इंकित गर्दै उनले भने, ‘बिरालोले बाटो काट्दा रोक्नुहुन्छ, तर जेब्राक्रसमा बुढाबुढीले बाटो काट्दा रोक्नुहुन्न ।’
 नेपालमा सडक दुर्घटनाबाट वार्षिक १ हजार ८ सयदेखि २ हजार जनासम्मको ज्यान जाने गरेको तथ्य पेश गर्दै अर्यालले कास्कीमा यसको संख्या करिब ४० रहेको जानकारी दिए । कास्कीमा सडक दुर्घटनाबाट वार्षिक करिब १ सय ५० जना अंगभंग हुने गरेको उनले जनाए ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघ, कास्कीका सहसचिव नारायणबहादुर कुँवरले मापसे नियन्त्रणका कारण धेरै दुर्घटना न्युनिकरण भएको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका गण्डकी अञ्चल अध्यक्ष विष्णुबहादुर खत्रीले सवारी ऐन, ट्राफिक नियम र श्रम ऐनका बारेमा यातायात मजदुरहरु जानकार रहन आवश्यक रहेको उल्लेख गरे । अखिल नेपाल यातायात मजुदर संघ, कास्कीका अध्यक्ष सूर्यमणि लामिछानेले सवारी साधनले ‘स्पिड कन्ट्रोल’ गर्दा मात्रै पनि दुर्घटना न्यूनिकरण हुने विचार व्यक्त गरे । कार्यक्रममा मिटी ट्रकका चालक र सह–चालकलाई प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले ट्राफिक नियम र दुर्घटना न्यूनिकरणबारे प्रशिक्षण दिएका थिए ।
समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्वागत उपाध्यक्ष रामबहादुर तामाङ र सञ्चालन सचिव मनोज रसाईलीले गरेका थिए ।

Post a Comment

 
Top