0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी व्यक्त गरेका छन् । लामो समयदेखि चर्चा र परिचर्चामा रहे पनि कुनै पनि काम अगाडि बढ्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला चीन सरकारसँग भएको सम्झौताले आयोजना अगाडि बढ्नेमा आशा पलाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् । चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि २१ अर्ब रुपैयाँ ऋण दिने भएको छ । सहुलियतपूर्ण ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्नेछैन । ऋण सम्झौता भएको प्रति खुसी व्यक्त गर्दै कास्कीका पूर्वसांसद् एवम् एकीकृत नेकपा (माओवादी) का नेता राजकाजी गुरुङले विगत ४० वर्षदेखि पोखरेली जनताको चाहना पूरा भएको र आर्थिक समृद्धिको ढोका खोलेको बताएका छन् । उनले  पोखरा विमानस्थल ४ नं प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्ने माध्यम भएको र लामो समयदेखि हुँदै आएको राजनीतिक खिचातानी को समेत अन्त्य भएको बताए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा प्रारम्भिक सम्झौता गरेको जानकारी दिँदै उनले हाल एमाओवादी सहभागी सरकारले नै ऋण सम्झौता गरेकाले आयोजना अगाडि बढ्ने विश्वास बढेको उल्लेख गरे । केही दिनपहिलेको मन्त्रिपरिषद्को बैठकले सो विमानस्थल अगाडि बढाउने निर्णय गरेको थियो । चिनियाँ ठेकेदार कम्पनी सिएमसीले प्रारम्भिक रुपमा कामसमेत सुरु गरिसकेको छ । सम्झौता भएपछि तीन महिनाको अवधि तयारीका लागि लाग्नेछ ।  सरकारले केही समयभित्रै सो विमानस्थलको शिलान्यास  गर्नेछ । लामो समयदेखि रहँदै आएको जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत लगभग सम्पन्न भएको छ । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव भीम आचार्य ऋण सम्झौता हुनुलाई सुखद ठान्छन् । ‘धेरै पहिले हुनुपर्ने काम अहिले आएर सम्पन्न भयो, यसलाई सकारात्मक रुपमा लिनुपर्छ’,उनले भने–‘हामी नेपालीको काम गर्ने शैली एकदमै सुस्त र परम्परागत भएका कारण समस्या पैदा हो । तर ढिलै भए पनि ऋण सम्झौता भयो यो सकारात्मक छ ।’ ढेड वर्षपहिले नै सुरु हुनुपर्ने आयोजनामा ढिलाइ हुनुको पछाडि नेपालको काम गर्ने शैली र तरिका नै गलत भएको आचार्य बताउछन् । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सकारात्मक तवरले अगाडि बढाउन कन्जुस्याइँ गर्न नहुने भन्दै उनले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
 क्षेत्रीय होटल सङ्घ पोखराका पूर्वअध्यक्ष विप्लव पौडेल पोखरा विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौता हुनु नै महत्वपूर्ण भएको बताउछन् । उनले भने–‘यो निर्णय उत्साहजनक छ । पहिले नै हुनुपर्ने थियो ढिलो नै भए पनि राम्रो निर्णय भएको छ । यसले काँस्केली जनतालाई त खुसी दिएको नै छ, त्योभन्दा बढी खुसी आम नेपाली पनि भएका छन् ।’  निर्णय स्वागतयोग्य भए पनि तत्काल नै निर्माण सुरु भइहाल्छ भन्नेमा आफू विश्वस्त नभएको भन्दै पौडेल पछिल्लो निर्णयलाई पर्ख र हेरको रणनीतिमा रहेको बताउछन् । कास्कीका सांसद् यज्ञबहादुर थापा पोखरेली जनताको लामो समयदेखिको सपना पूरा हुने चरणमा पुगेको बताउछन् । विमानस्थल निर्माणका लागि पार्टीगत रुपमा भन्दा पनि सामूहिक रुपमा नै लागेको भन्दै उनले आगामी चार वर्षभित्र जुनसुकै हालतमा पनि परियोजना सम्पन्न हुनुपर्ने बताए। कार्यान्वयनको चरणमा परियोजना तत्काल अगाडि बढाउनुपर्ने बताउँदै सांसद थापा कुनै पनि बहानाबाजीले अब काम नगर्ने बताउछन् । ऋण सहयोग चिनियाँ आयात निर्यात बैंकले उपलब्ध गराउनेछ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि पोखरेली तथा पोखराका संघसंस्थाहरुले खुशी व्यक्त गरेका छन् । पाबअ‍ेखरामा विमानस्थल बन्ने पटक–पटक आशा पलाएपनि करिब ५ वर्ष कुरामामात्रै सीमित हुँदा पोखरेली निराश हुँदै आएका थिए । अब विमानस्थल बन्ने पक्का पक्की भएपछि पोखरामा विभिन्न संघ–संस्थाहरुले विज्ञप्ति प्रकाशित गरि खुशी व्यक्त गर्नुका साथै सम्झौताको स्वागत गरेका छन् । यसैक्रममाबअ पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले सोमबार संयुृक्त विज्ञप्ति जारी गरि खुशी व्यक्त गर्नुका साथै उक्त कदमको स्वागत गरिएको हो । पोउवासंघका अध्यक्ष विन्दुकुमार थापा र लेउवासंघका अध्यक्ष लक्ष्मी त्रिपाठीले एक संयुक्त विज्ञप्ति जारी गरि खुशी व्यक्त एवं उक्त कदमको स्वागत गरेका हुन् । उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बधी अनुदान, ऋण तथा निर्माण प्रक्रियाबारे भएको सम्झौताले हामी हर्षित भएका छौँ । खुसीको यो क्षणमा प्रधानमन्त्री ओली, नेपाल सरकार, अर्थमन्त्री विष्णु पौडेल, चीन सरकार र चिनिया जनताप्रति सम्पूर्ण पश्चिमाञ्चलवासीको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ ।’
सम्झौताले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि वर्षौँदेखि हुँदै आएको लविङ र लामो भद्र आन्दोलन सफलिभूत भएको हामीले महसूस गरेको अध्यक्षद्वय थापा र त्रिपाठीले उल्लेख गरेका छन् । उनीहरुले सम्झौतामा हस्ताक्षरसँगै अब विमानस्थलको शीघ्राति शीघ्र शिलान्यास र निर्माण थालनी हुनेछ भन्नेमा हामी विश्वस्त रहेको समेत बताएका छन् । प्रदेश नम्बर ४ को राजधानीको रुपमा प्रस्तावित पोखराको समग्र विकासका निम्ति कोषेढुंगा बन्ने आशा गरिएको विमानस्थलले विकेन्द्रिकरणको मान्यतालाई व्यवहारिक कार्यान्वनय भएको प्रमाणित समेत गर्ने अध्यक्षद्वय थापा र त्रिपाठीले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
यसैबीच पोखरा पर्यटन परिषद् र नाट्टा पश्चिमाञ्चल क्षेत्रीय समितिले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरि विमानस्थल बनाउन चीनसँग सहुलियतमा ऋण लिनेबारेमा सोमबार नेपाल सरकार र चीन सरकारबीच सम्झौताप्रति खुशी व्यक्त गर्नुका साथै उक्त कदमको स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा र नाट्टाका महासचिव सुवास भण्डारीद्वारा जारी ज्ञिप्तिमा विमानस्थल निर्माणको यो सम्झौताले करिब चारदशकदेखि रोकिएको काम अघि बढ्ने सकारात्मक संकेत देखिएको स्पष्ट पारेका छन् । उनीहरुले कुनै अवरोध नआए बहुप्रतिक्षित विमानस्थल निर्माणले गति लिनेमा आफूहरु ढुक्क रहेको बताएका छन् । विमानस्थल निर्माणबाट पश्चिमाञ्चल क्षेत्रको आर्थिक विकास र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने दावी गर्दै उनीहरुले विमानस्थल बनाएर विभिन्न मुलुकसँग पोखरालाई जोड्न सके यसले अहिले भन्दा धेरै संख्यामा पोखरामा विदेशी पर्यटक भित्र्याउने भएकोले नेपालकै लागि यो विकासको कोशेढुंगा हुनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।
यसैगरी प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सोमबार ऋण सम्झौता भएकोमा पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । संघका अध्यक्ष भरतराज पराजुलीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी विमानस्थल निर्माण गर्न भएको यो सम्झौतालाई दुरगामी असर पार्ने निर्णय भनी स्वागत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा भएको यो सम्झौताले पोखरा र नेपालकै विकासमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पराजुलीले उल्लेख गरेका छन् । सम्झौता अनुसार विमानस्थलका लागि चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ कर्जा उपलब्ध हुनेछ । चार दशक लामो पोखरेली सपना साकार हुने ठोस कदम अगाडि बढेको छ, पराजुलीले जनाएका छन् । 
नेपाल र चीनबीच पोखरा विमानस्थल निर्माणबारे तीनवटा समझदारी भएका हुन् । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पहिलो विषय पोखरा विमानस्थल निर्माणसम्वन्धी छ । दोस्रोमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि चीन सरकारले बिना ब्याज २५ प्रतिशत ऋण उपलब्ध गराउने छ । बाँकी एक्जिम बैंकले उपलब्ध गराउने ऋणमा करिब २ प्रतिशतमात्रै ब्याज लाग्नेछ । विना ब्याजको रकम चीन सरकारले दिनेछ भने बाँकी ऋण त्यहाँको एक्जिम बैंकले उपलब्ध गराउनेछ ।



Post a Comment

 
Top