0
मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३औँ महाधिवेशन भव्य तामझामका साथ सुरू भएको छ । बन्दसत्र सकिएर पार्टीको नेतृत्व चयनका लागि आज आइतबार निर्वाचन हुँदैछ । विभिन्न ६४ पदका लागि ३१२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका अन्य ६३ जनाले भने उम्मेदवारी फिर्ता लिएका थिए । महाधिवेशनमा करिब ३ हजार २ सय प्रतिनिधि एवम् महासमिति सदस्य, नेता, कार्यकर्ता, स्वदेशी तथा विदेशी अतिथिहरु सहभागी छन् । कांग्रेसको ‘कुम्भमेला’मा नेतृत्वका आकांक्षी, दलका नेता तथा विदेशी पाहुनाहरुले शुद्धिकरणसहितको कांग्रेस बनाउन जोड दिएका थिए । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान बनेकाले त्यसको कार्यान्वयनका लागि पनि असल नेतृत्व चयन हुनुपर्ने सबैको चाहना रहँदै आएको छ । दिवंगत सुशीलले संविधान जारी गर्न गरेको नेतृत्वदायी भूमिकाको सम्मान महाधिवेशनले गरेको छ । कांग्रेसले १३औँ महाधिवेशनको मूल नारा नै ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान’ बनाएको छ । यस नाराले स्व. सुशीलको योगदानको कदरमात्र गरेको छैन, समृद्ध राष्ट्रनिर्माणका लागि प्रतिबद्धता पनि गरेको छ । नारा जतिसुकै लोकप्रिय बनाए पनि कार्यान्वयन नगर्ने हो भने त्यसको अर्थ रहँदैन । हामी नयाँ युगमा प्रवेश गर्दै गर्दा र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नयाँ संविधान जारी हुँदा अत्यन्तै जटिल मोडमा रहेका छौँ । मुलुकका चुनौती सामना गर्ने नेतृत्व महाधिवेशनबाट अपेक्षा गरिएको छ । कांग्रेस महाधिवेशन पनि विषम परिस्थितिमा भइरहेको छ । अबको नेतृत्वले संविधान कार्यान्वयन र आर्थिक समृद्धिलाई पहिलो एजेन्डा बनाउनु पर्ने छ । कांग्रेसलाई नयाँ ढर्राबाट रुपान्तरण गर्दै गतिशील, वैचारिक र लोकतान्त्रिक समाजवादको नीतिअनुरुप ढाल्ने नेतृत्व चयन गर्नुपर्ने छ । परिवर्तनको नेतृत्व गरेको, धेरै घामपानी खेपेको र ७० वर्षभन्दा लामो राजनीतिक लडाइँ लडेको पार्टीमा नीतिभन्दा नेतामुखी हुँदै गएको आरोप छ । यो महाधिवेशनले पनि त्यस्ता आरोपहरुको खण्डन गर्ने सामथ्र्य राखेन । किनभने, नेतृत्वका लागि देखिएको दौडधूपले कांग्रेस नीतिमुखी नरहेको संकेत गर्छ । इतिहासमा ठूलो त्याग गरेको पार्टी र बीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त कांग्रेसले भुल्दै जानु विडम्बना हो । कांग्रेसले सुधार गर्नुपर्ने धेरै कुरा छन्, जस्तो भावनात्मक एकता गरी पार्टीलाई एकढिक्का बनाउनुछ । भागबन्डाको अन्त्य गरी मूल्यांकनका आधारमा नेता, कार्यकर्तालाई जिम्मेवारी दिनुछ । गुटबन्दीको अन्त्य गरी सक्षम र गतिशील नेतृत्व चयन गर्नुछ । मधेसी, जनजातिलगायत आन्दोलनरत असन्तुष्ट पक्षको माग सम्बोधन गरी आन्तरिक समस्या हल गर्नुछ । संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुछ । लोकतन्त्र र समाजवादका कार्यक्रमसहित जनताको घरदैलोमा पुग्नुछ । सहमतीय राजनीतिलाई अघि बढाउँदै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा लैजाने अभिभारा कांग्रेसकै हातमा छ । अबको नेतृत्व मुलुकको निकास निकाल्ने हुनुपर्ने छ । सबैभन्दा ठूलो पार्टी भएर पनि कांग्रेस दिशाहीनजस्तै भएको छ । महाधिवेशनमा नीति तथा कार्यक्रमभन्दा पनि नेतृत्वबारे ध्यान केन्द्रित भएको छ । अबको कांग्रेस नेतृत्व कसले हत्याउँछ भन्ने विषयमा चासो रहनु स्वाभाविकै हो । तर, यो महाधिवेशन नेतृत्वका लागिमात्रै नभएर पार्टीका नीति तथा कार्यक्रमहरुको दृष्टिकोण निर्माण गर्नु पनि हो । आमनेता तथा कार्यकर्ताको अपेक्षाविपरीत महाधिवेशन टुङ्गिनु हुँदैन । कांग्रेसले आन्तरिक लोकतन्त्रको पूर्ण ऊर्जासाथ आगामी चार वर्षसम्म सक्षम र गतिशील नेतृत्व चुन्न सक्नुपर्छ । पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा बलियो बनाउन, मुलुकका चुनौती सामना गर्न, राष्ट्रिय एजेन्डा पूरा गर्न पनि जुझारू नेतृत्व चाहिन्छ । त्यसका लागि स्पष्ट नीति र कार्यक्रम प्रस्तुत हुनुपर्छ । अन्तर्देशीय सम्बन्धलाई व्यवस्थापन गरी मुलुकको उपलब्धि हासिल गर्न महाधिवेशन फलदायी हुनुपर्छ ।






Post a Comment

 
Top