0
सिके लाल
आजभोलि राजनीतिक दलको चर्चा कम हुन थालेको छ। तर, नेपालको सबभन्दा पुरानो दल ऐतिहासिक समयक्रमको अनुसारमा प्रजापरिषद्हरुको कुरा गरिएपनि मुलतः नेपाली कांग्रेस नै हो। जुन धेरै नेपालीमाझ पुगेको दल हो। त्यसको महाधिवेशन आउँदैछ। त्यसैले राजनीतिक दलको बारेमा सुसूचित जमातमा अलिकति चासो उत्पन्न भएको छ। चासोसँगै चिन्ता पनि छ, होइन यो के भएको हो? किनभने राजनीतिक दलको बारेमा यो भन्दा बढी उत्साह हुनुपर्ने थियो कि दलहरूमा के भैइरहेको छ। नेपाली कांग्रेस जस्तो सबभन्दा ठूलो सबभन्दा पुरानो मध्येको एक दलको महाधिवेशन जस्तो महत्व राष्ट्रिय रूपमा हुन्छ अन्तर्राष्ट्रिय रुपमा हुन्छ। त्यो तुलनामा हेर्ने हो भने चाहे जति रुचि जनतामा देखिँदैन। एक किसिमको उदासिनता व्याप्त छ। र राजनीतिक दलप्रति उदासिनता बढ्नु भनेको प्रजातन्त्रको भविश्यका लागि सुखद् सन्देश होइन। यो उदासिनताले नागरिकले आफूलाई संगठित गर्ने र आफूलाई अभिव्यक्त गर्ने भनेको राजनीतिक दलमार्फत नै हो। अरुकुरा अभिव्यक्ति मिडिया मार्फत भए पनि संगठित आवाज भने राजनीतिक दलमार्फत हुन्छ।
त्यसैले के भनिएको छ भने राजनीतिक दल आफैंमा मिनियचरस्टेट अर्थात सानो राज्य नै हो। खास गरेर जहाँ संसदीय व्यवस्था छ त्यहाँ राजनीतिक दलको अझ धेरै महत्व हुन्छ। किन भने संसदीय व्यवस्थामा जनताको सबै समूहहरुलाई प्रतिनिधित्व गर्ने सबैलाई समेटेर अघि बढ्ने क्षमता राजनीतिक दलले नै देखाउनुपर्ने हुन्छ। त्यसैले राजनीतिक दलको महत्व कुन हिसाबले हेर्न मिल्छ भने, राष्ट्रको समग्र संरचना छानो हो भने त्यसलाई थामेको खाँबाहरु राजनीतिक दल हुन्। र त्यस अर्थमा नेपाली कांग्रेस आफ्नो निरन्तरता, कार्यसूची सबै आन्दोलनलाई नेतृत्व गरेको जुन एउटा इतिहास छ,त्यसको आधारमा यो घरको मूल खाँबो जस्तो हो अहिले। त्यो मूल खाँबो कस्तो हुने भन्ने कुरा अहिले अडिएर त्यसको नेतृत्व कसले गर्ने भन्नेमा सिमित हुन पुगेको छ।
तर नेतृत्व त राजनीतिक दलको एउटा पक्ष मात्रै हो। राजतन्त्र भएको या साम्यवादी देशको जस्तो यहाँ नेतृत्व प्रमुखता त होइन। नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक दलमा सबैभन्दा महत्वपूर्ण भनेको आस्था हो। आस्था परिवर्तित हुन्न रहिरहन्छ। आस्था पछि आउने भनेको सिद्धान्त हो। संसदवाद भनेको सिद्धान्त हो, राष्ट्रपतीय प्रणाली भनेको सिद्धान्त हो, मिश्रित प्रणाली, समावेशीता, संघीयता सबै सिद्धान्त हो। सिद्धान्त भनेको परिवर्तित भैरहन्छ।
आस्था र सिद्धान्त पछि आउने भनेको राजनीतिक कार्यसूचि हो। कार्यसूचि के हुन्छ भने राजनीतिक नेतृत्वले आफ्नो, संगठन र देशको आवश्यकता अनुसार परिवर्तन गरिरहन सक्छ। अहिले नेपाली कांग्रेसजस्तो दलमा यो सबै गजमज भइदियो। कहाँ आस्था सकिन्छ कुन सिद्धान्त हो, कुन राजनीतिक कार्यसूचि हो र कुन तात्कालिक लाभहानीको लागि जोड घटाउ हो भन्ने सबै कुरा गजमज हुन गएको छ।
जस्तो दालभात तरकारी राखेर खिचडी हुँदा त ठीकै छ तर त्यसमा डेजर्टको रुपमा खिर पनि हाल्ने त्यतिले नपुगेर चाटमसला पनि हाल्ने सलादपनि हाल्ने हो भने भोक लागेको मानिसले पनि सितिमीति खान मान्दैन। नेपाली कांग्रेसप्रति वितिष्णा या उदासिनता मात्रै होइन सामान्य जनता जो त्यो दलको सक्रीय सदस्य छैन सामान्यजनमा उदासिनताबाट बढेर वितृष्णा हुन गएको कारण के हो भने यो दलले आफ्ना आन्तरिक कुरालाई छुट्याउन सकेन।
पहिले छुटिएको थियो भनेर म दावि गर्दिन। तर आस्था स्पष्ट थियो धेरै कालसम्म कमसेकम मैले नेपाली कांग्रेसलाई नियाल्दादेखि के थियो भने संसदीय दलको पुनःस्थापना यसको आस्था थियो। ३० वर्षसम्म यो आस्था अविचल थियो। त्यो आस्था पछि थपियो वैशविकरणको यूग भएको हुनाले समृद्धि। तर समृद्धि आफैंमा आस्था होइन बरु यो पूँजिवादको एउटा सिद्धान्त हो। समाजवाद पनि होइन पूँजिवादको सिद्धान्त हो। समाजवादबाट हामी नाता तोड्दै छौँ नभनिकन एकैचोटी पुँजीवाद अंगीकार गरेको नेपाली कांग्रेस हो।
यो सम्बन्ध तोड्ने भन्ने कुरा पनि बडा गाह्रो छ। सम्बन्ध तोड्नको लागि अरबीमा व्यक्तिको जस्तो सम्बन्ध हुन्छ संस्थासंग पनि त्यस्तै सम्बन्ध हुन्छ। संस्थालाई पनि तलाक दिन सकिन्छ। दक्षिण एसियाको सबै भाषाको मूल संस्कृत हो। तर, संस्कृतमा तलाक भन्ने जस्तो शब्द नै छैन। बरु के मानिन्छ भने सम्बन्ध यस्तो संग जोडिएको की चुडाल्न सकिन्छ, काट्न सकिन्छ तर छुटिएर सम्बन्ध राम्रो राख्न सकिन्न। पारपाचुके शब्द जुन पछि नेपालीमा लिइएको हो र सम्बन्ध विच्छेद भनिएको हो त्यो भनेको त चुड्नु हो। भंग हुनु हो तलाकले जस्तो छुटिएर पनि बस्न सकिन्छ भन्ने अर्थ दिन्छ त्यो हैन। त्यही भएर हामीकहाँ के भएको छ भने पाटीबाट छुटिएकाहरू दुस्मनको रूपमा आउन थाल्छन्। छुटिएपछि सम्बन्ध हाम्रो राम्रो हुँदैन किनभने हामीसँग त्यो भावना नै छैन। छुटिएपछि पनि सम्बन्ध राम्रो कायम राख्न सकिन्छ भन्ने सोचै छैन शब्दै छैन। पारपाचुके त शायद नेवारीबाट लिइएको होला।
नेपाली कांग्रेसमा यस्तो जमात पनि बढ्दै गयो। जस्तो बाबुराम भट्टराई नै हेर्दै जाँदा पहिले नेविसंघ रहेछन्। एक पुस्तामाथि जाने हो भने कोही न कोही नेपाली कांग्रेससंग जोडिएकै हुन्छ। प्रजापरिषद त सानै थियो, कम्युनिष्ट पार्टी त झन् अझ सानो थियो। नेपाली कांग्रेससँग वितृष्णा हुनु भनेको एक किसिमले राजनीतिक दलसँग नै वितृष्णा हुने अवस्था आएको हो।
त्यहाँ माथि त्यो गजमजले गर्दा राजनीतिक दलसँग लेनदेनको सम्बन्ध मात्रै हिसाब हुन्छ भन्ने हुन थाल्यो। पहिले के हुन्थ्यो भने, दलमा लागेको मान्छेले सबै कुरा पार्टीका लागि खर्च गथ्र्यो। जस्तो की पशुपतिको दर्शन गर्न आफ्नै खर्चमा जान्छ। नेतालाई भेट्न जाने भनेको पशुपति दर्शन गर्न जस्तै हुन्थ्यो। बीपी कोइराला चावेलमा बस्दा सबै आफ्नै खर्चले आउने हो उनलाई भेट्न। तर, अहिले पार्टीमा लागेर वा नेतालाई भेटेर मैले के पाउँछु भन्ने हिसाब हुन थालेको छ। त्यो बापत के पाउँछु भन्ने त लेनदेनको सम्बन्ध हुन थाल्यो। जब लेनदेनको सम्बन्ध हुन थाल्छ भने त्यो नितान्त व्यापारिक सम्बन्ध हो। त्यसैले जग्गा बेचेर पार्टीका लागि किन दान दिने झन् ज्यानै अर्पण त किन गर्ने? मैले यत्रो त्याग गरेको छु भनेर दुईवर्ष जेल बसेको फल खोज्न थाल्ने र  ज्यान अर्पण गर्ने हो,मरेपछि के पाउने हो र भनेर दलका लागि ज्यान दिने मानिस जस्तो भएन।
सम्भवतः माओवादी अन्तिम दल हो जसका निम्ती जनताले आफ्नो ज्यानै दिएका थिए। मधेस आन्दोलनमा पनि देखिएको त हो तर त्यो आफ्नो ज्यानै अर्पण हुन्छ भनेर भन्दा पनि राज्यको क्रुरताले  संयोगवस हुन गएको हो। तर दलका लागि ज्यान अर्पण गर्नुपर्छ भन्ने भावना चाँहि घट्दै गएको छ। यी संकेत दिएर लामो पृष्ठभूमि बनाउनुको अर्थ के हो भने, राजनीतिक दलसँग समाजमा वितृष्णा जाग्नु भनेको समग्र राजनीतिक कमजोर हुनु हो। प्रजातन्त्र र राजनीतिक संस्कार कमजोर हुनु हो। त्यो संस्कार कमजोर भए त्यसले तीन÷चार किसिमको अतिवाद निम्त्याउँछ।
एउटा,सैनिक अतिवाद जस्तो कि सन १९४० पछि धेरैजसो विकासशील मुलुकमा शैनिक तानासाह हरु जन्मिएका थिए। दोस्रो अतिवाद भनेको निर्वाचित तानासाह आउँछ। निवार्चन जितेकै मानिस पनि तानासाहि व्यवहार गर्न थाल्छन् र बहुमतको तानासाही सुरु हुन्छ। तेस्रो के देख्न सकिन्छ भने व्यापारीले आफ्नो सम्बन्धको आधारमा राजनीतिकर्मीहरुको किनबेच गर्न थाल्छन्। र त्यसपछि यस्तो किसिमको व्यवस्था आउँछ जहाँ शोषणको स्वरुप यस्तो हुन्छ शोषितले म शोषणमा परेको छु भनेर थाहै पाउँदैन। किनभने उसको कन्सेन्ट लिएर उसको भावनालाई बुझेर नै एककिसिमको आम सहमति गरेर शोषण गरिरहेको हुन्छ यो तेस्रो अतिवाद हो। चौँथो कस्तो भनेको सशस्त्र समूहहरुले तिमीहरुलाई जोगाउन सक्ने त हामीहरु नै हौँ भनेर आउँछन्।
यो चारथरि अतिवाद रोक्ने हो भने मूलधारका राजनीतिक दलहरुको निरन्तर परिष्करण हुन आवश्यक छ। एकपटक परिष्कृत गरेर सकियो एउटा महाधिवेशन सकियो प्रजातान्त्रिक तरिकाले निर्वाचित गरेको अध्यक्ष छ अब त मान्नुप¥यो नि। नेता भैहाल्यो नि भनेर हुँदैन। किनभने नेता पो बनाएको त राजा त छानेको होइन, लिगलिगकोटको दौड त भएको होइन,जसबाट सधैँका लागि राजा छानियोस्। यो त नेता छानेको हो। नेता भनेको सबैको भावनालाई समेटेर जान सक्ने पो नेता हुन्छ त। भावना समेट्ने भनेको आफूलाई भोटहाल्ने बहुमतको मात्र हैन,अल्पमत र सिमान्तकृतहरुको पनि भावनालाई समेट्नु हो। खास गरेर संसदीय व्यवस्था भएको देशमा यदि पार्टीलाई मिनियचर स्टेटको रुपमा राज्यको एउटा प्रारुपको रुपमा बुझ्ने हो भने, यी राजनीतिक दलहरुको निरन्तर परिष्करण हुनु, परिष्कृत हुने दिशामा अघि बढ्नुपर्छ। निरन्तर परिष्करण हुन थालेपछि बल्ल समग्र समाजले रूचि लिन थाल्छ।
देशको प्रधानमन्त्री को हुन्छ भन्नेमा सबैको रुचि हुने, देशको राष्ट्रपति को हुन्छ भन्नेमा सबैको रुचि हुने तर ठूला दलहरुको अध्यक्ष को हुने भन्ने रुचिको विषय नहुने? त्यही दलहरुको मानिसहरुको मात्रै रुचि हुने हो भने भोलि त त्यही दलको अध्यक्ष नै प्रधानमन्त्री हुने हो नि। त्यसैले यो दलभित्रका मानिसको मात्रै रुचिको कुरा होइन, उनीहरुको मात्रै चाहना र रुचिको विषय होइन यो। समग्र समाजले नै त्यो दल आफ्नो आस्थामा कति प्रतिबद्ध छ, आफ्नो सिद्धान्त कति बुझेको छ, आफ्नो कार्यसूची तिनको कति राम्रोसँग आएको हो र तिको कतिको स्वीकार्यता छ, अनि त्यसपछि त्यसको नेतृत्व कस्तो छ भनेर रुचि लिन चाँहि थाल्नुपर्छ।
यति कुरा गरिसकेपछि जहाँबाट हामीले कुरा सुरु गरेका थियौँ त्यहीँ फर्केर जाउँ, नेपाली कांग्रेसको महाधिवेशनमा। यो महाधिवेशन त खाली केमा गएर ठोकिएको छ भने, आगामी कार्यकालको लागि अध्यक्ष को हुने? तर मुद्दा त त्यो मात्रै होइन। मुद्दा त के हो भने राष्ट्रियताको व्याख्या अब कसरी गर्ने? मधेसको मुद्दा बलियोसँग आएको छ,जनजातिको मुद्दा आएको छ, तिनलाई सम्बोधन गर्ने भनेको राजनीतिक दलले हो विश्वविद्यालयको प्रोफेसरले गरेर त हुँदैन। सेनाका जरसाहबहरुले सम्बोधन गरेर त हुँदैन, राजदूतले गरेर हुन्न। हाम्रो प्रधानमन्त्री राष्ट्रपतिले मात्रै गरेर हुँदैन। व्यापारी र मिडियाले गरेर हुँदैन किन भने यी सबैको होलिष्टिक अप्रोच हुँदैन। त्यसलाई सम्पूर्णतामा हेर्न सक्ने राजनीतिक दलले नै हो। भनेपछि कांग्रेसले यसका बारेमा के गर्दै छ त्यो मुद्धा हो। त्यस्तै कांग्रेस समाजवादमा त रहेन, नैतिक सहास त देखाउनुप¥यो कि समाजवादबाट ऊ कता गएको हो। नाङ्गो पूँजीवादमा हो कि बजार पूँजीवादमा हो कि? एउटामा त गएको होला। पुरानो पूँजिवादमा हो कि? त्यो व्याख्या कतैबाट त आउन प¥यो। त्यस्तो व्याख्या बाहिरकाले गरिदिएर हुँदैन। बाहिरकाले गरिदिए भने त्यसको ओनरसीप पार्टीले लिँदैन। दलले त्यसको जिम्मा नलिएसम्म बाहिरकाले जतिसुकै राम्रो लेखिदिएपनि हुन्न। मैले पनि कांग्रेसको समर्थक हुँदाताका दुईपटक घोषणापत्र बनाउने काममा सहभागी भएको छु। र अहिले मलाई त्यो काम गरेकोमा ग्लानी छ। किनभने त्यो घोषणापत्र कुनै पनि नेताले पढेको कमसेकम मेरो जानकारीमा छैन। हामीले पढेर सुनाइदिएको सम्म होला तिनका भाषण लेख्नेहरुले पढेका होलान्। तर उनीहरुले छैन। पढेको भए त बोल्दा या काम गर्ने बेला घोषणापत्रमा लेखिएका कुरा देखिनुपर्थ्यो नि त। त्यो कतै कहिलेपनि देखिएन।
चुनावी घोषणापत्र भनेको त एउटा निर्वाचन देखि अर्को निर्वाचन सम्मको लागि हो। तर पार्टीको कार्यसूचि भनेको एउटा पुस्ताको लागि हो। सिद्धान्त भनेको चै लामो समयसम्मको लागि हुन्छ। आस्था भने धेरैजसो अविचलित हुन्छ। त्यो कुरा पार्टीको महाधिवेशनमा कार्यकर्ताले सोधिहाल्छन् भनेर बस्ने होइन तीनका त स्वार्थ जोडिएका हुन्छन्। यस्तो कुरा सोध्ने चाँहि बाहिरकाले हो। ‘तिमी त देशको ठूलो पार्टी, संविधानसभामा हामीले ठूलो पार्टी बनाएको तिमीलाई। तिम्रो पार्टीले मात्रै बनाएको हैन’ भनेर माथिका विषयमा सोध्नुप¥यो के भइरहेको छ भनेर रुचि लिनुप¥यो।
किनभने समग्र राजनीतिको स्वास्थ्य, प्रजातन्त्रको स्वास्थ्य र त्यसअर्थमा देशको स्वास्थ्य राजनीतिक दलको स्वास्थ्यमा निर्भर छ। एकदम कमजोर,रोगी विरामी राजनीतिक दल राखेर देशको जुन यो छत छ त्यसलाई धान्न सक्दैन। संख्यामा धेरै भएर खम्बाहरुमा धमिराले खाएको हुनुभएन। बाहिर जतिसुकै रंगरोगन गरिएपनि भित्र धमिराले खाएको मूल खम्बा छ भने त यो छत थेग्न गाह्रो हुन्छ। सबैले रुचि लिनुपर्छ।
सबैभन्दा पहिले हाम्रो स्वभाविक सम्बन्ध रगतको नाता सम्बन्ध हो, परिवार। दोस्रो स्वभाविक सम्बन्ध भनेको विहेवारी र मित लगाउनेबाट जोडिएको सम्बन्ध हो। तेस्रो स्वभाविक सम्बन्ध भनेको निकटता हो। सँगै बसिएको छ भने रगत र अरू सम्बन्ध नभए पनि नजिक हुन्छ। चौँथो स्वभाविक सम्बन्ध भनेको स्वार्थको सम्बन्ध हो जस्तो पसलमा हामी पैसा दिएर सामान खरिद गर्छौँ। अथवा कुनै सेवा बापत हामीले रकम तिर्छौँ। यी सबै आफै स्थापित हुन्छन्। संगठन गर्नुपर्दैन।
केही चाँहि हाम्रा चाहनाका सम्बन्ध हुन्छन्, जस्तो शिक्षा दिनुप¥यो स्कुल खोल्नु प¥यो भने त्यो कृतिम सम्बन्ध स्थापित भयो। अस्पताल खोल्नुपर्यो भने त्यहाँ कृतिम सम्बन्ध स्थापना हुन्छ। त्यहाँ पैसा तिरेर सेवा लिने मात्रै होइन। त्यसरी नै देश पनि कृतिम सम्बन्ध हो कि हामी एक ठाउँमा बस्छौँ यो हाम्रो हुनुपर्छ भनेर बनाइएको हो।  राजनीतिक संगठन पनि कृतिम सम्बन्ध हो। त्यो कृतिम सम्बन्ध एउटा त आवश्यकताबाट आउँछ, आफ्नो हकको दावी गर्नको लागि त्यो आवश्यकता हो। अर्को चाहनाको लागि हुन्छ कि हाम्रो सबै राम्रो होस भन्नका लागि हुन्छ।
अब आवश्यकता यदि बलियो बनाउनका लागि राजनीतिक दल हो भने, दलले भन्न सक्नुप¥यो मैले तिम्रो आवश्यकता पहिचान गरेको छु। जस्तो न्यूनतम आवश्यकता, खानेकुरा, सुरक्षा, शुद्ध पेयजल, न्यूनतम शिक्षा स्वास्थ्य जस्ता कुराहरुलाई एकत्रितरुपमा सम्बोधन गर्ने प्रयत्न गर्छौ भन्नु पर्रुयो। र त्यो प्रयत्न भनेको हामीले राजनीतिमार्फत राज्यसत्ता प्राप्त गरेर सुनिश्चित गर्छौ र सत्ता प्राप्त भएन भने यी आवश्यकता हरुको आवाज बुलन्द पारेर राज्यसत्ताको अघि उठाउँछौँ भन्ने हो। यो आवश्यकताको सम्बन्ध हो। 
दोस्रो भनेको चाहनाको सम्बन्ध, त्यसमा कस्तो हुन्छ भने, हाम्रा ढोका खुला छन् भन्ने हुनुप¥यो। राजतन्त्रमा जस्तो वंशको आधारमा नेता बन्दैन प्रशासनतन्त्रमा जस्तो क्षमता र योग्यताका आधारमा मात्रै बन्दैन। राजनीतिक दलको न्यूनतम शिक्षा आवश्यकता र क्षमता भनेको  जनताको लागि समर्पित हुने, आफ्नो स्वार्थ भन्दा समुहको स्वार्थलाई प्राथमिकता दिने प्रत्येक व्यक्ति त्यसको लागि योग्य छ। त्यसैले तिम्रो चाहना यदि नेतृत्वको हो भने यस्तो मौका अरु कुनै उपलब्ध छैन। यो प्राथमिकताको क्षेत्र तिम्रो हुन सक्छ। तिम्रो एटिच्युड मिल्छ जिवनको झुकाव त्यता मिल्छ भने त्यो चाहनालाई सम्बोधन गर्ने हो। दोस्रो चाहना के सम्बोधन गर्ने हो भने तिमीले एक्लै गर्न सक्छौ, त्यो भन्दा धेरै बढी राजनीतिकले उपलब्ध गराउन सक्छ। अर्को चाहनालाई सम्बोधन गर्दा नयाँ किसिमको समाज जो परिवारभन्दा अलग छ तर परिवारका आवश्यकताहरु पुरा गरिदिन्छ, परिवार के हो आपत पर्दा काम लाग्ने होइन? तिमीलाई आपत पर्दा राजनीतिक दल काम लाग्छ,तिम्रो समाज यो भन्दा ठूलो छ, तर आपत पर्दा सहयोग गर्न आइपुग्छ र खुसीमा सामेल हुन्छ। पार्टीले त्यो पनि गर्छ। तेस्रो कुरा के हो भने राज्यले जे जे उपलब्ध गराउँछ दलले त्यो पुरा गरिदिन्छ, नसके राज्य मार्फत उपलब्ध गराउँछ। त्यो चाहना पनि सम्बोधन गर्यो।
अहिलेको नेपाली कांग्रेस मात्रै होइन समग्रतामा नेपालका राजनीतिक दलको स्खलन जुन देखिँदैछ। जसले गर्दा पैसा खर्च गर्न सक्ने प्रियतावादी कुरा गर्न सक्ने जुन अनुदारवादी व्यवहार अहिले संसारभर देखिएको छ, कहाँबाट आएको हो भने राजनीतिक दलले यी कुरा गर्न छोडे। आवश्यकता पनि पुरा गर्न नसक्ने र चाहनाको लागि पनि बाटो नराख्ने। त्यो चाँहि देश अनुसार मात्रा फरक हो। नेपालमा  अल्ली के भयो भने दलहरु धेरै भए, प्रतिस्पर्धा धेरै भयो त्यसका लागि गर्न सक्ने भन्दा धेरै प्रतिवद्धताहरु गरे। त्यो पुरा गर्न नसके पछि तिनको स्वीकार्यता एक त उसै कम त्यसमाथि समाप्तै हुने भयो। त्यसैले उनीहरुले सजिलो बाटो रोज्छन्। त्यो बाटो लेनदेनको सम्बन्ध हो। आवश्यकताको सम्बन्धबाट लेनदेनको सम्बन्धमा दलहरु खस्किए। त्यसपछि त्यागको भावना आउँदैन समर्पणको भावना आउँदैन त्याग र समर्पण बेगर राजनीतिक दलको निर्माण हुँदैन। त्यो नहुनु भनेको देश कमजोर हुनु हो व्यवस्था कमजोर हुनु हो प्रजातन्त्र कमजोर हुनु हो,संस्कार कमजोर हुनु हो। त्यो कमजोर हुनु भनेको हामी सबै कमजोर हुनु हो।
(स्रोत ः सेतोपाटी)

Post a Comment

 
Top