0
गोल्डेन न्यूज संवाददाता
पोखरा नगर क्षेत्रमा सञ्चालन हुने गरी रुट ईजाजत पाएर सञ्चालन सुरुवात गरेको नयाँ बस केहिदिन थन्किएर पुनः चल्न थालेको छ । माघ २२ बाट सेवा सुरु गरेको विन्ध्यवासिनी बस ब्यवसायी समिति अन्तर्गतका तीन वटा बस बीचमा ९ दिन थन्किएपछि आईतवारबाट पुनः संचालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र छोरेपाटन प्रहरी चौकीको आडमा वेवारिसे अबस्थामा छोडिएका बस पुनः सञ्चालनमा आएको समितिका सचिव रामचन्द्र अधिकारीले जानकारी दिए । रुट ब्यवस्थापनको बिषयमा सहमति हुन नसक्दा बस ९ दिनसम्म थन्किएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यवस्था विभागको पत्रको आधारमा यातायात ब्यवस्था कार्यालय गण्डकीबाट माघ १८ गते रुट ईजाजत पाएको नयाँ समितिले माघ २२ गते सेवा सुरु गरेको थियो । 

नयाँ बस सञ्चालनमा आएपछि पुराना व्यवसायीले गरेको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा फागुन ६ गते चार बुँदे सहमति भएको थियो । सो अबसरमा तीन दिनभित्र रुट ब्यवस्थापन गर्ने सहमति भएपनि नयाँ ब्यवसायीले फागुन ८ गते आफ्ना बस प्रहरी चौकी अगाडि लगेर वेवारिसे छोडेर हिडेका थिए । यो बीचमा नयाँ र पुराना ब्यवसायीबीच रुट ब्यवस्थापनको बिषयमा थुप्रै पटक छलफल भएपनि सहमति भने हुन सकेको छैन । नयाँ व्यवसायीले सञ्चालन सुरु गरेको छोरेपाटनदेखि लामाचौर रुटमा सञ्चालन गर्ने र तीन वटै बस एउटै रुटमा चलाउन पाउनुपर्ने अडान राखेका छन् । पुराना ब्यवसायीले नयाँ बसलाई रुट दिनका लागि दुई वटा विकल्प प्रस्ताव गरेका थिए । यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीले यातायात कार्यालय गण्डकीलाई वोधार्थ बनाएर प्रमुख जिल्ला अधिकारीलाई फागुन ९ गते लेखेको पत्रमा नयाँ समितिलाई दुई वटा रुट प्रस्ताव गरेको छ । जस अनुसार हल्लनचोक देखि पामे घाटीछिना सम्म वा पृथ्बीचोकदेखि पार्दी, विरौटा हुदै खाडेखोला सम्म सञ्चालन गराउन भनिएको छ । सुरुमा पुराना ब्वसायीको प्रस्ताव नमानेका उनिहरुले पृथ्बीचोकदेखि पार्दी, विरौटा हुदै खाडेखोला रुटमा वस सञ्चालन सुरु गरेका हुन् ।




Post a Comment

 
Top