0
नेपालले अर्को आईसीसी यू–१९ विश्वकपमा सीधै छनोट हुने अवसर पाउन सक्छ । बंगलादेशमा भइरहेको यू–१९ विश्वकपमा एसोसिएटमध्ये शीर्ष रहने टिम सन् २०१८ मा न्युजिल्यान्डमा हुने प्रतियोगितामा सीधै छनोट हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बिहीबार दुबईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बंगलादेशमा एसोसिएटबाट नेपाल, अफगानिस्तान, नामिबिया, स्कटल्यान्ड, आयरल्यान्ड, फिजी र क्यानडाले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा नेपाल र नामिबिया मात्र एसोसिएट राष्ट्रबाट क्वाटरफाइनल पुग्ने टिम हुन् । नेपाल र नामिबियामध्ये जो माथि रहन्छ, त्यही टिम न्युजिल्यान्डको विश्वकपका लागि सीधै छनोट हुनेछ । समूह चरणमा दक्षिण अफ्रिकालाई पराजित गरेको नामिबियाले शुक्रबार नै भारतसँग सेमिफाइनलमा स्थान पाउन खेल्दै छ । एसोसिएटबाट ६ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहेका छन् ।  अस्ट्रेलियाले सुरक्षाका कारण नखेलेपछि आईसीसीले अन्तिममा आयरल्यान्डलाई खेल्न बोलाउँदा बंगलादेशमा ७ एसोसिएट राष्ट्रले यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । न्युजिल्यान्ड विश्वकपमा बाँकी ५ एसोसिएट राष्ट्रको छनोट क्षेत्रीय प्रतियोगिता बाटै हुनेछ । नेपाल २०१३ को नोभेम्बरमा कुवेतमा भएको एसीसी यू–१९ प्रिमियरमा दोस्रो भएपछि यू–१९ विश्वकपमा सोझै छनोट हुन सकेको थिएन । त्यसपछि गत वर्षको अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले पराजित गरी बंगलादेशको टिकट काटेको थियो । यसैबीच नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा आयोजक बंगलादेशसँग खेल्ने भएको छ । ढाकाको मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रंगशालामा शुक्रबार सेमिफाइनलमा स्थान बनाउन खेल हुनेछ । भारतसँग सोमबार ७ विकेटले पराजित भए पनि नेपाल समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरण पुगेको थियो । नेपालले यसअघि न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेशले कक्स बजारमा मंगलबार नामिबियालाई ८ विकेटले हरायो । तीनै खेल जितेको बंगलादेशले समूह ‘ए’ को विजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह ‘ए’ को उपविजेता बनेको नामिबियाले समूह ‘डी’ को विजेता भारतसँग क्वाटरफाइनल खेल्नेछ । शेख कमल रंगशालामा बंगलादेशले टस जितेपछि ब्याटिङ गर्न आएको नामिबिया ३२.५ ओभरमा ६५ रनमा अलआउट भयो । १३ रनभित्र २ विकेट गुमाएको बंगलादेशले १६ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

Post a Comment

 
Top