0
गोल्डेन न्यूज संवाददाता
क्यान्सर रोगमध्ये नेपालमा दोस्रो क्रममा पर्छ ‘महिलाको पाठेघरको मुखमा हुने क्यान्सर’ । सबैभन्दा धेरै मानिस फोक्सोमा हुने क्यान्सरबाट पीडित छन् । महिलाको हकमा मात्रै हेर्ने हो भने पाठेघरको क्यान्सरले नै अधिकको मृत्यु हुन्छ । विश्वव्यापी रुपमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो क्रमसंख्यामा पर्दछ । वर्षेनी संसारभर २ लाख ७० हजार जना महिला पाठेघरको मुखमा हुने क्यान्सरले मृत्युवरण गर्छन् । जसमध्ये ८५ प्रतिशत महिला विकासोन्मुख राष्ट्रका हुन् । नेपालको हकमा भने हरेक वर्ष १० हजार बढि महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको तथ्यांक छ । यसमध्ये ७ हजारको हाराहारीमा वर्षेनी ज्यान गुमाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख सागरराज घिमिरे बताउँछन् । पाठेघरको मुखमा हुने क्यान्सर रोग न्युनिकरणका लागि एचपीभी (ह्युमन प्यापिल्लोमा भाईरस) विरुद्धको खोप लगाउनुपर्ने हुन्छ । बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले महिनावारी सुरु हुनु अगावै बालिकाहरुलाई यो खोप दिनुपर्ने बताए । दुई मात्रामा दिईने यो खोप संसारभर ५० बढि राष्ट्रमा प्रयोग भएको छ । 
सार्क राष्ट्रमा भुटानमा प्रयोगपछि नेपालमा पहिलोपटक कास्की र चितवन जिल्लामा संचालन गर्न लागिएको छ । यो खोप अभियान कास्कीमा फागुन १६ देखि सञ्चालन हुनेछ । यद्यपी शुभारम्भ भने शुक्रबार नै पोखराको कन्या क्याम्पसमा स्वास्थ्य मन्त्रालयका सचिवले गर्नेछन् । पोखराको २९ वडामा फागुन १६ देखि २१ गते तथा लेखनाथ नगरपालिका र कास्कीका ३२ गाविसमा फागुन २३ गतेदेखि ३० गतेसम्म हुनेछन् । फागुन १६ गतेसम्म लेखनाथ र कास्कीका विभिन्न गाविसमा दादुरा रुबेला खोप अभियान पनि जारी रहनेछ । पोखरा नगरमा सम्पन्न भईसकेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालका अनुसार कास्कीका ६५०० जना कक्षा ६ का छात्राहरु र विद्यालय बाहिरका २ सय जना बालिकाले लगाउनेछन् । त्यसका लागि ३४८ विद्यालय र ५५ स्वास्थ्य संस्थामा सेवा सञ्चालन गरिनेछ । कक्षा ६मा अध्ययन गर्दै रहेका बालिकाहरु र विद्यालय नपढ्नेको हकमा १० वर्ष पुरा भई ११ वर्ष नकटेका बालिकाहरुले मात्र खोप लगाउन पाउने लम्सालले बताए । ९ वर्षदेखि १३ वर्ष उमेर समुहलाई यो खोप प्रभावकारी भएपनि सबैले यो सेवा प्राप्त गर्न पाउने छैनन् । दुई मात्रा गरी पुरा हुने यो खोप अत्यन्त महंगो छ । एक जनाका लागि एक मात्राकै दश हजार खर्च हुने बताईन्छ । बिरालेन्ट एचपीभी खोपको अर्को मात्रा २०७३ असोज महिनामा लगाईने योजना रहेको छ । विदेशी संस्थाको सहयोगमा यो वर्षदेखि सञ्चालन भएको यो खोप आगामी वर्षदेखि निरन्तर रहने अपेक्षा गरिएको बालस्वास्थ्य महाशाखा खोप शाखा प्रमुख गौतमले बताए । यो खोपको साईड ईफेक्ट नगण्य मात्रामा हुने भन्दै उनले यौनसम्पर्क राख्ने उमेर अघि यो खोप दिनुपर्ने बताए । यो रोगको बाहिरी लक्षण नदेखिने भएकाले एक जनासँगमात्र यौन सम्पर्क गर्नुपर्ने, हरेक पाँच पाँच वर्षमा ३० देखि ६० वर्ष उमेर समूहका महिलाले चेकजाँच गर्नुपर्ने सुझाव उनी दिन्छन् ।
यसैबीच, फागुन २० र २१ गते राष्ट्रव्यापी रुपमा भिटामिन ए र जुकाको औषधि खुवाईने कार्यक्रम भएकाले सबैले आफ्ना बालबालिका लाई खुवाउन कार्यालयका बाल स्वास्थ्य अधिकृत नानीबाबु ढकालले आग्रह गरे।







Post a Comment

 
Top