0
नवयुग श्रेष्ठले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाएपछिको खुसी अभिव्यक्त गर्न उनका बाबुआमाले उपयुक्त शब्द नै पाइरहेका थिएनन्। सोमबार राती उनकी आमा बसुन्धरा श्रेष्ठले भनिन्,‘स्कुल पढ्दा पनि फुटबलमा धेरै चासो दिन्थ्यो। राम्रो खेल्थ्यो तर देशलाई नै जिताउने गरी यस्तो खेल्ला भन्ने त सोचेकी थिइनँ।’ इलामको मंगलबारेस्थित भानुभक्त उच्चमाविका शिक्षक समेत रहेका उनका बाबु चन्द्र केशरले भने,‘उसको गोल नै निर्णायक रहयो। औधी खुशी लागेको छ। उनले थपे, ‘टिम गेम हो। सबैले राम्रो खेलेर देशले जित्यो। सबै खेलाडीहरुले अत्यन्तै मेहेनतका साथ खेले र भारतलाई जित्न सम्भव भयो।’ इलामको मंगलबारेस्थित घरमा टिभिमा प्रत्यक्ष प्रशारण हेरेका चन्द्रकेशर मध्यान्तरअघिको खेल हेर्दा निकै निराश थिए। तर, मध्यान्तर पछिको खेल सुरु भएपछि नै उनमा आशा पलाइसकेको थियो। उनले सुनाए, ‘हाफ टाइपछिको गेम हेर्दा आशा पलायो। एक गोल फर्काउँछ जस्तो त गेमले नै देखाएको थियो। लगातार आक्रमण गरेपछि गोल हुने नै भयो नि।’एक्लो छोरो नवयुग पढाइ र फुटबल दुवैमा उत्तिकै तगडा थिए। तर स्कुल पढ्दै देखि उनकी लगाव फुटबलमा बढ्दै गयो, त्यसै अनुसार प्रतिभा पनि निखारिँदै गयो। अझै पनि नवयुगले पढाइ छोडेका छैनन्। गतसाल फुटबलकै कारण १२ कक्षाको परीक्षा दिन नसकेको बसुन्धराले बताइन्।चन्द्रकेशर जोड फुटबल भन्दा पढाइमा ध्यान दिनुपर्छ भन्ने थियो। ‘तर उसले आफ्नो रुचीको क्षेत्र छान्यो, आर्मीमा आबद्ध भएपछि हामी पनि ढुक्क भयौं,’ उनले भने।  अहिले नेपाल आर्मीमा आबद्ध भएसँगै नवयुग राष्ट्रिय फुटबलमा आर्मी क्लबबाट खेलिरहेका छन्। नवयुगलाई परिवारबाट असहयोग भएन। आफ्नो समयमा जिल्लास्तरमा फुटबल खेलेका चन्द्रकेशर आफ्नो छोराको रुचीलाई बुझ्न सक्थे। आमा बसुन्धराले भनिन्–‘बाबु पनि खेलाडी नै हुनुहुन्थ्यो उबेला। उसले पनि बाबुहरुकै पिछा गर्यो।’ त्यसैमा चन्द्रकेशरले थपे, ’उसको खेलेको मैले नि हेरेको छु। खेल जिताउने खुबी त्योसँग थियो। उमेरमा प्रशस्तै समय फुटबलमा बिताएका चन्द्रकेशले भने, ‘अरु पनि यस्ता खेलाडी छन्। उनीहरुको पहिचान गर्नु पर्छ र अवसर दिनुपर्छ।’ आफ्नो छोरो नवयुग मात्रै होइन, देशको शीर उँचो बनाउन मेहेनत गर्ने कुनैपनि खेलाडीले भविष्यको चिन्ता लिनु नपरोस् बनाउन तर्फ राज्यको ध्यान जानुपर्ने उनले बताए।  उनले भने,‘गर्व महशुस भएको छ। परिवारमात्रै होइन, यो ठाउँ र सारा देशले नै गर्व गर्ने अवसर हो यो।’







Post a Comment

 
Top