0
माघ १६ अर्थात नेपाली महान सपुतहरुको स्मरण गर्ने दिन ‘सहिद दिवस’ । यो दिवस हरेक वर्ष मनाइँदै आएको थियो तर यसवर्ष  केही पनि कार्यक्रम आयोजना गरिएन । वर्षको १ दिन नै भएपनि केही औपचारिक कार्यक्रम आयोजना गरि सहिद दिवस मनाइने गरिन्थ्यो तर यस पटक त्यहि कार्यक्रमलाई पनि निरन्तरता दिन नसक्नु दुःखद् कुरा हो । देश र जनताका लागि आफ्नो ज्यानै बलिदान दिनेहरुप्रति गर्ने भनेको पनि त्यहि एक दिन न हो । तर सरकार एवं सम्बन्धित सरोकारवालाले यो दिवसलाई वेवास्ता गर्नु वीर सहिदहरुप्रति अपमान हो । हो, मानिस बाँच्नका लागि जन्मन्छ र जन्मनका लागि नै मर्दछ । तर, समाजमा सबै मानिस छन्, जो अधिकांश बाँच्नका लागि मरिरहेका हुन्छन् । मरेर गए पनि जनमानसमा बाँचिरहने सपूतहरुमध्ये हाम्रा प्रातःस्मरणीय सहिदहरू हुन् । ती महान् सहिदहरू जसले आफ्नो मुलुकको स्वतन्त्रता र देशको रक्षाका लागि अमूल्य जीवनको बलिदानी दिएर गए । त्यस्ता देशका लागि मर्ने व्यक्तिहरुको भावना र आकांक्षालाई बाँच्नेहरुले आत्मसात् गर्न नसक्दा मुलुक झनै अस्तव्यस्त बन्न पुगेको छ । विडम्बना यो छ कि ती महान् सपूतकोे योगदानलाई सहिद दिवसमा मात्रै स्मरण गर्ने गरिएको छ । माघ १६ गते सहिदको सालिकमा माल्यार्पण गर्दैमा सहिदहरुको आकांक्षा र अधुरा सपनाहरु पूरा हुन पनि सक्दैनन् । हाम्रो दायित्व भनेको सहिदहरुको सपना साकार पार्नु हो । तर, सहिदले देखाएको बाटोमा हामीे अझैसम्म हिँड्न सकेका छैनौँ । हाम्रो गौरवमय इतिहास पनि सहिदहरुको रातो रगतले लेखिएको छ । ती मुलुकका हिमायती, कर्मठ देशभक्तहरू जसले आफ्नो राष्ट्रिय अखण्डतालाई जोगाउन ज्यानको पर्वाह गरेनन् । सहिद कहिल्यै मर्दैनन्, उनीहरु भौतिक रुपमा मरे पनि सबैको आत्माभित्र बसिरहन्छन् । सहिदहरुले आफ्नो जीवन प्रजातान्त्रिक मार्गदर्शनका लागि अर्पण गरेका थिए । तर, आज समूह–समूह, दल–दल र व्यक्ति–व्यक्तिबीच चलिरहेको द्वन्द्वमा नेपालीहरु नेपालीबाटै मर्ने÷मारिने अवस्था छ । देश र जनताका लागि शान्ति र सुशासन चाहनेहरुले आफ्नो ज्यानको बाजी थापेर संघर्षमा होमिएका हुन्छन् । सहिद कुनै जाति, धर्म, संस्कृति, क्षेत्र, समुदाय वा वर्गविशेषको हुँदैन, न त सबैलाई सहिदको कोटीमा राख्नु नै उचित हुन्छ । नेपालमा राणाकालीन समयदेखि शाहीकालसम्म आइपुग्दा सहिदको सम्मानभन्दा अपमान बढी गरिँदै आएको छ । प्रजातन्त्र ल्याउन बलिदानी दिने शुक्रराज शास्त्री, दशरथ चन्द ठाकुर, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमाको योगदानको कदर केवल दुई थुँगा फूल चढाउँदैमा हुनै सक्दैन । सहिदहरुको सपना पूरा गर्न नसकिने होइन । सरकारको दृढ संकल्प रहने र जनताले एकढिक्का भएर सरकारलाई साथ दिने हो भने त्यो असम्भव पनि छैन । सबै जनतालाई राज्यको समान अवसर, शिक्षा, आत्मसम्मान, रोजगार, न्याय यिनै हुन् सहिदका सपना । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा धेरै उपलब्धि पनि हासिल भएका छन् । तर, त्यसलाई संस्थागत गर्न सकिएको छैन । देशका सबै जनता समान हुन् तर मुलुकमा क्षेत्रीय, जातीय, लैंगिक तथा वर्गीय लडाइँ चलिरहेको छ र प्रदूषित राजनीति मौलाइरहेको छ । दुर्घटनामा मरेका मानिसलाई समेत सहिदको कोटीमा राख्ने होड्बाजीका कारण सहिदहरुको मानमर्दन भइरहेको छ । सहिदका परिवारलाई राज्यले उपेक्षा गरिरहेको छ । यतिसम्म कि सरकारसँग सहिदको यकिन तथ्यांक नै छैन । आन्दोलनमा ज्यान गुमाउने सबै सहिदको कोटीमा पर्दैनन्, पारिनु पनि हुँदैन । देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताका निम्ति बलिदान दिने सम्पूर्ण ज्ञात तथा अज्ञात व्यक्तिहरुको सपना साकार पार्ने सार्थक प्रयत्नसहितको मार्ग अवलम्बन गर्न सकेमात्र सहिद दिवसको सार्थकता हुनेछ ।



Post a Comment

 
Top