0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघ ६२ औँ वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते स्थापित संघ पोखराको जेठो सामाजिक संस्था पनि हो । व्यवसायिकको हित रक्षाको लागि स्थापित संघले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रुपमा विकास गर्न अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ । पोखराका सबैजसो शैक्षिक संस्था स्थापनामा संघले महत्वपूर्ण भूमिका निर्वाह समेत गरेको छ । संघले बार्षिकोत्सवको अवसरमा आइतबार आफ्नो सचिवालय गैह्रापाटनमा झण्डोत्तलन तथा चियापान कार्यक्रमको आयोजना ग¥यो । संघका अध्यक्ष विन्दुकुमार थापाले सचिवालयमा झण्डोत्तलन गरेका थिए । यता ६२ औँ वार्षिकोत्सवकै अवसरमा पोखराको सार्दीखोलामा बेमौषमी तथा प्राङ्गारिक तरकारी उत्पादन विषयक तीन दिने अगुवा कृषक तालिमको सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना, जिल्ला कृषि विकास कार्यालय कास्कीको प्राविधिक सहयोग तथा सार्दीखोला गाविसको समन्वयमा भएको तालीममा ३५ जना कृषकहरुको सहभागिता रहेको छ । तालीमको कृषि विकास कार्यालय कास्कीका बरिष्ठ प्राविधिक रमेशप्रसाद कोइरालाले उद्घाटन गरे । उनले सार्दीखोलाको कृषि उत्पादनलाई प्राङ्गारिक ब्राण्ड बनाउन सके देश विदेशमा पठाउन सकिने बताए । उनले कृषि कार्यालयले एक किलोग्राम मलमा १० रुपैयाँ छुट दिएको, बाली बीमा सुरु गरेको तथा बेमौषमी तरकारी खेतीको लागि आवश्यक पर्ने रकममा समेत ७२ हजार रुपैयाँ अनुदान पाइने जानकारी दिदै कृषि पेशालाई व्यवसायिक मूल पेशा बनाउन आग्रह गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले व्यवसायिक रुपले कृषि पेशामा लाग्न आग्रह गर्दै ती उत्पादनहरुको बजारिकरणमा संघले सघाउने बचनबद्धता व्यक्त गरे । संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले सार्दीखोला क्षेत्रको विकासको लागि संघले कृषिको लागि विशेष आर्थिक क्षेत्र सार्दीखोला अभियान अन्तर्गत किसानहरुलाई समयसापेक्ष तालीम र प्राविधिक सहयोग गर्न संघ सधैँ तयार रहेको बताए । संघका उपमहासचिव तथा वार्षिकोत्सव कार्यक्रमका संयोजक प्रकाशदेव पालिखेले माछाको लागि पख्र्यात भएको सार्दिखोला क्षेत्र तालिमपछि कृषिको लागि पनि विशेष क्षेत्र बनोस् भन्ने कामना गरे । सार्दिखोलाका गाविस सचिव मीनराज बरालले विषादीरहित कृषि उत्पादनको बजार राम्रो भएकोले व्यवसायिक बन्न किसानहरुसँग आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले तालिम उद्घाटन सत्रको संचालन गरेका थिए ।




Post a Comment

 
Top