0
गोल्डेन न्यूज संवाददाता
तारा एयर जहाज दुर्घटनामा ज्यान गुमाएका २३ मध्ये १५ जनाको सनाखत भएको छ । चालक दलका तीन सहित १५ जनाको सनाखत भएको र १० वटा शव आफन्तले बुझेका छन् । सनाखत भएका मध्ये चालक दलका तीन जना पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल, एयर होस्टेज रमा राउत र सिन्धुपाल्चोकका डोल्मा छिरिङ शेर्पाको शव आफन्तको बुझेर काठमाडौं लगेका छन् । गण्डकी अञ्चलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र पोखरेलका अनुसार बालकृष्ण निउरेको शव आफन्तले बुझेर बाग्लुङ लगिसकेका छन् । पोखरा फूलवारी घर भई मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बाँस्तोलाको शव पनि आफन्तले बुझेका छन् । मुस्ताङकी कमला थकालीको शव पनि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । पहिचान खुलेका ६ महिने बालिका, कुवेती नागरिक रसिद अहमद , नेपाली सेनामा कार्यरत राजकुमार तामाङ, स्याङ्जाका मोतीबहादुर केसी र पोखराका रेवती बरालको शब आफन्तले बुझ्न बाँकी छ । मुस्ताङका विनता भट्टचन उनका दुई महिने नावालक र कृष्णलाल भट्टचनको शब आफन्तले पहिचान गरी घटनास्थलबाटै बुझेका छन् । बाँकी ८ वटा शवको पहिचान खुल्न बाँकी छ । पहिचान खुल्न नसकेकाहरुमा चिनियाँ नागरिक माक सुई याङ, दिलकुमारी गौचन, देवीजंग गुरुङ, फेनजोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, लेप्साङ लामा र कान्छा परियार छन् । कतिपय शबहरु जलेको अबस्थामा रहेकाले पनि पहिचान गर्न मुस्किल भएको हो । शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बुधवार विहान ७ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमको उडेको तारा एयरको जहाज म्याग्दीको दाना २ सोलीघोप्टेभिरमा दुर्घटना हुँदा त्यसमा सवार सबैको ज्यान गएको हो । शुक्रवारसम्म पहिचान खुल्न नसकेका शब डिएनए परीक्षणको लागि काठमाडौं पठाईने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईरालाले जानकारी दिए । मृतकको शब एयर डाईनेष्टि हेलिकप्टर मार्फत पोखरा ल्याईएको थियो । घटनास्थल निकै विकट भएको र शवहरु तितरवितर भएका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले साढे दुई घन्टाको समय लगाएर संकलन गरी एअर डाइनेष्टीको हेलिकोप्टरमार्फत विहीवार अपरान्ह मात्र शव पोखरा ल्याएका हुन्। सुरक्षाकर्मीले हेलिकोप्टरमार्फत शव ल्याउनासाथ अस्पताल परिसरमा आफन्तजनको रुवाबासी चलेको थियो। प्रहरीले शुक्रबारबाट विमानको ब्ल्याक बक्ससहितका सामानहरुको खोजी गरिने बताएको छ ।





Post a Comment

 
Top