0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला क्षेत्र नं. ४ को अधिवेशन यहि फाल्गुन १३ गते बिहीबार हुने भएको छ । यसअघि माघ २२ गते मतगणना कार्यमा त्रुटि देखिएपछि विवादका कारण अधिवेशन रोकिएको थियो । बिहीबार हुने अधिवेशनबाट क्षेत्रीय समितिको नेतृत्व लिन पोषनाथ शर्मा र मनोज गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन्। त्यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु चयन भैसकेपनि महासमिति सदस्य र क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको निर्वाचन पुनः हुने भएपछि उम्मेदवारहरु मतदाता क्षेत्रीय प्रतिनिधि समक्ष गाउँ–गाउँमा पुगिरहेका छन् । सभापतिका उम्मेदवार शर्मा र गुरुङ दुवैले आफूले चुनाव जित्ने दावी गरेपनि प्रतिस्पर्धा तीव्र रहेको छ । जिल्ला अधिवेशनमा शुक्रराज शर्माको समूह पराजित भएकोले क्षेत्रीय अधिवेशनमा पनि शर्मा पक्षका पोषनाथ पराजित हुने गुरुङ पक्षधरको दावी छ । यसका साथै शर्मा समूहले धोका दिएका नेताहरुले समेत आफ्नो पक्षमा मतदान गर्ने वातावरण बनेको भन्दै  उम्मेदवार मनोज गुरुङले आफ्नो विजय सुनिश्चित हुने दावी गरे । उनले मतदाताको रुपमा रहेका कांग्रेस नेता कार्यकर्ता परिवर्तन र पुस्ता हस्तान्तरणको पक्षमा रहेकोले पनि आफूलाई चुनाव जित्न सहज हुने बताए । यसैगरी अर्का उम्मेदवार पोषनाथले पनि क्षेत्रीय सभापतिमा आफू विजयी हुने दावी गरेका छन् । पार्टीमा रहेर लामो समय काम गरेको र कार्यकर्तासंग प्रत्यक्ष सम्बन्धित रहेकोले पनि आफूले चुनाव जित्ने दावी उनको छ । उनले पार्टीका नेता कार्यकर्ताले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गर्दै अधिवेशन स्थगित नभएको भए आफू सभापति बनिसक्ने दावी गरे ।
सभापति बाहेक सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेदवारहरु पनि मतदाता समक्ष गाउँ–गाउँमा पुगेर मत मागिरहेका छन् । जिल्ला कार्यसमितिको बैठकनेपाली काङ्ग्रेस कास्कीको बैठक सोमबार बसेको छ । १३आंै महाधिवेशन अन्तर्गत माघ २५ गते सम्पन्न जिल्ला अधिवेशनपछि पहिलो पटक नवनिर्वा्चित कार्य समितिको बैठक बसेको हो। पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा बसेको बैठकले विविध निर्णयहरु गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनहुदाँ मुलुक र पार्टीले ठूलो क्षति व्यहोर्नु परेकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले एमाओवादीले भनेको जनयुद्वका बेला कास्कीमा मारिएका आफ्ना नेता तथा कार्यकर्ताहरु कृष्णबहादुर गुरुङ, टेकबहादुर गुरुङ, ईश्वर गुरुङ, रतनसिंह गुरुङ, पशुपति रानाभाट, गणेशमान पालिखे र पूर्णबहादुर भुजेललाई शहिदको सम्मानदिदै पार्टी कार्यालयमा फोटो राख्ने निर्णय गरेको छ। बैठकले पार्टीका केन्द्रीय नेताहरु पोखरा आउँदा स्वागतका लागि पोखरा विमानस्थलमा पार्टीको तर्फबाट पाँच जनालाई मात्र खटाउने निर्णय गरेको छ। नेपाली काङग्रेस कास्कीका सभापति कृष्ण के.सीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान जिल्ला कार्य समितिलाई धन्यवाद दिदै अधिवेशनबाट निर्वा्चित महाधिवेशन प्रतिनिधि, विभिन्न तहका पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ। त्यसैगरी जिल्ला अधिवेशनका लागि खटिने केन्द्रीय निर्वाचन अधिकृत, गाउँ, नगर र वडामा खटिने नेपाल शिक्षक सङ्घका शिक्षकलाई धन्यवाद दिएको छ । बैठकले जिल्ला कार्यसमितिको बैठक प्रत्यक महिनाको पाँच गते बस्ने निर्णय गरेको छ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको उपस्थितिमा निवर्तमान सभापति यज्ञबहादुर थापाले नवनिर्वाचित सभापति कृष्ण के.सी र सचिव सुदिपमोहन भट्टराई माइन्युट हस्तान्तरण गरी बैठक शुभारम्भ भएको थियो । बैठकमा केन्द्रीय सदस्य जीवन परियार, सांसद शारदा पौडेल लगायतको उपस्थिति थियो।





Post a Comment

 
Top