0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिकामा आगामी वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध गरिने भएको छ । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुको साथै प्रदुषण बढाएको भन्दै पोखरा उप–महानगरपालिकाले आगामी बैशाख १ गते औपचारिक कार्यक्रमका बीच प्लाष्टिक झोला र प्लाष्टिकका गिलास निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । स्थानीय स्वयत्त शासन ऐन २०५५, फोहोरमैला ब्वबस्थापन ऐन २०६८ अन्तर्गत पोखरा उप–महानगर पालिकाले प्लाष्टिक जन्यवस्तु निषेध कार्यविधि २०७२ समेत पारित गरिसकेको छ । नगरपालिकाको १८, १९ र २० औं नगरपरिषद्बाट समेत पारित प्लाष्टिक झोला निषेध सम्बन्धि निर्णयलाई आगामी नयाँ बर्षदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको हो । पोखरा उप–महानगरपालिकाले आगामी चैत्र १५ सम्म मौजाद रहेका प्लाष्टिक झोला तथा गिलास ब्यबस्थापन गर्न आग्रह समेत गरेको छ । चैत्र १५ पछि उप–महानगरपालिबाट खटिएको अनुगमन टोलीले निषेधित बस्तु फेला पारेमा कानुन अनुसार कार्वाही गर्ने कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए ।  उनले भने–यो अभियान वातावरणीय दृष्टिले र मानव स्वास्थ्यका दृष्टिले पनि निकै राम्रो अभियान भएकोले यसलाई अब सवैले मिलेर सफल पार्नु पर्दछ, प्लाष्टिकको झोलाको विकल्पमा अन्य झोलाहरुको प्रयोग गर्नुपर्दछ ।’ निषेधित वस्तु प्रयोग भए नभएको अनुगमनको लागि टोली गठन गर्ने नगरपालिकाले जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, हेम्जा र स्याङजाको सिमानामा अनुगमन टोली खटाएर कडाई गर्ने पोखरा उप–महानगरपालिकाले जनाएको छ । पोखरा उपमहानगरपालिकाले २०६७ साउन १ गते पोखरालाई कालो प्लाष्टिकको झोला निषेधित क्षेत्र घोषणा गरेको थियो । सन् १९०७ मा अमेरिकाबाट उत्पादन सुरु भएको प्लाष्टिकको झोला अहिले विश्वभर फैलिएको छ । प्लाष्टिकको झोला कुहिन एक सय बर्ष लाग्ने, प्लाष्टिकले माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने नगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए । नगरपालिकाले सोमवार सरोकारवालासँग अन्तत्र्रिmया गरी आवश्यक राय सल्लाह, सुझाव संकलन समेत गरेको छ । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नगरपालिकाको अभियानको प्रशंसा गर्दै सघाउन सबैसग आग्रह गरे । प्लाष्टिकको प्रयोगबाट स्वास्थ्यमा पर्ने नकारात्म प्रभाववारे सबै सचेत हुनुपर्ने उनले बताए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बहादुर प्रजुले नगरपालिकाको अभियानमा निजी क्षेत्रले पनि सघाउने प्रतिबद्धता जनाए । प्लाष्टिकको झोलाको विकल्पमा अन्य झोला उत्पादनमा ब्यवसायीले जोड दिने उनले बताए । पोखरालाई स्वच्छ र सुन्दर राख्न उद्योग वाणिज्य संघ सधै अग्रसर रहने प्रजुले उल्लेख गरे ।

Post a Comment

 
Top